काठमाडौँ । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेर कानुन नियम विपरीत काम गरी जेल सजाय भोगेका ८ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको छ। नेपाली महावाणिज्य दूतावास जेद्दाको कार्य क्षेत्राधिकार भित्रका विभिन्न जेलहरुमा रहेका नेपालीहरुमध्ये ८ जना नेपालीहरुलाई साउदी सरकारबाट आममाफी दिईएको छ।
महावाणिज्य दूतावासका अनुसार प्रकाश विष्ट,राजेश बुढा मगर,जय बीसी,हर्कर्द बहादुर कार्की ,यम बहादुर थापा,ध्यानबहादुर राई,पवन गुरुङ र पेम्बा शेर्पाले आममाफी पाएका हुन्। आममाफी पाएका नेपालीहरूले विभिन्न अपराधमा मुछिएर जेल कैद सजाय भोगिरहेका थिए। आममाफी पाएकाहरुलाई महावाणिज्य दूतावास स्वदेश फ्रितिको लागि सहजीकरण गर्नेछ।
साउदी अरेबिया लामो समयदेखि अवैधानिक रूपमा बस्दै आएका विश्वका विभिन्न देशका नागरिकलाई सरकारले अवस्था हेरी आममाफी दिँदै आएको छ। साउदी सरकारको गत महिना पनि कानुन नियम विपरीत काम गरी जेल सजाय भोगेका ६५ जना नेपालीलाई आममाफी दिएको थियो। हाल साउदीमा ५४४ नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् ।
रियादस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार ३ सय ४५ रक्सी बनाएर बेचेको आरोपमा,८४ जना लागुऔषध ओसारपसार तथा कारोबार,४३ जना चोरी केशमा,१२ जना बेश्यावृतीमा,१६ जना तोडफोडमा,१५ जना घुसखोरी,४ जना व्यक्ति हत्या, ७ जना कानुन उल्लङ्घन,११ जना धोखाधडी र ५ जना उत्पीडन केशमा जेलजीवन बिताईरहेका छन्।
पछिल्लो समय साउदी पुगेर हजारांै नेपाली कामदारले नेपालमा गरिएको सम्झौताअनुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर अवैध तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउने व्यवस्था छ ।
साउदीमा २२,२२२ अवैध आप्रवासी पक्राउ
१२,९२० जनालाई डिपोर्ट
साउदीमा २२,२२२ अवैध आप्रवासी पक्राउ परेका छन्। साउदीको गृह मन्त्रालयका अनुसार एक हप्ताको अवधिमा २२,२२२ अवैध कागजा बिहिनहरुलाई पक्राउ गरिएको हो। उनीहरुलाई सुरक्षा बलहरूले सम्बन्धित सरकारी निकायहरूसँगको सहकार्यमा पक्राउ गरिएको मन्त्रालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा १३,५५१ जना रेसिडेन्सी कानून उल्लङ्घन गर्ने, ४,६६५ जना सीमा सुरक्षा कानून उल्लङ्घन गर्ने र ४,००६ जना श्रम कानून उल्लङ्घन गर्नेहरू छन्। १९,५९६ जना उल्लङ्घन गर्नेहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको जनाएको छ।
१,६६४ जना उल्लङ्घन गर्नेहरूलाई उनीहरूको यात्रा आरक्षण पूरा गर्न पठाइएको छ भने १२,९२० जना उल्लङ्घन गर्नेहरूलाई देश निकाला गरिएको जनाएको छ। अवैध रूपमा बसोबास गर्नेहरूलाई उल्लङ्घन गर्न सहयोग पुर्याएको, यातायात, आश्रय वा रोजगारी प्रदान गरेको आरोपमा ३३ जना व्यक्तिहरूलाई पक्राउ गरिएको जनाएको छ। मन्त्रालयले गैरकानुनी सीमा नाकाबाट सहजीकरण गर्ने वा सहभागी गराउने व्यक्तिलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।
कानुन उल्लङ्घन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिवाना र यी अपराधमा प्रयोग हुने सवारी साधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ। देशका सुरक्षा बलहरूद्वारा गरिएको क्र्याकडाउनले राज्यका सबै क्षेत्रहरूमा कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही तीब्र पारेको छ।






