रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं. १ बागमतीको चुरेक्षेत्रमा रहेको ऐतिहासिक गोल्मा राजा बुद्ध बिहार परिसरमा ध्यान योग केन्द्र भवनको आज शिलान्यास भएको छ । थाई नेपालको सहयोगमा निर्माण हुने उक्त ध्यान योग केन्द्रको सोमबार एक विशेष समारोहका बीच रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य युवराज भट्टराई र चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजयकुमार काफ्लेले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
शिलान्यास कार्यक्रममा मधेश प्रदेश सभा सदस्य भट्टराईले यस भेगलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकाश गदै लैजानुपर्ने बताएका छन ।
रौतहटको ऐतिहासिक क्षेत्रको रुपमा परिचित गोल्मा राजा बुद्ध बिहार परिसरमा शुद्ध खानेपानीको लागी प्रदेश सरकारले करिब ५० लाखको लगानी गरेको समेत प्रदेश सभा सदस्य भट्टराईले बताए
यसैगरी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले गोल्मा राजा बुद्ध बिहार परिसरलाइ धार्मिक पर्यटकिय क्षेत्रको बिकाशको लागी सहयोग गर्न सबैलाई आग्रह गरेका छन । नगरपालिकाकाले पनि सकेको सहयोग गर्ने र माथिल्लो सरकारलाइ समेत सहयोग गर्न नगर प्रमुख काफ्लेले आग्रह गरे । आज शिलान्यास गरेको गोल्मा राजा बुद्ध बिहार परिसर भित्रको ध्यान केन्द्र करिब २ करोडको लागतमा निर्माण हुन लागेको गोल्मा राजा बुद्ध बिहार परिसरका भन्ते मेधंकर स्थबिरले जानकारी दिएका छन ।
ध्यान केन्द्रको भौतिक संरचनामा ७० फिट लम्बाई र ३५ फिट चौडाइ हुनेछ । निर्माण सम्पन्न भएपछि ध्यान योग केन्द्र बौद्ध साधना, योग अभ्यास र ध्यानका लागि आधुनिक सुविधा सम्पन्न केन्द्रका रूपमा विकास गरिने स्थबिरले बताए ।
ध्यान केन्द्रको निर्माणले यस क्षेत्रमा धार्मिक पर्यटन र बौद्ध संस्कृति प्रवद्र्धनमा सहयोग पुग्ने भन्ते स्थबिरको भनाइ छ । शिलान्यास कार्यक्रममा थाइल्यान्डका भन्तेहरू र नेपालका भन्तेहरूको विशेष उपस्थिति रहेको थियो । शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बौद्ध समुदायका अगुवा र स्थानीयवासीहरूको सहभागिता रहेको थियो । मधेश प्रदेशकै एक ऐतिहासिक र सांस्कृतिक दृष्टिले गोल्मा राजा बुद्ध बिहार लाई महत्त्वपूर्ण स्थल मानिँदै आएको स्थानिय गोपाल घिमिरेले बताएका छन । यो क्षेत्र करिब ३ सय ५० वर्ष पुरानो सेन बंशिय राजाको दरबारसँग सम्बन्धित रहेको स्थानिय घिमिरेको भनाइ रहेको छ ।
पछिल्ला वर्षहरूमा बुद्ध बिहार परिसरमा धार्मिक संरचनाहरूको निर्माण र विस्तार कार्य भइरहेको छ । गत बर्ष मात्रै करिब २ करोड रुपैयाँ लागतमा बुद्धको विशाल मूर्ति स्थापना गरिएको छ भने सोही स्थानमा ७५ फिट अग्लो बौद्ध स्तूपा निर्माणको काम जारी रहेको घिमिरेले जानकारी दिए ।






