जेनजी आन्दोलनमा सप्तरीका सरकारी कार्यालयमा मात्रै ७५ करोडभन्दा बढीको क्षति

राजविराज । २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको घटनामा सप्तरीका चार दर्जन सरकारी कार्यालयमा गरी ७५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

जिल्लास्थित कार्यालयमा भएको तोडफोड र आगजनीबाट ७५ करोड ४५ लाख २ हजार ८३ रुपैयाँबराबरको कुल क्षति भएको प्रहरी तथ्यांकले देखाएको हो ।

तोडफोड र आगजनीबाट जिल्लाभरका सरकारी कार्यालयका १ सय १३ वटा चारपांग्रे र १ सय ११ वटा मोटरसाइकलसमेत पूर्णरूपमा नष्ट भएको सप्तरी प्रहरीले तयार पारेको क्षतिग्रस्त संरचनाको संख्यात्मक लगत विवरणमा देखिएको छ ।

आन्दोलनकारीले गरेको तोडफोड र आगजनीबाट सर्वाधिक क्षति राजविराज नगरपालिका कार्यालयलाई पुगेको छ । यस कार्यालयमा ३० करोड रुपैयाँबराबरको क्षति भएको प्रहरीले खडा गरेको लगत विवरणले देखाएको छ ।

११३ वटा चारपांग्रे र १११ वटा मोटरसाइकल पनि जलाइयो

सप्तरी जिल्ला अदालत राजविराजमा ७ करोड ५५ लाख, उच्च अदालत जनकपुर–राजविराज इजलासमा ६ करोड ५० लाख, भौतिक पूर्वाधार विकास कार्यालयमा ४ करोड २५ लाख, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा २ करोड ४३ लाख ७५ हजार, सहरी विकास कार्यालयमा २ करोड १५ लाख, उच्च सरकारी वकिल कार्यालयमा २ करोड ७ लाख ८ सय ४० तथा जिल्ला निर्वाचन कार्यालयमा १ करोड ४७ हजार ४ सय ९९ रुपैयाँको क्षति भएको छ ।

नापी कार्यालयमा १ करोड ४५ लाख ११ हजार, डिभिजन वन कार्यालयमा १ करोड ७१ लाख ८१ हजार ९ सय ४०, माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालयमा १ करोड २१ लाख ४९ हजार ७ सय २३, बोदेबर्साइन नगरपालिका कार्यालयमा ९० लाख, करदाता सेवा कार्यालय राजविराजमा ७ लाख, यातायात व्यवस्था कार्यालयमा ७० लाख, जिल्ला सरकारी वकिल कार्यालयमा ६१ लाख २५ हजार, जिल्ला समन्वय समितिमा ५० लाख, खडक नगरपालिका कार्यालयमा ६८ लाख ८३ हजार ५ सय, सप्तरी कारागार कार्यालयमा ४० लाख र जिल्ला हुलाक कार्यालयमा ३८ लाख ३१ हजार २० रुपैयाँबराबरको सम्पत्ति नष्ट भएको छ ।

राजविराज नगरपालिकाको ६ नम्बर वडा कार्यालयमा ४० लाख, ट्राफिक कार्यालयमा १८ लाख, अग्नीसाइर कृष्णासवरन गाउँपालिका कार्यालयमा १७ लाख, राजविराज नगरपालिका–४ नम्बर वडा कार्यालयमा २८ लाख, महदेवा गाउँपालिका–४ नम्बर वडा कार्यालयमा २५ लाख, बोदेवर्साइन नगरपालिकाको वडा नम्बर ५ को कार्यालय, हनुमाननगर कंकालिनी नगरपालिकाको १ नम्बर वडा कार्यालय, बोदेबर्साइन नगरपालिकाको १० नम्बर वडा कार्यालय र कञ्चनरूप नगरपालिकाको कार्यालयमा १५–१५ लाख रुपैयाँबराबरको क्षति भएको मूल्यांकन गरिएको छ ।

बलानविहुल गाउँपालिकाको कार्यालयमा ११ लाख, इलाका प्रहरी कार्यालय बोदेबर्साइनमा १२ लाख, जिल्ला समन्वय तथा सूचना प्रहरी युनिटमा १५ लाख, राजगढ गाउँपालिका कार्यालयमा १० लाख ५३ हजार, विष्णुपुर गाउँपालिका कार्यालयमा १० लाख, भूमि समस्या समाधान आयोग कार्यालयमा ९ लाख ९५ हजार १ सय, इलाका प्रशासन कार्यालय बोदेवर्साइनमा १० लाख, सुरुंगा नगरपालिका कार्यालयमा ९ लाख र डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा ८ लाख रुपैयाँबराबरको क्षति भएको छ ।

बोदेवर्साइन नगरपालिकाको वडा नम्बर ९ को कार्यालयमा ५ लाख, तिरहुत गाउँपालिका कार्यालयमा ४ लाख, राजविराज नगरपालिका वडा नम्बर ८ को कार्यालयमा ३ लाख ७३ हजार तथा उच्च अदालत सुरक्षा गार्ड कार्यालयमा ३ लाख ५० हजार रुपैयाँबराबरको क्षति भएको छ ।

शम्भुनाथ नगरापालिका कार्यालयमा ३ लाख ९५ हजार, अस्थायी ट्राफिक पोस्ट कदमहामा २ लाख ५० हजार, राजविराज नगरपालिका वडा नम्बर ३ को कार्यालयमा २ लाख ५० हजार बोदेबर्साइन नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा २ लाख, तिलाठी कोइलाडी गाउँपालिकाको कार्यालयमा १ लाख ४४ हजार, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको कार्यालयमा १ लाख ५० हजार र खडक नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा १ लाख १२ हजार मूल्य बराबरको सम्पत्ति नष्ट भएको छ ।

यस्तै, बलानबिहुल गाउँपालिकाको कार्यालयमा १ लाख ५५ हजार, इलाका प्रहरी कार्यालय कल्याणपुरमा १ लाख, हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालयमा ५० हजार र प्रहरीचौकी मौवाहामा ३५ हजार मूल्यबराबरको क्षति भएको प्रहरीले खडा गरेको क्षतिग्रस्त संरचनाको लगत विवरणले देखाएको छ ।

आगजनीले ध्वस्त भएको संरचना पुनर्निर्माण तथा विभिन्न साधन स्रोत जुटाई कतिपय कार्यालयले सेवा सुचारु गरिसकेका छन् भने कतिपय कार्यालयले दसैंपछि मात्र सहज रूपमा सेवा प्रदान गर्न सकिने अवस्था रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी