नयाँ सरकारको अनुभूति गराउन सुरक्षा र बजार अनुगमन प्रभावकारी बनाइने

काठमाडौं । तत्काल नयाँ सरकारको अनुभूति दिलाउन सुरक्षा व्यवस्था र बजार अनुगमन प्रभावकारी बनाउने निर्णय भएको छ । सार्वजनिक सुरक्षा र आन्दोलनपछि चाडपर्वसम्मको समयमा हुनसक्ने गुणस्तर तथा मूल्यको गडबडीलाई नियन्त्रण गर्ने निर्णय गरिएको मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।

८ एसपी थपिए ११ टोली बजार अनुगमनमा

मुख्यसचिव अर्यालले चाडपर्व लक्षित मात्र नभइ सधैं नियमित रूपमा बजार तथा सेवाहरूको अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । उनले सचिवहरूमार्फत मातहतका जिल्ला कार्यालय तथा प्रदेश र स्थानीय तहसम्म नयाँ सरकारको स्पिरिटअनुसार प्रभावकारी काम गर्न निर्देशन दिएका हुन् ।

जनताले कर्मचारीलाई जुनसुकै बेला नागरिकको सेवामा भएको देख्नुपर्ने बताउँदै विभागका महानिर्देशकहरू र सीडीओहरूसमेत अनुगमन र जनसेवाका काममा जनताका बीचमा देखिनुपर्नेमा मुख्यसचिव अर्यालले जोड दिए ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको स्वागत तथा निर्देशन समारोहमा उपस्थित सचिव, सहसचिव, विभागका महानिर्देशक तथा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूलाई एकमुष्ठ निर्देशन दिँदै ‘जेनजी’ आन्दोलनको स्पिरिटअनुसारको परिवर्तनको प्रत्याभूति गराउने जिम्मेवारी कर्मचारीहरूको भएको बताएका हुन् ।

यसैबीच, सुरक्षा व्यवस्थामा प्रभावकारिता कायम गर्नका लागि उपत्यकामा आठ जना एसपी थपिएको छ । काठमाडौं उपत्यकामा आन्दोलनका कारण बिग्रिएको सुरक्षा प्रणाली सुदृढीकरण तथा सम्भावित सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आठ जना प्रहरी उपरीक्षक थपिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । थपिएका एसपी आइतबारदेखि उपत्यकामातहत रहने प्रहरी प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए ।

काठमाडौं जिल्ला प्रहरी परिसरको अपरेसन कमान्डरमा एसपी पवन भट्टराई खटिएका छन् । एसपीहरू बालनरसिंह राणा, दीपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई उपत्यकाका विभिन्न क्षेत्रमा खटाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंलाई २४सै घण्टा खुलाउने तयारी