देउराली–भँगेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति, स्थानीयलाई सहज

भोजपुर । भोजपुरको देउराली–भँगेरी–पालुवा–गुम्बा सडक स्तरोन्नतिले स्थानीयवासीलाई सहज भएको छ । यस सडकखण्डको बढी समस्या हुने स्थानमा पक्की ढलानसँगै सोलिङ गरिएपछि स्थानीयलाई सहज भएको हो ।

भोजपुर नगरपालिका–६ देउरालीको पहलमा विगतमा हिलाम्य हुने स्थानमा स्तरोन्नति गरिएको छ । वडाभित्रका बढी समस्या हुने क्षेत्रमा १ करोड ७० लाख रुपैयाँ लागतमा तीनवटा खण्डमा स्तरोन्नति गरिएको भोजपुर–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले जानकारी दिए ।

यहाँ सहरी विकास तथा कार्यालय धनकुटाको १ करोड, केन्द्र सरकारको ६० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँ लागतमा ५ सय मिटर ढलानसँगै नाली र भित्तामा पर्खाल लगाइएको वडाध्यक्ष कार्कीले बताए । देउराली–भँगेरी–पालुवा–गुम्बा सडकको कुल लम्बाइ ९ किलोमिटर छ । सडकको अन्य क्षेत्रमा वडाको बजेटमा सोलिङ गरेर बाह्रै महिना यातायात सञ्चालन हुने बनाएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

‘देउराली–भँगेरी–पालुवा–सडक खण्डको स्तरोन्नतिले स्थानीयलाई सहज भएको छ,’ वडाध्यक्ष कार्कीले भने, ‘यो हाम्रो क्षेत्रको महत्वपूर्ण सडक हो, वडामा आएको बजेटले मात्र काम गर्न सम्भव नभएपछि अन्य क्षेत्रमा बजेट माग गरेर काम गर्न सफल भएका छौं, सडक स्तरोन्नतिले आवतजावतमा सहजता थपिएको छ ।’

भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक रहेकाले वडाले यस सडकको स्तरोन्नतिमा जोड दिएको वडाध्यक्ष कार्कीले बताए । सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरू सञ्चालन गरिरहेको उनको भनाइ छ । वडाभित्र साना, ठूला गरी १७ वटा सडक रहेकामा सबै सडकलाई स्तरोन्नति गरिएकाले स्थानीय घरसम्म एम्बुलेन्स पुग्ने अवस्था रहेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

वर्षात्मा हिलाम्य हुने सडकको विकासमा वडाले प्राथमिकताका साथ काम गरेपछि स्थानीयलाई सहजता भएको छ । सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमासमेत समस्या हुने गरेकामा अहिले सहजता भएको स्थानीयवासी प्रदीप तामाङले बताए । सडक स्तरोन्नति भएपछि स्थानीयको दैनिकीमा सहजता थपिएको उनको भनाइ छ ।

स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालनमा आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी कमल तामाङले बताए । सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उनको भनाइ छ ।

‘सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ,’ तामाङले भने, ‘हाम्रो क्षेत्रका मुख्य सडकहरूमा आवतजावतमा समस्या छैन, वडाले थालेको योजनाबद्ध विकासप्रति हामी खुसी छौं ।’

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग