गण्डकीमा कुन मन्त्रालयमा कति क्षति ?

पोखरा । जेनजी प्रदर्शनका क्रममा गत मंगलबार पोखरास्थित संघ, प्रदेश तथा जिल्ला तहका गरी अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो । जसमा मुख्यमन्त्री कार्यालय, संसद्, प्रदेशका मन्त्रालयहरू, मुख्यमन्त्री निवासदेखि मन्त्रीहरूको निवाससमेतमा तोडफोड तथा आगजनी गरी ठूलो क्षति गरिएको थियो ।

प्रारम्भिक तथ्यांकअनुसार प्रदेशका मन्त्रालय र कार्यालयका मात्रै चारपांग्रे र दुईपांग्रे सवारी गरी १ सय ६० वटा सवारीसाधन जलेर भष्म भएका छन् ।

प्रदर्शनको पहिलो दिन २३ भदौमै प्रदर्शनकारीहरूले पार्दीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निसाना बनाएका थिए । नभन्दै दोस्रो दिन २४ भदौमा प्रदर्शन उग्र बन्दा मुख्यमन्त्री कार्यालयदेखि नजिकका मन्त्रालयहरू तथा सरकारी कार्यालयहरू निसानामा परे । प्रदर्शनकारीले सामाजिक विकास, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आर्थिक मामिला, उद्योग तथा पर्यटन, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा आगजनी गरेका थिए । कतिपय सामानहरू लुटेर लगेका छन् । नदीपुरस्थित संसद् भवन, प्रदेशसभा सचिवालय, संसदीय समिति, संसदीय दलका कार्यालय पनि जलेर खरानी भए ।

यस्तै, मुख्यमन्त्री निवास, मुख्यमन्त्री कार्यालयमै रहेको प्रदेश किताबखाना जलेको छ । यहाँका सातवटा मोटरसाइकल र तीनवटा स्कुटर जलेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यहाँका चारपांग्रे सवारी भने नजिकैको गण्डकी प्रदेश प्रहरी कार्यालयमा लगेर सुरक्षित गरिएको थियो ।

वन तथा वातावरण मन्त्रालयका चारवटा र वन निर्देशनालयको एउटा गाडी जलाइएको छ । अर्को एउटा गाडी तोडफोड गरी क्षति पारिएको छ । यहाँका आठवटा मोटरसाइकल र चारवटा स्कुटरमाथि आगजनी गरियो । लेखा शाखा, दर्ता चलानी शाखा जलेको छ । स्टोर तोडफोड भएको छ । ल्यापटप, फ्रिज, भाँडाकुँडालगायतका विभन्न साम्रगी चोरी भएको छ । मन्त्रीको सचिवालय र कार्यकक्ष पूर्णरूपमा तोडफोड गरिएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका पाँचवटा चारपांग्रे र १२ वटा दुईपांग्रे गाडीमा आगजनी गरिएको छ । मन्त्रालयको भवनमा अगजनी गरिएको छ भने मातहतको सामाजिक विकास कार्यालय र गण्डकी विश्वविद्यालयमा समेत तोडफोड हुँदा क्षति भएको छ । खेलकुद शाखाको सबै कोठा जलेका छन् । सभाहलमा तोडफोड गरिनुका साथै लेखा शाखाका सबै कम्प्युटर चोरी गरी लगिएको छ ।

यसैगरी, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका ६ वटा चारपांग्रे र २७ वटा दुईपांग्रे गाडी जलेका छन् । यो मन्त्रालयमातहतको सहरी विकास तथा भवन कार्यालय, पूर्वाधार विकास कार्यालय कास्कीमा तोडफोड र क्षति भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र र सवारी दुवै कार्यालय पूर्णरूपमा जलाइएको छ । ४ लाख ४२ हजार रुपैयाँ राजस्वको रकम हराएको छ । यहाँको मुचुल्का र सरसफाइ कार्य भइरहेको जनाइएको छ ।

आर्थिक मामिला मन्त्रालयका ३ चारपाङ्ग्रे र ६ दुईपांग्रे सवारी जलेका छन् । मन्त्रालयको भुइँतला तोडफोड र आंशिक जलेका छन् । ढोकाझ्याल तोडफोड गरिनुका साथै सभाहल सबै जलेको छ । मन्त्रीको कार्यकक्ष तोडफोड भएको छ । यहाँका तीनवटा ल्यापटप, दुईवटा कम्प्युटर, दुईवटा प्रिन्टर चोरी भएको छ ।

यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका चारपांग्रे र दुईपांग्रे सवारी एक–एकवटा जलेका छन् ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका चारवटा, खानेपानी कार्यालय तनहुँ र जलस्रोत कार्यालय कास्कीका एक–एकवटा चारपांग्रे सवारी जलेका छन् । अर्को चारपांग्रे सवारीमा तोडफोड गरिएको छ । मन्त्रालयमातहतका १८ मोटरसाइकलमाथि आगजनी भएको थियो ।

स्वास्थ्य मन्त्रालयका तीनवटा स्कुटर जलेका छन् । यहाँको भवनमा भौतिक क्षति छैन ।

पर्यटन तथा उद्योग मन्त्रालयका चारवटा गाडी र पाँचवटा मोटरसाइकल पूर्ण रूपमा जलेका छन् । निर्देशनालयको भवन जलेर पूर्ण क्षति भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीनजिकै रहेको प्रदेश नीति तथा योजना आयोगका तीनवटा गाडी र चारवटा मोटरसाइकलमाथि आगजनी गरिएको छ ।

नजिकैको प्रदेश प्रमुखको कार्यालयका चारवटा चारपांग्रे र तीनवटा मोटरसाइकल जलेका छन् । कर्मचारीका दुईवटा निजी मोटरसाइकल जलेका छन् । सिमलचौरस्थित प्रदेश प्रमुखको निवास पूर्णरूपमा जलेको छ ।

मुस्ताङचोकमा रहेको प्रदेश लोकसेवा आयोगका चारवटा चारपांग्रे र एउटा दुईपांग्रे सवारी जलेका छन् । यहाँबाट २९ लाख रुपैयाँबराबरको क्षति भएको अनुमान छ ।

नदीपुरस्थित गण्डकी प्रदेशसभा भवन पूर्णरूपमा ध्वस्त भएको छ । यसैगरी, यहाँको प्रदेशसभा सचिवालय, दलका संसदीय कार्यालयहरू, समितिका कार्यालय, आवास भवन, पुस्तकालय सबै जलेर खरानी भए । प्रदेशसभाका ६ वटा चारपांग्रे र १२ वटा दुईपांग्रे सवारीमाथि आगजनी गरिएको थियो । यसैगरी, ३९ डेस्कटप कम्प्युटर, १९ ल्यापटप, ५ भिडियो क्यामरा, ३५ थान प्रिन्टर फोटोकपी मेसिन, ९ टेलिभिजन स्क्रिन र ४४ थान एयर कन्डिसनर जलेका छन् ।

गण्डकी प्रदेश सरकारले प्रदर्शनकारीहरूले लुटेका सामान सकुशल फिर्ता गर्न आग्रह गरेको छ । सामान फिर्ता गर्नेहरूको पहिचान गोप्य राखिनेछ तर अटेर गरी फिर्ता नगरे सिसीटिभी फुटेज तथा फोटोहरूका आधारमा व्यक्तिको पहिचान गरी कानुनी कारबाही चलाउने चेतावनी दिइएको मुख्यमन्त्री कार्यालयका सचिव रमेश ढकालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग