पोखरा । जेनजी आन्दोलनका क्रममा पोखराबाट ७ सय ७३ जना कैदीबन्दी फरार भएका थिए । गत सातादेखि भागेका तीमध्ये हालसम्म ३ सय जना मात्र कारागार फर्किएका छन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि सबै प्रहरीलाई र हिरासतमा रहेकाहरुलाई बाहिर पठाई आगजनी गरेका थिए ।
यस्तै, आन्दोलनकारीहरुले विभिन्न सुरक्षा निकाय र सुरक्षाकर्मीका हतियार पनि लुटेर लगेका थिए । मुलुक संक्रमणकालीन अवस्थामा गुज्रिरहेको र ठूला चाडपर्वहरु पनि नजिकिएको हुँदा सुरक्षा चुनौती उत्तिकै छ ।
यसैक्रममा मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा प्रदेश सुरक्षा समन्वय समिति बैठकले ६ बुँदे निर्णय गरेको छ ।
लुटिएका हतियार फिर्ताका लागि सर्वप्रथम सञ्चारमाध्यममार्फत आह्वान गर्ने र समयमा फिर्ता नगर्नेलाई विषयगत अपराधको रुपमा कानूनबमोजिम कारबाही प्रक्रियामा लैजाने निर्णय गरिएको छ ।
यस्तै, सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको पहिचान गरी कानूनबमोजिम कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन प्रदेशका सबै जिल्ला सुरक्षा समिति र आ–आफ्ना मातहत सुरक्षा निकायलाई निर्देशित गर्ने निर्णय बैठकले गरेको छ । शान्ति र अमनचयन कायम गर्न सबै सुरक्षा निकायले सजगताका साथ समन्वयात्मक ढंगले कार्य गर्ने, गराउने,
बदलिँदो परिस्थिति र सम्भावित शान्तिसुरक्षा चुनौतीको मध्यनजर गरी स्थानीय नागरिक समाजसमेतको समन्वय र सहयोगमा सबै सुरक्षा निकायले आपसी सहयोग, सूचना आदानप्रदान, समन्वय र सहकार्य गरी प्रदेशको शान्तिसुरक्षालाई सामान्य बनाइराख्ने निर्णय गरिएको छ ।
बैठकले वर्षायाम कायमै रहेकाले सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी सबै जिल्ला विपद् व्यवस्थापन समितिहरू र सुरक्षा निकायले विपद् सुरक्षामा समेत सजगता अपनाएर पूर्वतयारी, प्रतिकार्य गर्ने गराउने, चाडपर्वलक्षित सुरक्षा योजनामा समेटी सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने गराउने निर्णय गरेको छ ।
गत २३ र २४ भदौमा जेनजीको आन्दोलनका कारण उत्पन्न असामान्य स्थिति र त्यसले प्रदेशको शान्तिसुरक्षामा परेको प्रभावका सम्बन्धमा बैठकमा सबै सुरक्षा निकायले ब्रिफिङ गरेका थिए ।
बैठकले आन्दोलनका क्रममा हुन गएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली उनीहरूका परिवार र आफन्तजनमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
कास्की कारागारबाट भागेका ७ सय ७३ कैदीबन्दीमध्ये ३५ जना महिला हुन् । बाँकी पुरुष हुन् । त्यसबाहेक २ जना केटाकेटी थिए ।
कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्मा भन्छन्, ‘सबै कैदीबन्दीहरुलाई फर्किन विभागले पनि सूचना जारी गरेको छ । हामीहरुले पनि स्थानीयरुपमा भनिरहेका छौं । अधिकांश दिनहुँजसो सम्पर्कमा हुनुहुन्छ । आश गरौं सबैजना फर्किनुहोला ।’






