दुना–टपरी गाँस्ने सीप सिक्दै विद्यार्थी

बर्दिया । सधैँ कापी किताब अगाडि राखेर पढ्न बस्ने विद्यार्थी शुक्रबारको दिन भने कापी किताबको सट्टा हातमा सालको पात र बाँसको सिन्का फिँजाएर बसेका थिए । केहीको हातमा खरानी र बत्ती कात्ने कपास पनि थियो । विद्यालयमा मध्यान्तर भएलगत्तै विद्यार्थीहरू विद्यालयको सभाहलमा समूहअनुसार विभाजन भएर बसे । सबैको अगाडि सालको पात फिँजिएको थियो । झट्ट हेर्दा त विद्यालयको माहौल कसैको भोजभतेरका लागि दुना टपरी गाँस्न विद्यार्थीलाई प्रयोग गरेको जस्तो देखिन्थ्यो ।

तर त्यो दृश्य कसैको भोजभतेरका लागि नभएर ठाकुरबाबा नगरपालिकास्थित चुरे माध्यमिक विद्यालय बगनाहाले शुक्रबार विद्यालयमा आयोजना गरेको दुना टपरी गाँस्ने र बत्ती कात्ने सीप सिकाई तथा प्रतियोगिता सञ्चालन गरेको थियो । कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरू उक्त कार्यमा सहभागी भएका थिए । विद्यार्थीहरूलाई शिक्षकहरूले दुनाटपरी गाँस्न र बत्ती कात्न सिकाइरहेका थिए । आफ्नो समूहको दुना टपरी र बत्ती कसरी राम्रो बनाउने भन्नेमा विद्यार्थीहरूको ध्यान थियो । राम्रो सीप भएकाले आफ्नो साथीलाई सघाएको देखिन्थ्यो ।

‘निकै रमाइलो लागेको छ । घरमा कहिलेकाहीँ दुना टपरी गाँस्थे । आज विद्यालयमै साथीभाइसँगै गाँस्न पाउँदा रमाइलो भएको छ,’ कक्षा ५ की छात्रा सञ्जना थारुले शुक्रबार सुनाइन् ।

फरक किसिमको क्रियाकलाप भएकाले विद्यार्थीहरू निकै उत्साहित देखिन्थे । ससाना विद्यार्थीहरू दुना टपरी गाँसेको र बत्ती कातेको हेर्नका लागि तँछाडमछाड देखिन्थे । विद्यार्थीको कक्षागत समूहलाई शिक्षकहरूले सहजीकरण गरेका थिए ।

दुना टपरीका लागि चाहिने सालको पात र सिन्का विद्यार्थी आफैले व्यवस्था गरेका थिए । बत्तीका लागि कपास भने विद्यालयले व्यवस्था गरेको थियो । विद्यार्थीहरूका लागि विद्यालयले केही दिनअघि दुना टपरी गाँस्न सिकाउने तालिम आयोजना गरेको थियो । सो तालिममा छात्रछात्रा दुवै सहभागी भएका थिए । तालिममा सिकेको सीप परीक्षणका लागि दुना टपरी गाँस्ने र बत्ती कात्ने सीप सिकाइ तथा प्रतियोगिता आयोजना गरिएको विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक उमा भट्टराईले बताइन् ।

विद्यालयमै जीवनोपयोगी सीप सिकेर प्रतियोगितामा सहभागी हुन पाउँदा निकै खुसी लागेको विद्यार्थीहरूले प्रतिक्रिया दिए । कक्षा १० का छात्र आर्नोल थारुले खुसी व्यक्त गर्दै सुनाए, ‘दैनिक जीवनमा प्रयोग हुने सिप पनि विद्यालयमा सिक्न पाइयो । आज त्यही सीपको प्रतियोगितामा सहभागी हुँदा निकै खुसी लागेको छ ।’

दुना टपरी प्रायः छात्राहरूले गाँस्ने भएपनि छात्रासँगै छात्रहरू पनि रमाइलो मान्दै सहभागी भएका थिए । राम्रो दुना टपरी बनाउने समूहलाई पुरस्कृत गरिने अतिरिक्त क्रियाकलाप संयोजक भट्टराईले बताइन् ।

दुना टपरी गाँस्न र बत्ती कात्ने यस्तो फरक किसिमको सिकाइ तथा प्रतियोगिताले विद्यार्थीमा व्यवहारिक ज्ञानको विकास हुने शिक्षकहरू बताउँछन् । विद्यालयमा प्रायः शिक्षण सिकाई क्रियाकलापसँग सम्बन्धित प्रतियोगिता मात्र हुने गर्छन् । तर यो दैनिक जीवनमा प्रयोग हुने सीप प्रदर्शन गर्ने प्रतियोगिता भएकाले निकै उपलब्धिमूलक रहेको विद्यालयका अतिरिक्त क्रियाकलाप समिति सदस्य खगेन्द्र नेपालले बताए । यो क्रियाकलापलाई व्यवहारिक सीपसँगै विद्यार्थीको प्रयोगात्मक मूल्यांकनसँग पनि जोडिएको विद्यालयका प्रधानाध्यापक राजेशकुमार यादवले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा टुट्यो कांग्रेस–एमाले सत्ता सहकार्य