काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ ।
आफ्नो तेस्रो खेलमा आज नेपालले अमेरिकासँग ४ विकेटले पराजित भएको छ । प्रतिस्पर्धात्मक लक्ष्य दिए पनि बलरहरू अमेरिकाको बलियो ब्याटिङसामु निष्प्रभावी रहे ।
२ सय ७२ रनको लक्ष्य अमेरिकाले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । साइतेजा मुकमल्ला र मिलन्द कुमारले चौथो विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै अमेरिकाका लागि जितको बलियो आधार तयार पारेका थिए ।
साइतेजाले ७५ र मिलन्दले ७० रनको पारी खेलेका थिए । अन्तिम २ ओभरमा अमेरिकालाई जितका लागि १६ रनको आवश्यकता थियो । ४९औं ओभरमा नन्दनले २ छक्का र २ वाइडसहित १७ रन खर्चेपछि नेपाल पराजित भएको थियो । आजको खेलमा नेपालको फिल्डिङ पनि कमजोर रह्यो । सन्दीप लामिछानेको बलमा गुलशन झा र दीपेन्द्रसिंह ऐरीले क्याच छोड्नु नेपालका लागि महँगो सावित भयो ।
हर्मित सिंह १३ र शुभम रन्जने १९ रनमा अविजित रहे । नेपालका लागि सन्दीपले ३, करण केसी, नन्दन र गुलशन झाले समान १ विकेट लिए ।
त्यसअघि नेपालले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय ७१ रन जोड्यो । दुबईस्थित आईसीसी एकडेमीको मैदानमा अमेरिकाले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको थियो ।
नेपालका लागि मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ७५ रनको आक्रामक इनिङ खेल्दै नेपाललाई राम्रो स्कोरसम्म पु¥याएका थिए । ४६औं ओभरमा आउट हुनुअघि उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेल (४७), भीम सार्की (४३) र रोहित पौडेल (३६)ले राम्रो सुरुवात पाए पनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् । करणले तल्लोक्रममा आक्रामक इनिङ खेलेपछि नेपालले २ सय ५० रनको आँकडा पार गरेको थियो । उनी अर्धशतकबाट १ रनले चुके ।
त्यसअघि नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएर खराब सुरुवात गरेको थियो । आसिफले पहिलो बलमा २ रन लिए पनि दोस्रो बलमा नोस्थस केंजिगेबाट बोल्ड भए ।
त्यसपछि कुशल र भीमले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । २०औं ओभरमा कुशल ठूलो सट खेल्ने धुनमा हर्मित सिंहको बलमा क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ६५ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए ।
त्यसको २ ओभरपछि नै भीम पनि हर्मितकै सिकार बने । ५८ बलमा ४ चौकासहित ४३ रनमा खेल्दा उनी बोल्ड हुन पुगेका थिए । आरिफ शेख पनि लामो समय क्रिजमा रहन सकेनन् । ८ बलमा २ रन जोड्दै उनी सौरभ नेत्रभलकरको बलमा क्याच आउट भए । उनी आउट हुँदा नेपाल ४ विकेटको क्षतिमा १ सय ६ रनको स्थितिमा पुगेको थियो ।
पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ८९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा ल्याए । ३५ रन जोडेका रोहितले ३८औं ओभरमा हर्मितको बलमा क्याच हुनुअघि ४६ बल खेल्दै २ चौका प्रहार गरे । गुलशन ११ बलमा ५ रन जोड्दै जस्दिप सिंहको बलमा क्याच आउट भए ।
तल्लोक्रममा करणले आक्रामक ब्याटिङ गरे । उनले ४९औं ओभरमा आउट हुनुअघि ३१ बलमा ४९ रन जोडे । करणले २ चौका र ३ छक्का प्रहार गरे । अन्तिम बलमा जस्दिपले वाइड फ्याँक्दा सिंगल रन लिने सुरमा ललित रनआउट हुँदा नेपाल १ बल बाँकी रहँदै अलआउट भएको थियो ।
अमेरिकाका लागि हर्मितले ३ विकेट लिँदा नोस्थस केंजिगे र सौरभ नेत्रभलकरले २–२ विकेट हात पारे । शुभम रन्जने र जस्दिप सिंहले १–१ विकेट लिए ।
अमेरिका जारी सिरिजको लगातार ३ खेलमा विजयी भयो । अंक तालिकामा नेपाल १२ अंकसहित सातौं तथा अमेरिका ३४ अंकसहित शीर्ष स्थानमा छ ।






