राजविराज । बडा दशैंको पहिलो दिन जिल्लाका शक्तिपिठहरुमा जमरा राखि सविधि पुजापाठ शुरु भएको छ ।
प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता, कंकालिनी, राजदेव, भगवती, डाक्नेश्वरी लगायत जिल्ला भरिका शक्तिपिठहरुलाई बेहुली झैं श्रृगारिएको छ । यस्तै जिल्लाको विभिन्न स्थानमा दुर्गा भवानीको आकर्षक प्रतिमा निर्माण गरि सविधि पुजापाठ शुरु भएको हो ।
पुजाको पहिलो दिन सोमबार प्रत्येक शक्तिपिठका साथै घरघरमा जमरा राखि घटस्थापना र दुर्गा भवानीको पुजापाठ शुरु गरिएको छ । यस अवसरमा जिल्लाको विभिन्न शक्तिपिठहरुबाट कलशयात्रा समेत निकालिएको छ ।
कलशयात्रा सयौं महिला–पुरुष सहभागी भएका थिए । कसैले सप्तकोशी र त्रियुगा नदी तथा कसैले नजीकको जलाशयहरुबाट पवित्र जल भरेर पुजा स्थल सम्म लगेका थिए ।
कलश यात्राको क्रममा संकलन गरिएको पवित्र जल प्रतिमा सेलाउन दिन विसर्जन गर्ने धार्मिक परम्परा रहेको पंडित रुपकान्त मिश्र बताउँछन् । नवदुर्गाका सबै रुपलाई घटस्थापना देखि नवमी सम्म हरेक दिन विहान–बेलुका पुजापाठ गर्ने चलन रहि आएको छ ।






