काठमाडौं । गत साताको भारी वर्षाका कारण सबैभन्दा बढी क्षति जलविद्युत् क्षेत्रमा परेको छ । मुलुकभरका ३२ वटा आयोजनामा क्षति पुग्दा अर्बौँ रुपैयाँको क्षति भएको छ । अझै यकिन तथ्यांक भने संकलन हुन सकेको छैन ।
गत १७ देखि १९ असोजसम्म आएको भारी वर्षाले जलविद्युत् आयोजनाका साथमा आयोजनामा पुग्ने पहुँच मार्गसमेत बाढी र पहिरोले क्षतविक्षत बनाएको छ । विगतमा जलविद्युत् आयोजनामा यस्तै किसिमको प्रकोप पर्दा मानवीय क्षति हुने गरे पनि यसपालि सरकारद्वारा प्रकोपपूर्व नै सूचनाको सम्प्रेषण भएका कारण मानवीय क्षति भने हुन पाएन ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार देशभरका ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन् । प्रारम्भिक तथ्यांकअनुसार सञ्चालनमा रहेका १ सय ८० वटा मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३ सय ३८ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् ।
इप्पानका अनुसार बाढी पहिरो प्रभावका कारण कुल ५ सय १८ मेगावाट क्षमता विद्युत् आयोजना सम्पन्न हुन अझ ढिलाइ हुने भएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले विगतका वर्षहरूमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोहीअनुसार पूर्वसूचना प्रेषित गरी मानवीय क्षति रोक्न सफल भएको बताए ।
कार्कीले समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत् आयोजनाहरूमा निकै कम मात्र भौतिक क्षति भएको जानकारी गराए ।
सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका
बाढीपहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको कोशी प्रदेशको इलाम जिल्लामा जलविद्युत आयोजनाहरू पनि सबैभन्दा धेरै प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरूको उत्पादन बन्द भएको छ । जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना इलाम जिल्लाका रहेका छन् ।
बाँकी दुई आयोजनामध्ये कोशी प्रदेशकै पाँचथर जिल्लामा रहेको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशमा रहेको ५२.४ मेगावाटको लिखु ४ जलविद्युत आयोजना प्रभावित भएका छन् । हाल लिखुबाहेक सबै आयोजनाको उत्पादन बन्द रहेको छ । लिखु ४ को भने १ घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको थियो ।
निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा
निर्माणाधीन जलविद्युत आयोजनाहरूमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँच सडकको धेरै ठाउँमा पहिरो गएको प्रवद्र्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए । यही वर्षदेखि आयोजनाको निर्माण सुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए ।
निर्माणाधीन अवस्थामा रहेका आयोजनामध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवद्र्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यावसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पु¥याउँदा यसको विद्युत् उत्पादन मिति पर सरेको छ । पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरू नै बगाएको छ ।
सिन्धुपाल्चोकमा रहेका ४ जलविद्युत आयोजनाको पहुँचमार्ग पनि बाढीले बगाएको छ । जसमा ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी जलविद्युत आयोजनाको पहुँचमार्ग बाढीले बगाएको छ ।
रसुवामा रहेको २० मेगावाटको लाङटाङ खोला, भोजपुरमा रहेको १५.५ मेगावाटको इर्खुवा खोला बी, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, म्याग्दीमा रहेको २२.५ मेगावाटको माथिल्लो ठूलो खोला, लमजुङमा रहेको ६.८२ मेगावाटको हिडी खोला, रामेछापमा रहेको ४८.८ मेगावाटको खिम्ति २ र धादिङमा रहेको ४.५ मेगावाटको गसाली खोला जलविद्युत् आयोजनाको पहुँचमार्गलगायतका विभिन्न संरचनामा क्षति पुगेका कारण यी आयोजनाको विद्युत् उत्पादन मिति पर सरेको छ ।






