काठमाडौं । २०८२ सालमा रिलिज भएका चलचित्रहरू मध्य एकै दिनमा सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड अनमोल केसीको चलचित्र ‘जेरी अन टप’ बनाएको छ । गत ३१ असोजबाट चलचित्र घरमा रिलिज भएको ‘जेरी अन टप’ले रिलिज भएको नवौँ दिनमा शनिवार १ करोड रुपैयाँ भन्दा माथिको ग्रस व्यापार गरेको छ ।
यो चलचित्रले शनिवार ८ कात्तिकमा मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसाको व्यापार गर्दै यो वर्षको सबैभन्दा बढी व्यापार एक दिनमा गरेको नयाँ रेकर्ड बनाएको हो ।
रिलिजको पहिलो दिनबाट हाउस फूल व्यापारसहित चलचित्र घरमा भित्रिएको यस चलचित्रले प्रदर्शनको नवौँ दिनमा १ करोड माथिको ग्रस बिजनेस गरेर नयाँ कीर्तिमान कायम गरेको छ । चलचित्र विकास बोर्डले उपलब्ध गराएको ‘रियल टाइम बक्स अफिस रिपोर्ट’ अनुसार यो रेकर्ड बनाएको हो ।
दोस्रो सातामा प्रदर्शन भएको नेपाली चलचित्रले एकै दिनमा एक करोड भन्दा माथिको व्यापार यो वर्ष कुनैले पनि चलचित्रले गर्न सकेको थिएन । अनमोल केसीको यो ११ औँ चलचित्र हो । उनको जीवनकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको रेकर्ड पनि ‘जेरी अन टप’ले बनाउने देखिएको छ । किनकि अहिलेसम्म अभिनेता अनमोलको कुनै पनि चलचित्रले ७ करोड रुपैयाँ भन्दा माथिको व्यापार गर्न सकेको थिएन । तर यो चलचित्रले भने रिलिजको दिन बाटै दैनिक ६० लाख भन्दा माथिको व्यापार सुरु गरेको थियो । तेस्रो दिनबाट चलचित्रको व्यापार दिन दिनै बढ्दै गएको चलचित्र विकास बोर्डको बक्स अफिस रेकर्डले देखाउँछ । चलचित्र ‘जेरी अन टप’ले पहिलो साता नेपालबाटै पाँच करोड भन्दा माथिको व्यापार गरिसकेको छ ।
यो चलचित्र रिलिज भएको छैटौँ दिनमा एकसाथ तीन चलचित्र ‘वरिष्ठ बलराम’, ‘मैझारो’ र ‘सोल्टिनी’ पनि रिलिज भए । ६ कात्तिकमा एक साथ तीन चलचित्र रिलिज हुँदा पनि अनमोलको ‘जेरी अन टप’को व्यापारमा असर नपरेको देखिन्छ । ७ कात्तिकबाट त यी तीन चलचित्र भन्दा जेरी अन टपले दोब्बर व्यापार चलचित्र घरमा गरेको बक्स अफिस रिपोर्टमा देखिएको छ ।
६ कात्तिकमा रिलिज भएका यी तीन चलचित्र मध्य दयाहाङ राई र विजय बरालको ‘वरिष्ठ बलराम’को व्यापार अहिले राम्रो छ । प्रकास सपुत र परीक्षा लिम्बुको चलचित्र ‘सोल्टिनी’को तीन दिनमै धेरै चलचित्र घरबाट सोहरू हटिसकेको छ । प्रकास सपुतको अहिलेसम्मकै असफल चलचित्रको सूचीमा यो परिसकेको छ । यस्तै विल्सन विक्रम राईको चलचित्र ‘मैझारो’को बक्स अफिस रिपोर्ट हेर्दा कोसी प्रदेशमा राम्रो छ । बाँकी प्रदेशमा यो चलचित्रको व्यापार पनि कमजोर देखिएको छ । यसरी दोस्रो सातामा प्रदर्शन भइरहेको सुयोग गुरुङको निर्देशित चलचित्र ‘जेरी अन टप’को अहिलेको बक्स अफिस ग्राफ हेर्दा यी तीन नयाँ चलचित्रलाई उछिन्दै नेपालबाट मात्रै यसले १० करोड भन्दा माथिको व्यापार गर्ने देखिन्छ ।
विश्वका सबैभन्दा अग्ला हिमाली शृंखला नेपालमा भए पनि अहिलेसम्म सगरमाथा आरोहण सम्बन्धी नेपाली चलचित्र निर्माण भएको थिएन । चलचित्र ‘जेरी अन टप’मा सगरमाथा आरोहणसँगै यात्राको क्रममा देखाइएको प्रेम कथाले पनि दर्शकको मन तानिरहेको छ । यो चलचित्रका मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबिचको त्रिकोणात्मक प्रेम आफैँमा रोचक छ । अभिनेता भुवन केसी, हास्य कलाकार केदार घिमिरेको अभिनयले पनि दर्शकको मन जितिरहेको छ ।
सम्बन्धित समाचार
हृदयाघातको लागि खिचेको दृश्य अश्लीलमा प्रयोग गर्दा कुटाई
अमेरिकाबाट शिव भजन सार्वजनिक
कबड्डी ५ सुरु, दयाहाङको प्रतिस्पर्धीमा विपिन कार्की
पवन सिंहसँग ज्योतिले मागिन् ३० करोड
‘काठमाडौं हरर चलचित्र महोत्सव–२०२५’ मा छानिए २५ चलचित्र
तीन विधामा ‘हरिप्रसाद कल्याणी रिमाल सम्मान पुरस्कार’ प्रदान
चलचित्र ‘परान’को ट्रेलरमा बुबाको पीडा
बाबुल गिरीको स्टुडियोमा गायिका नितुले आफैंलाई लगाइन् आगो






