सुर्खेत । कर्णाली प्रदेशमा पनि शुक्रबार संविधान दिवस मनाइएको छ । संविधान दिवसका अवसरमा नेताहरूले संविधानभित्रैबाट समस्याको समाधान खोज्नुपर्ने बताए । जेनजी आन्दोलनलाई देखाएर संविधानमाथि आक्रमण भइरहेकाले नेताहरूले वर्तमान संविधानअन्तर्गत रहेर समाधान निकाल्न सकिने धारणा राखेका हुन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको रक्षा गर्नु नै अहिलेको राष्ट्रिय आवश्यकता भएको औंल्याए । जनताको बलिदान र संघर्षको जगमा बनेको संविधानलाई कुनै पनि हालतमा तलमाथि हुन दिन नहुने बताए । ‘अहिलेको राजनीतिक विषम परिस्थितिबाट गुज्रिएको अवस्थामा लोकतन्त्रको रक्षा र सुशासनका पक्षधर सबै मिलेर अघबढे मात्रै संविधानको रक्षा हुन्छ,’ प्रदेश प्रमुख जोशीले भने, ‘यस्तो अवस्थामा हामी कोही कसैले आग्रह र पूर्वाग्रह नराखी लोकतन्त्र र संविधानको रक्षामा जुट्नुपर्ने समय आएको छ ।’
यसअघिका हरेक परिवर्तनमा भएका आन्दोलनमा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले यसपटकको आन्दोलनमा सुरक्षा निकायको भूमिकामा गम्भीर समीक्षा हुनुपर्ने बताए । ‘जनअपेक्षा पूरा गर्न नसके ५ वर्षमा जनप्रतिनिधिलाई थन्क्याउने व्यवस्था छ, जनप्रतिनिधि अपराधी भए सुरक्षा निकायहरू के कारणले हेरेको हे¥यै हुनुप¥यो ? स्थानीय सुरक्षा निकायले आन्तरिक रूपमा गम्भीर छलफल गरून्, यस नजिरले भविष्यमा सुरक्षा निकायले आमनागरिकलाई कसरी सुरक्षाको प्रत्याभूति दिलाउन सक्छन् भन्ने विषय मुख्य हो, सुरक्षाका कारण भत्किएको भरोसा बढाउनतर्फ सुरक्षा निकायका अंगहरू लाग्नुपर्छ,’ कँडेलले भने ।
प्रदेशसभाकी सभामुख नन्दा गुरुरूले संविधानको रक्षार्थ परिवर्तनका पक्षधरहरू एक हुनुको विकल्प नरहेको बताइन् । संविधानमाथिको प्रहारले सिंगो लोकतन्त्र मासिने खतरा बढेको उल्लेख गर्दै यस्तो विषम परिस्थितिमा सबै राजनीतिक दलहरूले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता भएको उनको भनाइ छ ।
कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समायानुकूल संविधानको परिमार्जन गरेर जनताका अपेक्षा पूरा गर्ने तयारी भइरहेका बेला सिर्जित गतिरोधको अन्त्य गर्न सबै राजनीतिक दलबीच सहकार्य र सहमति आवश्यक रहेको बताए ।
माओवादी केन्द्रका सचेतक कृष्णबहादुर जिसीले तत्कालीन सत्ता सञ्चालकहरू स्वेच्छाचारी र निरंकुश बन्दा जेन्जी आन्दोलन नियन्त्रणबाहिर गएको टिप्पणी गरे ।






