व्यावसायिक सुन्तला खेतीमा जुट्दै भोजपुर पालुवाका किसान

भोजपुर ।भोजपुर नगरपालिका ६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एक पटक खेती विस्तार गरेपछि वषौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तला खेतीमा आकर्षित भएका हुन् ।

यो क्षेत्र अधिकांश किसानहरुले व्यावसायिक रुपमा सुन्तलाको खेती गर्दै आएको स्थानीय कृषक प्रदिप तामाङले बताए । हाल किसानहरुले पुराना बगानको संरक्षणसँगै नयाँ विरुवाहरु धमाधम विस्तार गरिरहेको उनको भनाइ छ ।

‘हाम्रो क्षेत्रका धेरै किसानहरुले व्यावसायिक रुपमा सुन्तला खेती गरिरहेका छन्’उनले भने,‘सुन्तलालाई एक पटक विस्तार गरेपछि सामन्य हेरचाह गरेपछि लामो समयसम्म आम्दानी लिन सकिन्छ । अन्य बालीको तुलनामा सुन्तलालाई बाँदरले कम भएकाले पनि किसानले सुन्तलाको व्यावसायिक खेती रोजेको देखिन्छ ।’

वडा कार्यालयले सुन्तला खेतीमा लाग्ने किसानलाई विरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उनको भनाइ छ । यहाँको भंगेरी तथा पालुवा सुख्खा क्षेत्र भएपनि वडाले सिंचाइको लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको उनले बताए । सिंचाईका लागि वडाले कुलो निर्माण, प्लाष्टिक पोखरी, पाएप वितरणलगायत काम गरिरहेको उनले जानकारी दिए ।

भोजपुर नगरपालिका ६ मा कृषि तथा फलफूल खेतीको लागि उपयुक्त भूगोल रहेकोले वडाले सुन्तलासँगै कृषि क्षेत्रको विकासमा जोड दिएको वडाध्यक्ष शैलेन्द्र कार्कीले बताए । यहाँ देखिएका कृषि क्षेत्रका समस्यालाई ध्यानमा राख्दै खेती विस्तारको लागि आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष कार्कीको भनाइ छ ।

खेती प्रणालीको लागि मुख्य रुपमा सिंचाईको समस्या रहेकाले वडाले सिंचाई कुलो निर्माण,प्लाष्टिक पोखरी निर्माण तथा किसानको आवश्यकताको आधारमा पाएप वितरण गर्दै आएको उनले बताए । मेहनत गरे यहाँ नै किसानले व्यावसायिक कृषि गरेर जीविकोपार्जन गर्ने वातावरण रहेको उनले जानकारी दिए ।

‘कृषि क्षेत्रको विकासका लागि हामीले विभिन्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ’वडाध्यक्ष कार्कीले भने,‘यो सदरमुकामसँग जोडिएको वडा हो । किसानले उत्पादन गरेका कृषि उपजको बेचविखनको लागि सहजता छ । किसानहरुलाई व्यावसायिक योजनाका आधारमा सहयोग गर्दै आएका छौँ । खास गरेर हामीले यहाँ माटो र भूगोल सुहाउँदो खेती प्रणालीमा ध्यान दिएका छौँ ।’

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

epaper

ताजा समाचार

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै