काठमाडौं । संगीतमा समर्पितहरूले घर परिवारसमेत बिर्सन्छन् । यस्तै एक समारोहमा चार दिनसम्म च्याब्रुङ बजाउँदा बजाउँदै श्रीमती, छोराछोरी नै बिर्सेपछि परिवारमा निम्तिएको समस्यामा केन्द्रित रहेर चलचित्र ‘जारी २’ (सङ् अफ च्याब्रुङ) निर्माण भएको छ । यही २१ कात्तिकबाट नेपालसहित विभिन्न देशमा रिलिज हुने चलचित्र ‘जारी २’को सोमबार ट्रेलर सार्वजनिक गरिएको छ ।
यस अघिको सफल चलचित्र ‘जारी’मा दाम्पत्य सम्बन्धको उतार चढाव प्रस्तुत गरिएको थियो । त्यसकै सिक्वेल ‘जारी २’मा नायकको च्याब्रुङ प्रतिको मोहले दाम्पत्य सम्बन्धमा निम्त्याएको समस्यालाई यसको ट्रेलरमा देखाइएको छ ।
२ मिनट ५२ सेकेन्डको ट्रेलर अनुसार अभिनेता दयाहाङ राईलाई ‘जारी २’मा च्याब्रुङ बादकको रूपमा प्रस्तुत भएका छन् । च्याब्रुङ प्रति उनको अथाह सम्बन्ध यसमा देखिन्छ । ‘जारी २’ ले छोरीको जन्मपछि दयाहाङ र उनको पत्नी बनेकी मिरुना मगरमा फेरि आउने फाटोलाई प्रस्तुत गरेको ट्रेलरबाट पनि जनाइएको छ । चलचित्रमा लिम्बु संस्कृति माथि अन्य समुदायबाट भएको सांस्कृतिक अतिक्रमण र त्यसलाई जोगाउन मुख्य नायकले गरेको संघर्ष पनि ट्रेलरमा प्रस्तुत छ । यो कुराले पनि ‘जारी’ जस्तै ‘जारी २’ पनि रैथाने संस्कृतिमा आधारित रहेको जनाउँछ ।
चलचित्रमा दयाहाङ, मिरुनासँगै विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहेको छ ।
उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित यो चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र प्रति अहिले सबैको ध्यान केन्द्रित भएको छ । किनकि चलचित्र ‘जारी’ले २०८० सालको ब्लक बस्टर चलचित्रको रेकर्ड राखेको थियो । सो वर्ष यो चलचित्रले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । गत ३ असोज संविधान दिवसको दिन रिलिजको तयारी गरिएको ‘जारी २’ त्यति बेलाको जेनजी पुस्ताको आन्दोलनका कारण प्रदर्शन स्थगित भएको थियो । अब भने यो चलचित्र २१ कात्तिकमै चलचित्र घरमा आउने निर्माण पक्षको भनाई छ ।






