काठमाडौं । ‘आईसीसी ट्वान्टी–२० विश्वकप’ पुगेको नेपालले ‘ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट’ उपाधिसमेत चुमेको छ । अन्तिम खेलमा शुक्रबार सामोआलाई १ सय २४ रनले हराउँदै नेपाल विजेता बनेको हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा भएका प्रतियोगितामा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता पनि हो ।
सन् २०१३ मा पहिलोपटक ‘ट्वान्टी–२० विश्वकप’मा छनोटका समय यूएईमा सम्पन्न ‘ग्लोबल छनोट’मा नेपाल तेस्रो भएको थियो । यसको १० वर्षपछि ‘ट्वान्टी–२० विश्वकप’मा पुनरागमनक्रममा काठमाडौंमा भएको ‘एसिया छनोट’मा नेपाल उपविजेता बनेका थियो ।
ओमानमा जारी प्रतियोगिताको ‘सुपर सिक्स’को यसअघिका ३ खेल जितेर ८ अंकसहित नेपाल गत ७ फेब्रुअरीदेखि ८ मार्चसम्म भारत र श्रीलंकामा २० राष्ट्रसम्मिलित ‘आईसीसी ट्वान्टी–२० विश्वकप’मा छनोट भइसकेको थियो । नेपालसहित ओमान र यूएईले पनि ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका थिए । अपराजित रही विजेता बनेर नेपालले १० अंक जोडेको हो । ओमानको ८ र यूएईको ६ अंक रह्यो ।
नेपालले सामोआलाई पराजित गरी ओमानलाई २ अंकले पछाडि पारेको हो । २ सय १२ रनको लक्ष्य लिएर आएको सामोआ ७ विकेट गुमाई ८७ रन मात्र बनाउन सक्यो । ओपनर सिन सोलिआले सर्वाधिक ४० रन बनाए । उनले ३७ बल खेलि २ चौका र १ छक्का प्रहार गरे । बेन्जामिन माइलताले ११ रन बनाए । ललित राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चे । करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।
यसअघि ‘टस’ हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ११ रन बनाएको थियो । आसिफ शेख र कुशल भुर्तेलले पावर प्लेको पहिलो ६ ओभरमा ६१ रन जोडेर नेपाललाई आक्रामक सुरुआत दिलाएपछि नेपालले विशाल स्कोर बनाएको हो । भुर्ते ल १५ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाई ‘आउट’ भए । आसिफले ६९ रन बनाए ।
ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर हो । अघिल्लो महिना उनले शारजहाँमा वेस्ट इन्डिजविरुद्ध ६८ रन बनाएका थिए । आसिफले ४१ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा पहिलो पटक मौका पाएका आसिफका दाई आरिफ २ चौकासहित ९ रन बनाई आउट भए । दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए ।
उनले ३३ बल खेलि २ चौका र ४ छक्का प्रहार गरे । नेपालले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो । रोहित ११ बल खेल्दै समान १ चौका र छक्कासहित २२ तथा लोकेश बम १२ बल खेलेर २ चौका र ४ छक्कासहित ३९ रन बनाई अविजित रहेका छन् ।






