रौतहट । रौतहटको गरुडा नगरपालिका–४ मा रहेको अनाथालयमा बसेका बालबालिकाहरुका लागी स्थापित अनाथलय आधारभुत बिद्यालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । उक्त भवनको औपचारिक रूपमा गत बिहीबार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जैसवालले उद्घाटन गरेका हुन् । करिब ५५ लाखभन्दा बढीको लागतमा संघीय र स्थानीय सरकारको सहकार्यमा सो दुई कोठे सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।
भवन उदघाटन कार्यक्रममा नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले अनाथ बालबालिकाका लागि सुरक्षित शैक्षिक वातावरण तयार पार्न आफू सधैं प्रतिबद्ध रहने बताए । अब नयाँ भवन बनेपछि २०० भन्दा बढी विद्यार्थी र अनाथालयका करिब १७ जना बिधार्थीहरु निर्धक्क भएर निडर वातावरणमा अध्ययन गर्न पाउने नगर प्रमुख जैसवालले बताएका छन ।

यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै नगर प्रमुख जैसवालले २०५२ सालमा गरुडा निवासी समाजसेवी वंशीराम जैसवालले आफ्नै जग्गामा अनाथ बालबालिकालाई शिक्षाको अवसर दिलाउन अनाथालय स्थापना गरेको र आजसम्म त्यसले निरन्तर सेवा गर्दै आएको उल्लेख गरे ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले “जसको कोही हुँदैन त्यसको भगवान हुन्छन” भन्दै अनाथालय स्थापना गर्नु गौरवको कुरा भएको बताएका छन । उहाँले अनाथ बालबालिकाको संरक्षण र शिक्षामा पालिकाको निरन्तर सहयोग रहने आश्वासन दिएका छन ।
विद्यालयका प्रधानाध्यापक राजवंशीप्रसाद साहले नयाँ भवन निर्माण हुनु विद्यालयका लागि ठूलो राहत भएको बताए । नयाँ भवन निर्माणलाई ऐतिहासिक उपलब्धि बताउँदै नगर प्रमुख, व्यवस्थापन समिति र सम्पूर्ण सहयोगीलाई आभार प्रकट गरे ।
उनले भने, “अघिल्लो भवन जीर्ण भएकाले पढाउने र पढ्ने दुवै प्रक्रियामा चुनौती थियो। “पहिले जीर्ण भवनमा पढाउँदा हरेक क्षण डर लाग्थ्यो, तर नयाँ भवन आएपछि समस्या केही हदसम्म समाधान भएको छ,” भन्दै उहाँले अझै विद्यार्थीको चाप बढेकाले थप कोठा आवश्यक रहेको माग गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौधरीले भवन निर्माणमा नगर प्रमुख, पालिका र स्थानीय दातृ निकायको निरन्तर साथ सहयोगले सफलता प्राप्त भएको बताए ।
सात महिनाअघि समितिको अध्यक्षमा चयन भएदेखि विद्यालयलाई दातृ निकायसँग समन्वय गर्दै निरन्तर सहयोग ल्याउने प्रयास भइरहेको अध्यक्ष चौधरीले बताएका छन । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष चौधरीले भने बिगत केहि दिन अगाडी हामिले गरुडा स्थित रहेको नविल बैंकबाट करिब ५ लाख बराबरको शुद्ध खाने पानिको मेसिन लगायत भौतिक संरचना जस्तै डेस्क, बेन्च, बोर्ड लगायतका समाग्रीहरु सहयोग गराएको जानकारी दिएका छन ।






