काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भारतबाट चोरेर ल्याएको गाडी झापामा काटेर बेच्ने गरेको दुर्गा प्रसाईंको आरोप विरुद्ध कानुनी उपचार खोज्नुपर्ने पार्टीका नेताहरूले सुझाएका छन् ।
‘पार्टीका अध्यक्षलाई गाडी तस्करीको आरोप लाग्नु भनेको सम्पूर्ण पार्टीलाई आरोप लाग्नु हो । त्यसकारण अध्यक्ष राजेन्द्र लिङदेनले अभियन्ता दुर्गा प्रसाईंको आरोप खण्डन गर्दै अदालत जानु पर्दछ,’ एक केन्द्रीय नेताले आइतबार सम्पन्न राप्रपा इतर पक्षको भेलामा भने ।
देशको अवस्था तरल रहेको, विदेशी प्रभाव सतहमा देखिएको भन्दै अवसर र चुनौतिको दोसाधमा रहेको वर्तमान अवस्थामा राप्रपाले संवैधानिक राजसंस्था सहितको बहुदलीय प्रजातन्त्रको पक्षमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने भेलाको जोड थियो ।
राप्रपाले स्थापनाकालदेखि अंगीकार गरेको र विश्वव्यापी रूपमा सफल रहेको संसदीय प्रजातन्त्रको पक्षमा पार्टीले प्रभावकारी र सार्थक भूमिका निर्वाह गर्नुपर्ने भेलाको निष्कर्ष थियो ।
‘नेताहरूले धारणा राख्ने क्रममा जेनजी पुस्ताको आन्दोलन हुँदा राप्रपा कतै नदेखिएको र भूमिकाविहीन रहेको, अध्यक्षले सबैलाई समेट्न नसकेकोले असफल भएको, चैत १५ गते सबै इमान्दार भएर लागेको भए राजसंस्था पूनर्स्थापनाको आन्दोलन सफल हुनेजस्ता कुरा राखेका थिए,’ एक केन्द्रीय सदस्यले भने, ‘सहभागीहरूले नेताहरूलाई खुट्टा नकमाऊँ, दह्रोसँग टेक भनेर सुझाव पनि दिए ।’
महामन्त्री डा. धवलशम्शेर राणाको पहलमा काठमाडौंमा सम्पन्न भेलाले तत्काल केन्द्रीय समिति बैठक बोलाएर नियमित महाधिवेशनको मिति तय गर्न अध्यक्ष लिङ्देनमाथि दबाब बढाउने निष्कर्ष निकालेको छ ।
नियमित महाधिवेशन नभए विशेष अधिवेशनको विकल्प रोज्न भेलाले नेताहरूलाई सुझाव दिए । लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुनसुन्दर लावती र अनुशासन समिति अध्यक्ष नवराज सुवेदीलगायत नेताहरूमाथि गरेको अवैध कारबाही फिर्ता गर्नुपर्ने भेलाको निष्कर्ष छ ।
राप्रपाले २०७८ मंसिरमा महाधिवेशन गरेको थियो । विधानअनुसार चार वर्षे कार्यकाल यही मंसिर १८ गते सकिँदैछ । त्यसपश्चात अध्यक्ष लिङ्देनको कार्यकाल स्वतः अन्त्य हुनेछ ।
उपत्यकामा उपलब्ध ९६ जना केन्द्रीय सदस्यहरू आज महामन्त्री राणाले राखेको भेलामा उपस्थित रहे । नवदुर्गा पार्टी प्यालेसमा भएको भेलामा गत माघदेखि केन्द्रीय समिति बैठक नबसेकोले अध्यक्ष लिङ्देनले तत्काल बैठक बोलाउनुपर्ने विषयमा नेताहरूले कुरा राखेका थिए ।
‘लामो समयदेखि अध्यक्षज्यूले केन्द्रीय समिति बैठक बोलाउनु भएको छैन, तत्काल केन्द्रीय समिति बोलाएर नियमित महाधिवेशन कार्यतालिका ल्याउन हामीहरूले माग गरेका हौं, अब हामी देशैभरबाट महाधिवेशन मिति तय गर्न दबाब दिने काम गर्छौं,’ ती केन्द्रीय सदस्यले भने, ‘मंसिर १८ अघि नै नियमित महाधिवेशन हुनुपर्छ । यदि नियमित महाधिवेशनका लागि अध्यक्ष र संस्थापन पक्ष तयार नहुने हो भने हामी विशेष महाधिवेशन माग्न प्रक्रिया सुरू गर्छौं ।’
जेनजी पुस्ताको आन्दोलनमा राप्रपाको भूमिका शून्य रहेको र अध्यक्ष लिङ्देन भने गाई दुहुनुुमै रमाएको टीप्पणी नेताहरूले गरेका थिए ।
महामन्त्री राणा पक्षले तिहारपछि देशव्यापी रूपमा भेला गर्ने निर्णय पनि गरेका छन् । केन्द्रीय सदस्यहरूको राष्ट्रिय भेला पनि बोलाउने तय भएको छ ।
‘पार्टीभित्र एकता कायम गरेर मंसिरमा नियमित महाधिवेशनको मिति तय गर्नुपर्छ,’ महामन्त्री राणाले भने, ‘साथीहरूमाथि गरिएको निलम्बन तथा कारबाही फिर्ता हुनुपर्छ ।’
अब पार्टी महाधिवेशन र आन्दोलनमा होमिनुपर्ने महामन्त्री राणाको भनाइ छ ।
‘यो केन्द्रीय समितिको अवधि मंसिर १८ गते समाप्त हुन्छ, त्यसअघि नै महाधिवेशनको तिथि मिति तय गरिनुपर्छ । नभए समिति नै अवैध हुन्छ,’ यो कार्यसमितिको म्याद थप्न नहुनेतर्फ संकेत गर्दै उनले भने ।
सम्बन्धित समाचार







