स्याङ्जा । नागरिकलाई सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा दिने लक्ष्यअनुसार सरकारले निर्माण गर्न लागेका चार स्वास्थ्य संस्था ३ वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् ।
स्याङ्जामा ३ र पर्वतमा १ गरी एकै समयमा टेन्डर आह्वान गरी निर्माण प्रक्रियामा गएका स्वास्थ्य संस्थाको भवन अलपत्र अवस्थामा पुगेका हुन् । २०७७ सालमा ठेक्का आह्वान गरी २०७९ सालमा सम्पन्न हुनुपर्ने थियो । तर, ठेकेदारको लापरबाहीका कारण ४ स्वास्थ्य संस्थाका भवन बीच बाटोमै अलपत्र अवस्थामा पुगेका छन् ।
स्याङ्जाको वालिङ–१ धनुवाँसे आयुर्वेद औषधालय, अर्जुनचौपारी–५ आरुचौर आयुर्वेद औषधालय र सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्र साथै पर्वतको वराचौर प्राथमिक स्वास्थ्य केन्द्रका भवन अलपत्र अवस्थामा रहेका छन् । तीनवटा स्वास्थ्य संस्था एउटै ठेकेदार कम्पनीले सम्झौता गरेको थियो भने एक स्वास्थ्य संस्था भवनको निर्माणका लागि अर्को ठेकेदार कम्पनीले सम्झौता गरेको थियो । आरुचौर आयुर्वेद औषधालय, सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्र र वराचौर प्राथमिक स्वास्थ्य केन्द्र भ्याली÷बावुरत्न जेभी काठमाडौंले ३ वर्षमा सक्नेगरी सम्झौता गरेको थियो ।
खहरे आयुर्वेद औषधालय सेफ इन्जिनियरिङ बिल्डर्स भरतपुरले ३ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । भ्याली÷बावुरत्न जेभी काठमाडौंले तीनवटा स्वास्थ्य संस्था निर्माण गर्न १२ करोड ७१ लाख १६ हजार ९ सय ३० रुपैयाँ भ्याट बाहेकमा सम्झौता गरेको थियो भने सेफ इन्जिनियरिङ बिल्डर्सले १ करोड ५८ लाख ८६ हजार १ सय ५५ रुपैयाँ भ्याटबाहेका सम्झौता गरेको थियो । दुई कम्पनीले ११ फागुन २०७७ मा ३ वर्षमा सक्नेगरी भवन निर्माणका लागि सम्झौता गरेको सहरी विकास तथा भवन कार्यालय कास्कीका इन्जिनियर अच्युत पौडेलले जानकारी दिए ।
भ्याली÷बावुरत्न जेभीले निर्माण गर्ने जिम्मा पाएको ठेक्काको म्याद चार पटकसम्म थपिएको छ । अन्तिमपटक ३१ भदौ २०८२ सम्म सम्पन्न गर्नेगरी म्याद थप गरिएको इन्जिनियर पौडेलले बताए ।
‘पटक—पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको छ,’ पौडेलले भने, ‘अन्तिमपटक थपिएको म्यादमा पनि निर्माण सम्पन्न नगर्ने भएपछि जरिमाना तोक्ने तयारीमा छौं, अब म्याद थप्ने कुनै आधार नभएको र २ सय दिनमा सम्पन्न नगरेमा कालोसूचीमा राख्ने तयारी कार्यालयले थालेको छ ।’
अव भवन निर्माण गरेर सके पनि कम्पनीलाई सम्झौता गरेको रकमकै आधारमा हरेक दिन शून्य दशमलव शून्य ५ प्रतिशतका दरले जरिवाना हुने पौडेलले बताए ।
यता वालिङको धनुवाँसे आयुर्वेद औषधालय निर्माणको शुभारम्भमा भने स्थानीयको विरोधले केही ढिला हन गएको कार्यालयले जनाएको छ । भवन निर्माण समयमै सकिने भएपनि ठेकेदारको लापरबाहीले समस्या भएको बताइएको छ । दुवै कम्पनीले थपिएको म्यादभित्र भवन निर्माण नगरेमा कारबाही हुने कार्यालयले जनाएको छ । भवन समयमै निर्माण कार्य नहुँदा चार ओटै स्वास्थ्य संस्थाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेका छन् । जसले गर्दा सुविधा सम्पन्न स्वास्थ्य संस्थाबाट पाउनुपर्ने सेवाबाट नागरिक वञ्चित भएका छन् भने भाडा तिर्नुपर्ने अवस्थाले सरकारलाई ठुलो नोक्सानी भएको छ ।
कार्यालयका अनुसार स्याङ्जाका तीनवटै निर्माणाधीन स्वास्थ्य भवन ४५ प्रतिशतदेखि ७० प्रतिशत काम भएका छन् । भ्याली÷बावुरत्न जेभीका सञ्चालक रमेश अवालेले पेटी ठेकेदारमार्फत काम गराउँदा धोका भएको बताए ।
अब पुस मसान्तभित्र जसरी पनि भवन निर्माण सम्पन्न गर्नेगरी अगाडि बढेको अवालेले बताए । दसैं सकिएलगत्तै काम सुरु गर्ने र कार्यालयले जरिवाना तिराएपनि तयार रहेको उनले बताए ।
यता, सेफ इन्जिनियरिङ बिल्डर्सका सञ्चालक सूर्य पौडेल भने सम्पर्कमा आएनन् । समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक आडमा छुटकारा पाउँदै आएका छन् । जसले गर्दा कुनै पनि काम समयमै भएको पाइँदैन ।






