नेपालगन्ज । बाँकेमा ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेले विशेष मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् ।
विशेष मतदाता नामावली संकलन सुरु भएपछि असोज महिनाको एक साताको अवधिमा मात्रै ४ सय १५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए ।
उनले अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकांश युवापुस्ता भएको जानकारी दिँदै ३५ वर्ष कम उमेर समूहका बढी भएको बताए । ‘मतदाता नामावली संकलन दैनिकजसो बढ्दै गएको देखिएको छ,’ उनले भने ।
जिल्ला निर्वाचन कार्यालय नेपालगन्जले ६ असोजदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्नका लागि स्थानीय तहलगायतका सम्बन्धित स्थानमा सूचना जारी गरी पत्राचार गरेको थियो । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली दर्ताका लागि आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भई आएमा विवाहको प्रमाणपत्र, बाहिरी जिल्लाकालाई समेत कागजातका आधारमा दर्ता गर्न सकिने भनेर स्थानीय तहलाई आग्रह गरेको थियो ।
मतदाता नामावली अद्यावधिकका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले बाँकेमा ३ लाख ३३ हजार ९ सय ३४ मतदाता रहेको बताए । सो मतदातामध्ये १ लाख ६९ हजार ८ सय ७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता छन् ।
विगतमा हुने मतदाता नामावली संकलनभन्दा केही फरक ढंगले मतदाता नामावली संकलन भएको उल्लेख गर्दै शाहीले यसपटकको मतदाता नामावली विशेष मतदाता नामावली संकलन रहेको बताए ।
नयाँ नाम दर्तासँगै अद्यावधिक गर्ने, त्रुटि सच्चाउने, स्थान स्थानान्तरणलगायतका काम अनलाइनमार्फत पनि भइरहेको जानकारी दिँदै उनले असोज महिनाको एक साताका अवधिमा ४० जनाको अद्यावधिक गर्ने तथा त्रुटि सच्चाउने काम भएको र १७ जनाको ठाउँ सारिएको उल्लेख गरे ।
‘मतदाता नामावलीमा नाम सच्चाउन अनलाइनमार्फत माग आउँछ र हामीलाई त्यसलाई अद्यावधिक गर्दै गइरहेका छौं,’ उनले भने । मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका अधिकांश छन् ।






