मोटरसाइकल र प्याराग्लाइड बनाउने जुम्लाका प्रशान्त र टक्कहरू (भिडियोसहित)

जुम्ला । जुम्लाको चुलेल गाउँका युवाले मोटरसाइकल निर्माण गरेका छन् । सिञ्जा गाउँपालिका वडा नम्बर २ चुलेलगाउँका युवा प्रशान्त वडले चालकसहित दुई जना चढ्न मिल्ने मोटरसाइकल निर्माण गरेका हुन् ।

४ वर्षअघि सोलारको ब्याट्रीबाट चल्ने कार बनाएर गुडाउँदै चर्चा कमाएका युवा प्रशान्तले अहिले मोटरसाइकल निर्माण गरेर प्रयोगमा ल्याएका छन् । सोलारमा प्रयोग हुने १२ भोल्टको डबल ब्याट्री राखेर चार जनासम्म बस्न मिल्ने कार बनाएर गुडाएका प्रशान्तले ६ महिनाको अथक मेहनत र अनुसन्धानपछि मोटरसाइकल बनाएर गुडाउन सफल भएका छन् ।

उनले हाते ट्र्याक्टरको इन्जिन, अटोको टायर, फलाम र काठको बडी बनाएर मोटरसाइकल तयार पारेका छन् । बनाउँदै जाँदा तीनपटकसम्म फेल भएका प्रशान्तले अन्ततः अधिकतम् ४० देखि ५० किलोमिटरसम्मको स्पिडमा गुड्ने मोटरसाइकल निर्माण गर्न सफल भएका छन् । गाउँमा पानीबाट चल्ने कुटानी पिसानी मिलसमेत बनाएका प्रशान्त आजभोलि छोटो दूरीमा आफैंले बनाएको मोटरसाइकलमा आवतजावत गर्छन् ।

‘स्रोत साधन हुने हो भने धेरै थोक बनाउन सकिन्छ, तर गाउँघरमा त्यस्तो वातावरण छैन, सामान्य बत्तीको अनियमितताले मात्रै यो मोटरसाइकल बनाउन तीन महिना लगाएँ, नत्र छिट्टै तयार हुन्थ्यो,’ प्रशान्तले भने ।

प्रतिघण्टा १ लिटर पेट्रोल खर्च हुने मोटरसाइकल बनाउन ३० हजारजति मात्रै खर्च भएको उनले सुनाए । उत्तम अवसर पाए यस क्षेत्रमा नयाँनयाँ काम गर्ने सपना साचेको उनले सुनाए । ‘महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र’bout केही कुरा सुनेको छु, अवसर पाए मैले पनि नयाँनयाँ आविष्कार र यस्ता कर्ममा जोड दिने मन थियो,’ उनले सुनाए ।

प्रशान्तले स्थानीय स्तरमा रामै्र साथ र हौसला पाइरहेका छन् । गाउँपालिकाले मोटरसाइकल निर्माणका समयमा आवश्यक सामान उपलब्ध गराएर प्रशान्तलाई साथ दिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

यसका साथै प्रशान्तका लागि गाउँमै इलेक्ट्रोनिक पसल सञ्चालनका लागिसमेत सहयोग प्रदान भएको अध्यक्ष धितालले बताए । ‘प्रशान्त मेकानिकलका क्षेत्रमा अद्भुद प्रतिभा भएका युवा हुन्, उनलाई यही क्षेत्रमा आत्मनिर्भर बनाउन इलेक्ट्रोनिक पसल सञ्चालनका लागिसमेत सहयोग गरिएको छ, यद्यपि उनको प्रतिभा यतिमा मात्र सीमित हुनुहुँदैन भनेर सचेत छौं, तर उनलाई उजागर गर्न र बाहिरी दुनियाँसँग परिचित गराउन सबैको सहयोग आवश्यक छ,’ अध्यक्ष धितालले भने ।

प्रशान्त जुम्लाका युवा वैज्ञानिक टक्क नेपालीपछिका क्षमतावान् युवा हुन् । टक्क नेपालीले जुम्लामै प्याराग्लाइड निर्माण गरेर परीक्षण उडानसमेत सफल पारेका थिए । टक्कले अहिले घरको छतमा हवाईजहाजको आकृति बनाएर चर्चा बटुलेका छन् भने प्रशान्तले सिञ्जामा मोटरसाइकल निर्माण गरेर गुडाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग