८ वर्षमा ३५ नेतालाई ‘मुख्यमन्त्री अवसर’

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री बनेका जितेन्द्रप्रसाद सोनलले प्रदेशसभा बैठकमार्फत राजीनामा घोषणा गरेका छन् । गत २९ असोजमा मुख्यमन्त्री नियुक्त भएका सोनलले प्रदेशसभामा विश्वासको मत नपाउने पक्का भएपछि राजीनामा घोषणा गरेका हुन् । सोनल नियुक्त भएको २५ दिनमै पद जाने पहिलो मुख्यमन्त्री बनेका छन् ।

२५ दिनमै गयो मधेशका मुख्यमन्त्रीको पद

यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले २८ दिनमै राजीनामा दिएका थिए । २८ पुस २०७९ मा नियुक्त भएका रावलले २६ माघमा राजीनामा दिएका थिए । त्यसपछि कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेशसभाको अघिल्लो कार्यकालमा जसपाका तर्फबाट लालबाबु राउतले ५ वर्ष नै मुख्यमन्त्री भएर इतिहास रचेका थिए । तर पछिल्लो कार्यकालमा चार जना मुख्यमन्त्री फेरिइसकेका छन् ।

प्रदेशसभामा बोल्न नपाएको भन्दै आफैँले आफैँलाई कालोमोसो दल्नेजस्ता रमाइला हर्कतपछि सोनलले पनि राजीनामा घोषणा गरेपछि अब मधेश सरकार कामचलाउ बनेको छ ।

माओवादी केन्द्रका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य रहवर अन्सारी र माला कर्णले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बैठकमा बताएलगत्तै सभामुखले माइक काटेको अभियोग लगाएका छन् । जसको विरोधमा अन्सारीले आफैँले आफूलाई कालोमोसो दलेका थिए । माओवादी केन्द्र (केन्द्रमा केही दिनअघि मात्र नेपाली कम्युनिस्ट पार्टी भएको) को संसदीय दलले सोनललाई मत नदिने संस्थागत निर्णय भने गरेको थिएन ।

पार्टी निर्णयबिनै मत नहाल्ने र अन्य दलका सांसदले पनि मत हाल्न नसक्ने बताएपछि सोनलले राजीनामा दिएका हुन् । ६ दलको समर्थनमा ५७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर मुख्यमन्त्री बनेका सोनललाई नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दललगायतका दलले विश्वासको मत नदिने बताएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सतीषकुमार सिंहले गत २८ असोजमा प्रदेशसभामा विश्वासको मत लिन डाकिएको बैठकमै राजीनामा घोषणा गरेपछि सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । २५ जेठ २०८२ मा नेकपा एमालेसहित ६ दलका ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा सिंह मुख्यमन्त्री बनेका थिए । जनमत पार्टीका तर्फबाट आकांक्षी देखिएका महेशप्रसाद यादवलाई पन्छाउँदै जनमतका अध्यक्ष सिके राउतले सिंहलाई मुख्यमन्त्री बनाएका थिए ।

जेनजी आन्दोलनको क्रममा जनमत अध्यक्ष राउतको निर्दे शनमा सिंहले गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए । तर आन्दोलन मत्थर भएपछि उनले राजीनामा नदिने घोषणा गरेपछि पार्टीले नै उनलाई सरकार छाड्न दबाब दियो । जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले २८ भदौमा प्रदेश प्रमुखलाई र ३१ भदौमा सभामुखलाई पत्र पठाउँदै आफ्नो दलबाट बनेका मुख्यमन्त्री सिंह र दुई मन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएपछि नेपाली कांग्रेसले पनि समर्थन फिर्ता लियो ।

लगत्तै नेकपा एमालेले पनि समर्थन फिर्ता लिएपछि उनले सदनमा मत माग्न डाकिएको बैठकमै राजीनामा घोषणा गरेका थिए । १ सय ७ सदस्य मधेश प्रदेशसभामा ५४ सिटको समर्थन जुटाउने मुख्यमन्त्री बन्छन् ।

८ वर्षमा ३५ मुख्यमन्त्री
२०७४ सालमा नेपालको संविधान जारी भएपछि संविधानअनुसार पहिलोपटक २०७४ मा प्रदेशसभाको निर्वाचन भयो । संघीयता कार्यान्वयन भएपछि प्रदेशसभा गठन भई मुख्यमन्त्रीको नेतृत्वमा प्रदेश सरकार बन्ने परिपाटी सुरुवात भयो ।

प्रदेश संरचना कार्यान्वयनमा आएको ८ वर्ष नपुग्दै प्रदेश सरकारहरू पनि मुख्यमन्त्री र मन्त्री उत्पादनको कारखाना जस्ता बनेका छन् । संघमा राजनीतिक दलहरू जुट्दा र फुट्दा मात्र होइन संघीय सरकारमा दलहरूको गठबन्धन र समीकरण बदलिएपिच्छे प्रदेशमा सरकार फेरबदल हुने गरेको छ । जसका कारण यति छोटो अवधिमै प्रदेशहरू मुख्यमन्त्री जन्माउने कारखाना जस्ता बनेका छन् ।

प्रदेश सभाको पहिलो निर्वाचन भएयताका ७ प्रदेशमा ३५ जना मुख्यमन्त्री निर्वाचित भएका छन् । ४० पटक मुख्यमन्त्रीको निर्वाचन भएको छ । कोशीमा ९ मुख्यमन्त्री फेरिएका छन् । २०७४ फागुन २ मा शेरधन राई निर्वाचित भएदेखि हालसम्म ५ जना व्यक्ति र ८ जना मुख्यमन्त्री फेरिएका छन् । भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, हिक्मतकुमार कार्की, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री भएका छन् । हिक्मतकुमार कार्की ३ पटक र उद्धव थापा २ पटक मुख्यमन्त्री भएका हुन् । मधेश प्रदेशमा जितेन्द्र सोनलसहित ४ जना मुख्यमन्त्री भए ।

२ फागुन २०७४ मा लालबाबु राउत मुख्यमन्त्री निर्वाचित भएयता सरोजकुमार यादव र सतिशकुमार सिंह मुख्यमन्त्री भए । बागमतीमा अहिलेसम्म ६ जना मुख्यमन्त्री भएका छन् । २०७४ माघ २८ मा डोरमणि पौडेल मुख्यमन्त्री भएयता अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जमकट्टेल र बहादुरसिंह लामा मुख्यमन्त्री भएका छन् । हाल इन्द्रबहादुर बानियाँ छैटौँ मुख्यमन्त्रीको रूपमा रहेका छन् । गण्डकी प्रदेशमा हालसम्म ६ पटक मुख्यमन्त्री फेरिएका छन् ।

६ पटक हेरफेर हुँदा ४ जना मुख्यमन्त्री भएका छन् । २०७४ फागुन ४ मा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएयता कृष्णचन्द्र नेपाली पोखरेल, खगराज अधिकारी र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री भएका हुन् । अधिकारी २ पटक र पाण्डे २ पटक मुख्यमन्त्री निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशमा पनि हालसम्म ६ जना मुख्यमन्त्री भएका छन् । २०७४ फागुन ३ मा शंकर पोखरेल मुख्यमन्त्री भएयता कुलप्रसाद केसी ‘सोनाम’, लीला गिरी, डिल्लीबहादुर चौधरी, जोखबहादुर महरा र चेतप्रसाद आचार्य मुख्यमन्त्री भएका छन् ।

अहिले आचार्यले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म ४ जना मुख्यमन्त्री भएका छन् । ३ फागुन २०७४ मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएयता जीवनबहादुर शाही र राजकुमार शर्मा मुख्यमन्त्री भएका छन् । अहिले कर्णालीमा यामलाल कँडेल मुख्यमन्त्री छन् । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म ५ जना मुख्यमन्त्री भएका छन् । २०७४ फागुन ५ मा त्रिलोचन भट्ट पहिलो मुख्यमन्त्री निर्वाचित भएका थिए । त्यसयता राजेन्द्रसिंह रावल, कमलबहादुर शाह र दीर्घबहादुर सोडारी मुख्यमन्त्री भए । अहिले सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ