विदेशबाट फर्किएर भोजपुरका कमलको लोभलाग्दो ‘माछापालन’

भोजपुर । भोजपुर नगरपालिका–६ भँगेरीका कमल तामाङ व्यावसायिक माछा पालनमा जुटेका छन् । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमै उदाहरणीय बन्ने लक्ष्यले तामाङ व्यवसायमा जुटेका हुन् ।

अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूपमा माछापालन गरिरहेको उनले बताए । पोखरीमा ६० किलोग्राम ग्रासकार्प माछाका भुरा लगाएको उनले जानकारी दिए । आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय थालेको तामाङले बताए ।

‘आफ्नै ठाउँमा उदाहरणीय काम गर्ने लक्ष्यले व्यावसायिक रूपमा माछापालन गरिरहेको छु,’ उनले भने, ‘अहिले पाँचवटा पोखरीमा ६० केजी भुरा लगाएको छु, आफ्नै ठाउँमा परिवारसँग बसेर व्यवसाय गर्दा छुट्टै आनन्द छ ।’

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा ५ वर्ष बिताएर आफ्नो ठाउँमा त्यहाँको भोगाइ र अनुभवलाई सदुपयोग गर्दै माछा पालनमा लागेको तामाङले बताए । आफ्नै ठाउँमा व्यावसायिक बनेर कृषि कर्म गर्न सकेमा स्वदेशमै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने उनले सुनाए ।

‘धेरै युवामा विदेशप्रति मोह बढेको देखिन्छ,’ तामाङले भने, ‘तर, विदेशको दुःख त्यहाँ पुगेपछि मात्र थाहा हुन्छ, विदेशमा दुःख गर्नु भन्दा आफ्नै ठाउँमा व्यवसाय गर्ने सोचका साथ यो व्यवसायमा लागेको छु, त्यहाँको मेहनत यहाँ गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।’

व्यवसायमा लाग्ने युवाहरूलाई लक्षित प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको भोजपुर–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेपछि गाउँघरमा व्यावसायिक कृषिमा लाग्नेको संख्या बढ्दै गएको उनको भनाइ छ ।

किसानहरूलाई उनीहरूको व्यावसायिक योजनाका आधारमा वडा तथा नगरपालिकाबाट सहयोगका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । ‘किसानलाई प्रोत्साहन गर्न वडाले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ,’ वडाध्यक्ष कार्कीले भने, ‘किसानहरूलाई उनीहरूको व्यावसायिक योजनाका आधार आवश्यक सहयोग गर्दै आएका छौं ।’

भोजपुर सदरमुकामसँग जोडिएको वडा भएकाले किसानहरूले व्यावसायिक माछापालन, तरकारी खेती तथा नगदे बालीको खेतीबाट मनग्य आम्दानी गर्दै आएको वडाध्यक्ष कार्कीले बताए । किसानलाई आयआर्जनमा जोड्न कृषिको क्षेत्रमा वडाले योजनाबद्ध रूपमा काम अघि बढाएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

जनताको अभिमत दुरुपयोग गरेर हुर्मत नलिन आफ्नै नेता-कार्यकर्तालाई रवि लामिछानेको चेतावनी