८१ प्रतिशतभन्दा बढी लमजुङ कांग्रेस प्रतिनिधि महाधिवेशनको पक्षमा

लमजुङ । लमजुङमा नेपाली काँग्रेसका ८१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरू महाधिवेशनको पक्षमा देखिएका छन् । वर्तमान नेतृत्वको अनुहार लिएर निर्वाचनमा जान नसकिने भन्दै उनीहरूले महाअधिवेशनको माग गरेको बताएका छन ।

नेपाली काँग्रेसका महामन्त्रीहरूको १५औं नियमित महाधिवेशन यसै वर्ष गरौं, नभए बिशेष महाधिवेशन गरौं भन्ने आह्वानलाई मध्यनजर गर्दै लमजुङमा महाधिवेशनको पक्षमा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन कार्य भएको नेपाली काँग्रेसले जनाएको छ । त्यस कार्यको नेतृत्व काँग्रेसका निवर्तमान जिल्ला सभापति एवम् गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गरेका हुन् ।

हस्ताक्षर संकलनमा ८५ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरी केन्द्रमा बुझाई सकिएको उनले बताए । हस्ताक्षरका पक्षमा अझै संख्या बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘यतिबेला विदेशमा बस्ने प्रतिनिधिहरूको समेत हस्ताक्षर झिकाइएको छ । त्यस्तो दस्तखत पठाउनेमा जीवन श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङ समेत छन् ।’

लमजुङमा जम्मा २७ जना महाधिवेशन प्रतिनिधिहरू(जिल्ला सभापति पदेनसमेत) रहेका छन् । तीमध्ये २२ जनाले महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको खुल्न आएको छ । विगतमा फरक धारको नेतृत्व गर्नु हुने तरुण दलका केन्द्रीय सदस्य बृषराज गुरुङ तथा पूर्वजिल्ला सभापति तुल्सीनारयण श्रेष्ठ लगायतले समेत महाधिवेशनको पक्षमा दस्तखत गरेका छन् ।

प्रायः मझधारको नेतृत्वको छनक दिन प्रयास गर्नु हुने काँग्रेसका गण्डकी प्रदेशका सहसचिव एवम् मध्यनेपाल नरगपालिकाका मेयर रमेशकुमार पाण्डेले समेत महाधिवेशनका पक्षमा दस्तखत गरेका छन् ।

अहिले पुरानै नेतृत्वलाई निरन्तरता दिएर आम निर्वाचनमा जान नहुने आवाज सर्वत्र उठेको छ । २७ जनामा २२ जनाले दस्तखत दर्ता ८१.४८ प्रतिशत हुन आउँछ ।

अधिवेशनको पक्षमा दस्तखत नगर्ने अर्थात वर्तमान नेतृत्व नै ठीक भन्ने पक्षमा रहेकाहरूमा काँग्रेसका जिल्ला सभापति एवम् गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङ, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्व जिल्ला सभापति एवम् सुन्दरबजार नगपालिकाका मेयर कृष्णप्रसाद कोइराला र प्रजातान्त्रिक सांस्कृतिक केन्द्रका केन्द्रीय समितिका अध्यक्ष तीर्थ थापा रहेको बताइएको छ ।

महाधिवेशन माग गर्दै सो पक्षमा दस्तखत गर्नेहरूको दस्तखतको प्रतिलिपी राजधानीसँग सुरक्षित छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

epaper

ताजा समाचार

२८ आश्विन २०८२