विपन्नलाई राहतस्वरुप रोजगारी

????????????????????????????????????

गुल्मी । लकडाउन भएपछि गाउँका धेरै युवा बेरोजगार छन् । बुटबल, काठमाडौ, भैरहवा लगायतका देशका विभिन्न सहर तथा विदेशबाट समेत गाउँ आएका छन् । गाउँमा खाद्य संकट बढ्ने चिन्ता छ । त्यसरी गाउँ आएका मानिसहरुलाई दीर्घकालसम्म रोजगार दिने स्थानीय सरकारको कुनै योजना छैन ।

अहिले गाउँदेखि सहरसम्म राहत वितरणको लहर चलेको छ । पहिलो चरणको राहत वितरण सकिसकेका स्थानीय तह दोस्रो चरणको राहत वितरणमा छन् । अधिकाशं स्थानीय तहले पुरानै शैलिमा दोस्रो चरणको राहत वितरण गरेपनि केही स्थानीय तहले भने फरक शैलीले दोस्रो चरणको राहत प्रदान गरेका छन् । जिल्लाको धुर्कोट, मालिका, मुसिकोट, रुरुक्षेत्र लगायतका स्थानीय तहमा दोस्रो चरणको राहतअन्तरगत नागरिकलाई खाद्यान्न वितरण नगरी रोजगार प्रदान गरिएको छ ।

घरखर्च चलाउन सहज
धुर्कोट गाउँपालिका ७ वाग्लाका ४८ बर्षिया गोपाल भण्डारीले लकडाउन हुनभन्दा पहिले गाउँमा मिटर रिडिङ गर्थे । लकडाउन भएपछि काम बन्द भएको छ । घरमा खाद्यान्न सकिन थालेको थियो । त्यही बेला गाउँपालिकाले पाँच दिनको लागि काम दियो । उनलाई केही सहज भएको छ । ‘मिटर रिडिङको काम बन्द भयो, आम्दानीको स्रोत छैन, खर्च बढ्दैछ ।’ उनले भने, ‘अलिगति भएपनि खर्च जोहो गर्न काम गर्न आएको हुँ ।’ सडक मर्मतको काममा खटिएका उनले दैनिक पाँच सयका दरले कुल दुई हजार पाँच सय प्राप्त गर्छन । उनले बेरोजगार नागरिकलाई कृषिमा रोजगार दिने कार्यक्रम स्थानीय तहले ल्याउनुपर्ने राखे ।

स्थानीय बसन्ता परियारका तीन छोरा र श्रीमान घरमा छन् । घरमा परम्परागत कृषि कार्य बाहेक आम्दानीको बाटो केही छैन । त्यसै बेला वाग्लामा दोस्रो चरणको राहतको लागि बेरोजगारको लागि फारम भर्ने सूचना खुल्यो । उनले फारम भरिन् । वडाका जनप्रतिनिधिले उनको नाम छनोट गरे । उनले वाग्ला चौताराको मोटर बाटो मर्मतको काम गरिन् । त्यो उनको आफैले पानी ल्याउने बाटो हो । यसरी स्थानीय तहले आफूहरुलाई केही दिनको भए पनि रोजगारी दिएकोमा खुशी लागेको बताइन् । ‘घरमा सबै खालि छौ, काम पनि पाइदैन, साहुले पत्याउन छोडे ।’ उनले भनिन्, ‘काम गरेको पैसाले घरमा आवश्यक खाद्यान्न सामग्री किन्ने योजना छ ।’ पाँच दिनसम्म काम गरी प्राप्त गर्ने दुई हजार पाँच सयले केही दिनको लागि आवश्यक खाद्य सामग्री पुग्ने उनले बताइन् । अर्की स्थानीय टुकी परियारले पनि नुन, तेल किन्ने, छोराछोरी पढाउने खर्च जोहो गर्ने उदेश्यले काममा आएको बताइन् । १२ बर्षदेखि श्रीमान रोजगारको लागि भारतमा छन् । श्रीमानको काम बन्द भएपछि आम्दानीको स्रोत छैन । त्यहिबेला वडाले काम दिएपछि खुसि भएकी छिन् ।

कामको अवधि बढाउन आग्रह
स्थानीय भोज बहादुर परियारले कामको अवधिलाई बढाइदिन वडाका जनप्रतिनिधिसँग आग्रह गरे । ‘राहतस्वरुप खाद्यान्नभन्दा रोजगार नै ठिक लाग्यो ।’ उनले भने, ‘यो अवधिलाई बढाइदिनुपर्छ ।’ यदि समय बढाएको खण्डमा आफु काम गर्न तयार रहेको उनले बताए । ‘आम्दानीका अन्य स्रोत छैनन्, खर्च धेरै छ, काम बढाइदिए गर्न तयार थिए ।’ उनले भने । गाउँपालिकाको वडा नम्बर ७ वाग्लामा कुल १८० जना कामदार छनोट गरिएको छ । उनीहरुले दैनिक पाँच सयका दरले कुल दुई हजार पाँच सय प्राप्त गर्नेछन् । छनोट भएका कामदारहरुलाई पाँच÷पाँच जनाको समुहमा विभाजन गरी काममा खटाइएको छ । उनीहरुले वडाभित्रको मुख्य तथा शाखा मोटरबाटो र गोरेटोबाटो मर्मत गरेका छन् । ‘अघिल्लो चरणमा चामल, दाल, नुन, तेल, साबुन लगायतका सामग्री वितरण गरेका हौँ ।’ वडाध्यक्ष हिमप्रसाद पन्थीले भने, ‘गाउँकार्यपालिकाको बैठकबाट नै खाद्यान्नको सट्टा काम दिने निर्णय गरेका हौँ ।’ गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकमा पनि १२५ जनाले काम पाएका छन् ।

मालिकामा कामबापत खाद्यान्न
मालिका गाउँपालिकाले कुल दुई हजार ७८० जनालाई रोजगारी दिएको छ । उनीहरुलाई १०÷१० जनाको समुह बनाएर तीन दिनको रोजगारी दिइएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । छनोट भएका श्रमिकहरुलाई पोखरी, खानेपानी, पधेँरो, सडक लगायतका क्षेत्रमा काम दिइएको छ । यसरी काम गरेबापत प्रति श्रमिक ३० किलो चामल, तीन किलो दाल, एक नुन र एक लिटर तेल प्रदान गरिनेछ । ‘सिधै नगद दिदा मदिरा सेवन गरी परिवारका सदस्य खाद्यान्नबाट बञ्चित हुदाँरहेछन् ।’ गिरीले भने, ‘कामबापत खाद्यान्न दिएपछि कालोबजारी पनि न्यूनिकरण हुन्छ ।’ त्यसका साथै उनले गाउँमा खाद्यान्न नपाइने समस्यालाई पनि यसले सहयोग गर्ने धारणा राखे ।

रुरुक्षेत्रमा पाँचसय श्रमिक
रुरुक्षेत्र गाउँपालिकाले पाँच सय भन्दा बढीलाई रोजगारी दिने भएको छ । उनीहरुलाई पानी घट्ट, सडक लगायतका क्षेत्रमा रोजगार प्रदान गरिने गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले जानकारी दिए । त्यसरी नियुक्त गरिएका श्रमिक शुक्रबारबाट काममा खटिदैछन् । उनीहरुले दैनिक पाँच सयका दरले ज्याला पाउने गौतमले बताए । ‘गाउँका अधिकाशं सडक बिग्रिएका छन्, त्यसैले धेरै श्रमिकलाई सडकमा लगाउने हो ।’ उनले भने ।

मुसिकोटमा लेन्थवर्कर नियुक्त
मुसिकोट नगरपालिकाले लकडाउनलाई मध्यनजर गर्दै ९० जना लेन्थवर्कर नियुक्त गरेको छ । वैशाख १६ गतेदेखि नियुक्त गरिएका श्रमिकले कार्तिकसम्म काम गर्नेछन् । उनीहरुको मासिक १३ हजार पाँचसय ज्याला तोकिएको छ । नगरपालिकाले नगरपालिकाभित्र फलफुल र कफि लगाउने योजना बनाएको छ । सहकारीमार्फत् काम भएपनि नगरपालिकाले कृषि श्रमिक नियुक्त गरेको छ । यसरी नियुक्त भएका कृषि श्रमिकलाई बोटविरुवा लगाउन तयार गरिएको प्रति खाडल ६० रुपँैयाका दरले रकम प्रदान गरिने व्यवस्था मिलाइएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । यसरी काम दिदाँ एकजना श्रमिकले दिनमा १७ वटासम्म खाडल खनेको र दैनिक एक हजार सम्म आम्दानी गरेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, त्यसपछि दोलखा