काठमाडौं । यो वर्षको तीजलाई लक्षित गरेर निर्माण गरिएको नेपाली चलचित्र ‘कोशेढुंगा’ १२ भदौ आज बिहीवारबाट मुलुकका चलचित्र घरमा रिलिज हुँदै छ । १२ भदौबाटै यो चलचित्र नेपालसँगै विभिन्न ४१ देशमा रिलिज हुँने निर्माण पक्षले जनाएको छ ।
चलचित्रको बुधवार सेन्सर गरियो । सबैले हेर्न मिल्ने गरी यो चलचित्रले ‘युनिभर्सल’ प्रमाणपत्र पाएको यसका कार्यकारी निर्माता दिनेश खड्काले राजधानीलाई जानकारी गराए ।
सेभेन सिज इन्टरनेशनलले निर्माण गरेको यो चलचित्रको रिलिज अघि बुधवार साँझ काठमाडौँमा प्रिमियर सो गरियो । सामाजिक कथामा आधारित यो चलचित्रलाई प्रिमियर सोमा दर्शकले प्रशंसा गरे ।
यसका निर्माता किशोर अनुरागका अनुसार चलचित्र ‘कोशेढुंगा’ देशभरका सबैजसो चलचित्र घरमा रिलिज हुँदै छ । यो चलचित्रले देशभरका चलचित्र घरमा २२५ भन्दा बढी सोहरू पाएको निर्माण पक्षको कथन छ ।
यो चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतमलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
अहिले यो चलचित्रको गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ…’ गीत निकै चर्चामा छ । गीत र यसको ट्रेलरले पाएको चर्चाका कारण आफ्नो चलचित्रलाई दर्शकले रुचाउने विश्वास निर्माण पक्षको रहेको छ ।
व्यावसायिक कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ को निर्देशन गरेका हुन् । यो चलचित्र पनि त्यत्तिकै सशक्त बनाएको निर्देशक सरोजले दाबी गरेका छन् ।
यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । पौडेललाई लेखनमा सुनिल निउरे र सुबोलमणि सापकोटाले साथ दिएका छन् । बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष् अविरल र रिदम कँडेलको संगीत छ । नरदेवी फिल्म्स र सारंगी फिल्म्सले निर्माणमा सहकार्य गरेको यो चलचित्रको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन् । यसको कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् ।






