दैलेख । जिल्लाका ११ वटा स्थानीय तहमा बर्सेनि बेरुजु थपिँदै गएको छ । स्थानीय तहका जनप्रतिनिधिले आफूअनुकूल प्रशासन चलाउने र आर्थिक अपचलन गर्नेतर्फ उन्मुख हुँदा स्थानीय तहमा बर्सेनि बेरुजु थपिँदै गएको हो ।
कानुनविपरीत सेवा सुविधा, बजेट, सवारी साधन खरिद, इन्धन र मर्मत, कर्मचारी भर्ना, डीपीआर तथा गुरुयोजना, उपभोक्ता समिति मार्फत विकास निर्माणका काममा स्थानीय तहले मनलाग्दी खर्च गर्दा स्थानीय तहमा बर्सेनि बेरुजु उकालो लाग्न थालेको हो ।
जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकाको आर्थिक वर्ष ०७९–०८० मा बेरुजु २० करोड ३३ लाख ९६ हजार रुपैयाँ रहेकोमा २७ लाख ९१ हजार बेरुजु फछ्र्यौट गरिएको भए पनि आव २०८०–०८१ मा २१ करोड ९६ लाख ५५ हजार रुपैयाँ बेरुजु बर्सेनि बढ्दै गएको छ ।
नगरपालिकाको आव २०८०–०८१ मा कुल १ अर्ब ३१ करोड ९१ लाख ९९ हजार रुपैयाँको लेखापरीक्षण गरिएकामा ३ करोड ८६ लाख ५६ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार प्रक्रियाबाट १ करोड ९६ लाख ६ हजार फछ्र्यौट भई बाँकी बेरुजु १ करोड ९० लाख ५० हजारमध्ये असुल गर्नु पर्ने बेरुजु ६ लाख ३६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४६ लाख ६४ हजार, नियमित गर्नुपर्ने १ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । महालेखाको प्रतिवेदनअनुसार आव २०८०–०८१ मा १ करोड ८१ लाख ४३ हजार ५ सय रुपैयाँ बेरुजु थपिएको छ ।
यसैगरी, दुल्लु नगरपालिकाको गत आवमा बेरुजु ३४ करोड १८ लाख लाख १० हजारमा ३ लाख १८ हजार रुपैयाँ बेरुजु फछ्र्यौट गरिएको भए पनि सोही आवसम्मको बेरुजु ३८ करोड ६५ लाख २२ हजार रुपैयाँ बेरुजु पुगेको छ । नगरपालिकामा आव २०८०–०८१ मा १ अर्ब ९१ करोड ५७ लाख ९० हजारको लेखापरीक्षण गर्दा ५ करोड १३ लाख ३ हजार बेरुजु देखिएको छ ।
महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘प्रक्रियाबाट ६२ लाख ७३ हजार फछ्र्यौट भए पनि ४ करोड ५० लाख ३० हजारमध्ये प्रमाण कागजात पेस गर्नुपर्ने २ करोड २१ लाख ७६ हजार नियमित गर्नुपर्ने, १ करोड ६७ लाख ६५ हजार र पेस्की बाँकी १७ लाख ३३ हजार रुपैयाँ रहेको छ ।’
नगरपालिकामा आव २०८०–०८१ मा ४ करोड ४७ लाख १२ हजार रुपैयाँ बेरुजु थपिएको छ । आठबीस नगरपालिका राकमकर्णालीमा गत आवसम्म कुल ५७ करोड २७ लाख ६० हजार बेरुजु देखिएकामा ९ करोड २४ लाख ८७ हजार फछ्र्यौट गरेको छ भने आव २०८०–०८१ मा ५ करोड ९ लाख ५४ हजार बेरुजु थपिएको छ । पालिकाको १ अर्ब ३३ करोड ६५ लाख २२ हजारको लेखापरीक्षण गर्दा ५ करोड ३० लाख २० हजार रुपैयाँ बेरुजु देखिएको थियो । जसअनुसार प्रक्रियाबाट ७ लाख ४६ हजार रुपैयाँ बेरुजु फछ्र्यौट भए पनि बाँकी बेरुजु ५ करोड २२ लाख ७४ हजारमध्ये असुल गर्नुपर्ने बेरुजु ५३ लाख २३ हजार, नियमित गर्नुपर्ने २ करोड ६२ लाख २४ हजार, कागजात पेस गर्नुपर्ने २ करोड २ लाख ८२ हजार र पेस्की बाँकी ४ लाख ४५ हजार रुपैयाँ रहेको छ । महालेखाको प्रतिवेदनमा उल्लेख गरिएअनुसार आठबीस नगरपालिकाको कुल बेरुजु ५८ करोड ३५ लाख १ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा समेत आव २०८०–०८१ मा बेरुजु थपिएको छ । महालेखाको प्रतिवेदनमा उल्लेख गरिएअनुसार नगरपालिकाको आव २०७९–२०८० मा ३० करोड २६ लाख ७१ हजार रुपैयाँ बेरुजु रहेकामा हालसम्मको बेरुजु ३८ करोड २९ लाख ८५ हजार पुगेको छ । नगरपालिकामा आव २०८०–०८१ मा ८ करोड ३ लाख १४ हजार रुपैयाँ बेरुजु थपिएको छ ।
ठाटिकाँध गाउँपालिकामा कुल बेरुजु ३८ करोड ८९ हजार ३९ हजार रुपैयाँ पुगेको छ । आव २०७९–२०८० मा ३२ करोड ५४ लाख २७ हजार रुपैयाँ बेरुजु रहेकामा आव २०८०–२०८१ मा ६ करोड ४२ लाख ९३ हजार रुपैयाँ बेरुजु थपिएको छ ।
भैरवी गाउँपालिकाको गत आवसम्ममा २९ करोड ७४ लाख ७३ हजार रुपैयाँ रहेकामा ५ लाख ८८ हजार फछ्र्यौट भएको छ । आव २०८०–२०८१ मा ६ करोड १८ लाख ६८ हजार थपिँदा कुल बेरुजु ३५ करोड ८७ लाख १० हजार रुपैयाँ पुगेको छ । महावु गाउँपालिकाको आव २०७९–२०८० सम्मको १४ करोड ४९ लाख ३ हजार बेरुजु रहेकामा ६४ लाख १३ हजार फछ्र्यौट गरे पनि आव २०८०–०८१ मा ३ करोड ३१ लाख ७६ हजार रुपैयाँ बेरुजु थपिएको छ । गाउँपालिकाको कुल बेरुजु १७ करोड ४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, नौमुले गाउँपालिकाको आव २०७९–२०८० सम्मको बेरुजु ३२ करोड ४७ लाख ८१ हजार रहेकामा २१ लाख ९७ हजार रुपैयाँ बेरुजु फछ्र्यौट गरेको छ । सो गाउँपालिकामा आव २०८०–०८१ मा ६ करोड ८ लाख ४१ हजार रुपैयाँ बेरुजु थपिँदा ३८ करोड ३३ लाख ७५ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । भगवतीमाई गाउँपालिकाको आव २०७९–२०८० सम्मको बेरुजु १३ करोड १४ लाख १५ हजार रहेकामा ६४ लाख ८० हजार बेरुजु फछ्र्यौट गरेको छ । यस गाउँपालिकामा गत आवमा १ करोड ३८ लाख ७ हजार बेरुजु थपिँदा १३ करोड ८१ लाख ८७ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, डुगेश्वर गाउँपालिकाको आव २०७९–२०८० सम्मको कुल बेरुजु १६ करोड ५० लाख ६० हजारमध्ये १ लाख ८३ हजार रुपैयाँ फछ्र्यौट गरेको छ । यस गाउँपालिकामा आव २०८०–०८१ मा २ करोड ३२ लाख ७८ हजार रुपैयाँ बेरुजु थपिएर १८ करोड ७३ लाख ४२ हजार रुपैयाँ आवधिक बेरुजु पुगेको छ । गुराँस गाउँपालिकाको बेरुजु ५१ करोड १२ लाख ३३ हजार रहेकामा १ करोड ९६ लाख १३ हजार बेरुजु फछ्र्यौट गरेको छ भने आव २०८०–०८१ मा ३ करोड १२ लाख ९१ हजार बेरुजु थपिएर कुल बेरुजु ५२ करोड २२ लाख ९३ हजार रुपैयाँ आवधिक बेरुजु रहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४, सार्वजनिक खरिद २०६३ ऐन, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४, कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका, भ्रमण खर्च नियमावली २०६४, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी ऐन, २०७६ को पूर्ण पालना नगर्दा स्थानीय तहमा बेरुजु बढेको सुशासनविज्ञ दुर्लभ बोगटीले बताए ।
विज्ञ बोगटीका अनुसार स्थानीय सरकारले जनताको घरदैलोको सरकारले कसरी सेवा दिने भन्दा पनि कार्यकर्तालाई रिझाउने र आफूअनुकूल बजेट वितरण गर्ने समस्याले बेरुजु बर्सेनि थपिँदै गएको बताए ।
महालेखाले प्रत्येक वर्ष खर्चमा मितव्ययी र आर्थिक पारदर्शिताका लागि सुझावहरू दिने गरेको भए पनि स्थानीय सरकारका प्रमुखहरूले नर्टेने गरेको उनले बताए । उनले भने, ‘यही गतिमा स्थानीय सरकार गएको खण्डमा स्थानीय तहमाथि गम्भीर चुनौती पहाड भएर आउने निश्चित छ ।’






