गाईघाट–फत्तेपुर सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्रे

उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम भइरहेको छ  । २०२५ सालअघि नै ट्र्याक खुलेको गाईघाट–फत्तेपुर सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले स्तरोन्नतिसहित धमाधम कालोपत्रे गरिरहेको हो ।

निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअनुसार संघीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपैयाँसम्मको लागतमा सडक निर्माण गरिँदै आएको छ । उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यस सडकमा मोतीगडा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख डीई आशुतोष कर्णले जानकारी दिए ।

उच्च गुणस्तरको दुई लेनको अस्पाल कंक्रिटको कालोपत्रे गर्नेगरी मैनाचुली साह रेग्मी ज्वाइन्ट भेन्चर निर्माण कम्पनीले २८ करोड ४३ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी अघिल्लै वर्षदेखि धमाधम काम गरिरहेको भए पनि त्यसका लागि आवश्यक पर्ने रकम सुनिश्चित नगरिँदा आफूहरूलाई यसअघि काम गर्न आर्थिक संकट परेको निर्माण कम्पनी व्यवसायी मणिकुमार दाहालले जानकारी दिए । अहिले भने रकमको कुनै समस्या नभएकाले निर्माणको काम अगाडि बढाइएको उनले बताए ।

त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर हुँदै सप्तरीको फत्तेपुर जोड्ने ३० किलोमिटर लामो सो सडकअन्तर्गत मोतीगडा–जोगीदह–रूपनीसम्मको करिब १२ किलोमिटर सडक अबको ३ महिनाभित्र स्तरोन्नति गरी कालोपत्रे सम्पन्न गर्ने निर्माण कम्पनीको भनाइ छ ।

गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्नेगरी अघिल्लो वर्ष सुरु गरिएको सो सडक निर्माणको काम तीव्र गतिमा भइरहेको अवस्थामा बजेट अभाव हुन नदिन संघीय सरकारले भूमिका खेल्नुपर्ने नगरवासीको भनाइ छ ।

डिभिजन कार्यालय लहानका साइट इन्चार्ज इन्जिनियर सञ्जीव साहका अनुसार सडकको स्तरोन्नतिसँगै चौडा पार्ने र दायाँबायाँ नाली निर्माणसहित सो क्षेत्रमा पर्ने पाँचवटा ठूला तथा १७ वटा साना गरी २२ वटा कल्भर्ट बनाउनुपर्नेमा अहिलेसम्म ती सबै कल्भर्ट निर्माण सम्पन्न भई नाला निर्माण गर्नेलगायत सडकसँग सम्बन्धित अन्य सबै स्ट्रक्चरका कामसमेत सम्पन्न गरेर करिब ५ किलोमिटरसम्म कालोपत्रेको काम सम्पन्न गरिएको छ ।

कुल लागत ४० करोड रुपैयाँ अनुमान गरिएको सो योजनामा सरकारले गत वर्ष साढे २ करोड रुपैयाँ मात्र रकम दिएको थियो । त्यसबाट हुनुपर्ने जति सबै काममा खर्च भइसकेको तर थप बजेट सुनिश्चित नभएकाले तत्काल यस योजनालाई अर्थ मन्त्रालयले रकमको सुनिश्चित नगर्दा केही ढिलाइ भए पनि यस वर्ष बजेट अभाव नभएकाले निर्माण अगाडि बढाइएको उनले जानकारी दिए  ।

यस सडकअन्तर्गत चुरेबाट बगेर आउने लोहाले, बबिया, कंग र बाहुन्ना गरी चारवटा मुख्य खोला रहेको भए पनि ती खोलामा पक्की पुलका लागि नेपाल सरकारले हालसम्म कुनै योजना बनाएको छैन । डिभिजन सडक कार्यालय लहानका डिभिजन प्रमुख आशुतोष कर्णले पुलको डिजाइन सडक विभागको पुल महाशाखाले गर्ने भएकाले यस कार्यालयले पुल निर्माणसम्बन्धी कुनै योजना अगाडि बढाउन नमिल्ने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी