निर्यातले इतिहास रच्दा पनि व्यापार घाटा अझै ५ खर्बमाथि

काठमाडौं । साउनदेखि कात्तिकसम्मको पहिलो चार महिनामा नेपालले गरेको वैदेशिक व्यापार २४ दशमलव १८ प्रतिशतले बढेर ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार कुल व्यापार गतिविधि विस्तार भए पनि आयातप्रधान संरचना, पेट्रोलियम पदार्थमा निर्भरता, उच्च व्यापार घाटा र अस्थिर निर्यात संरचनाजस्ता चुनौती यथावत् रहेको देखाएको छ ।

वैदेशिक व्यापारमा २४ प्रतिशतले वृद्धि

चालू आर्थिक वर्ष २०८२–८३ को साउनदेखि कात्तिकसम्मका पहिलो चार महिनामा नेपालले ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँबराबरको सामान आयात गरेको भन्सार विभागको विवरणले देखाएको छ । कुल आयात रकमसँगै सरकारले समान अवधिमा १ खर्ब ५७ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्यांकले देशको व्यापार संरचना अझै पनि इन्धन, कच्चा तेल र उपभोग्य वस्तुको आयातमा अत्यधिक निर्भर रहेको स्पष्ट संकेत गरेको छ ।

आस जगाउने निर्यात
चालू आव २०८२–८३ को पहिलो चार महिनामा नेपालबाट ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा ७७ दशमलव ५१ प्रतिशतले बढी हो । निर्यातमा देखिएको यो उछाल पछिल्ला वर्षमै सबैभन्दा उल्लेख्य मानिन्छ ।

भन्सार विभागका अनुसार फलाम तथा फलामजन्य वस्तु ४५ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको छ । यसैगरी, तेल तथा घिउजन्य वस्तु ४४ अर्ब ७० करोड रुपैयाँको निर्यात भएको छ । यस्तै, विभिन्न प्रकारका धागो ९ अर्ब ९३ करोड रुपैयाँको, चिया–कफी तथा मसला ५ अर्ब ९१ करोड रुपैयाँको र कार्पेट ३ अर्ब ६० करोड रुपैयाँको निर्यात भएको छ ।

निर्यात संरचनामा अहिलेसम्म पनि खाद्य तेल, फलामका सामग्री र प्राथमिक वस्तु नै हावी छन् । उद्योगमा आधारित उच्च–मूल्यका निर्यात उत्पादनहरू अझै न्यून देखिन्छन् ।

आयात १८ दशमलव ७१ प्रतिशत बढ्यो
चार महिनामा नेपालले ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँबराबरको सामान आयात गरेको छ । अघिल्लो वर्षको ५ खर्ब १३ अर्ब रुपैयाँको तुलनामा आयात १८ दशमलव ७१ प्रतिशतले बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार डिजेल मात्रै ३१ अर्ब ८९ करोड १५ लाख रुपैयाँको आयात भएको छ । कच्चा सोयाबिन तेल ३७ अर्ब ९६ करोड ४२ लाख रुपैयाँको आयात भएको छ । त्यस्तै, पेट्रोल २२ अर्ब ३७ करोड रुपैयाँको आयात भएको छ ।

एलपी ग्यास भने १८ अर्ब ८ करोड ३६ लाख रुपैयाँको आयात भएको छ । मोबाइल फोन मात्रै १६ अर्ब १५ करोड रुपैयाँको ९ लाख ४३ हजार ८ सय २६ थान आयात भएको छ ।

साउनदेखि कात्तिकसम्म सुन १५ अर्ब ७२ करोड रुपैयाँको आयात भएको छ । साउन, भदौ र असोजमा लगातार बढेको आयात कात्तिक महिनामा भने खुम्चिएर १ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको छ । यसले आयात चक्रमा अल्पकालीन नियन्त्रण देखाए पनि समग्रमा चार महिनाको वृद्धि दर भने उच्च नै छ ।

व्यापार घाटा अझै ५ खर्ब १५ अर्ब
निर्यातमा ठूलो सुधार भए पनि आयात अत्यधिक रहेकै कारण व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तै अवधिमा घाटा ४ खर्ब ६० अर्ब थियो । यस वर्ष घाटा ११ दशमलव ९९ प्रतिशतले बढेको छ ।

नेपालको निर्यात बढे पनि कुल आयातको आकार ठूलो भएकाले व्यापार असन्तुलन दीर्घकालीन चुनौतीका रूपमा छ । नेपालको चालू आवको चार महिनाको व्यापार तथ्यांकले एकातिर निर्यातको ऐतिहासिक उछाल र व्यापार संरचनाको सुधार भएको छ भने अर्कोतिर आयातको स्थायी उच्चता, पेट्रोलियममा निर्भरता र बढ्दो व्यापार घाटा देखाउँछ ।

यदि, निर्यात संरचना विविधिकरण, ऊर्जामा आत्मनिर्भरता र उद्योगमा मूल्यवर्धन विस्तार गर्न सकिएन भने, यी प्रगति अस्थायी बन्ने जोखिम रहन्छ । तर, हाल देखिएको सुधारलाई रणनीतिक किसिमले निरन्तरता दिनसकियो भने आगामी वर्षमा व्यापार असन्तुलन घट्दै जाने संकेत पनि यस तथ्यांकले दिन्छ ।

सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा यस वर्ष पनि कच्चा सोयाबिन तेल शीर्ष स्थानमा रहेको छ । चार महिनामा नेपालले २ सय ४८ करोड लिटरभन्दा बढी कच्चा सोयाबिन तेल आयात गर्दै ३७ अर्ब ९६ करोड रुपैयाँ खर्च गरेको छ । कच्चा तेल आयातको यो निरन्तर वृद्धिले तेल उद्योगहरूको निर्भरता उच्च नै रहेको प्रमाणित गर्छ । यसै अवधिमा पेट्रोलियमजन्य वस्तुको आयात पनि उच्च स्तरमै देखिएको छ ।

साउनदेखि कात्तिकसम्ममा नेपालले ३१ अर्ब ८९ करोड रुपैयाँबराबरको डिजेल आयात गरेको छ भने २२ अर्ब ३७ करोड रुपैयाँबराबरको पेट्रोल भिœयाएको छ । एलपी ग्यासको आयात पनि महँगो सूचीकृत छ, जसको आयात मूल्य चार महिनामा १८ अर्ब ८ करोड रुपैयाँ पुगेको विभागको तथ्यांकले देखाउँछ । ऊर्जा क्षेत्रमा वैकल्पिक स्रोत विकास हुन नसक्दा नेपाल इन्धन आयातमै अत्यधिक निर्भर रहनुपरेको आर्थिक विश्लेषकहरू बताउँछन् ।

उद्योग र निर्माण क्षेत्रमा प्रयोग हुने फलामजन्य सामग्रीको आयात पनि उल्लेखनीय रहेको छ । चार महिनामा ४० करोड ६२ लाख किलोग्रामभन्दा बढी फलामजन्य सामग्री आयात गरिएको छ, जसको मूल्य १७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । निर्माण तथा उद्योगमा कच्चा पदार्थको आयात वृद्धि आर्थिक गतिविधि बढेको संकेत हो तर यसले विदेशी मुद्रा बाहिरिने परिमाण बढाउने चिन्ता पनि देखाउँछ ।

मोबाइल खरिदमा बिदेसियो १६ अर्ब १५ करोड
उपभोग्य तथा लक्जरी वस्तुमध्ये मोबाइल फोन आयात निरन्तर बढ्दो अवस्थामा छ । चालू आवको पहिलो चार महिनामा मात्र ९ लाख ४८ हजार थान मोबाइल फोन आयात भएका छन् । यसका लागि नेपालले १६ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको विभागले जनाएको छ । मोबाइल फोनको यस्तो उच्च आयातले उपभोग बढेको संकेत दिए पनि विदेशी मुद्रा व्यवस्थापनमा दबाब बढ्ने विश्लेषकहरूको टिप्पणी छ ।

त्यस्तै, सुनको आयात पनि उल्लेखनीय रह्यो । चार महिनामा १५ लाख ७७ हजार ग्राम सुन आयात भएको छ, जसको मूल्य १५ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी पुगेको छ । चाँदीको आयात पनि ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी रहेको छ, जसले लगानी र उपभोग दुवै क्षेत्रमा सुन–चाँदीको आकर्षण कायम रहेकाले देखाएको छ ।

नेपालले कृषि क्षेत्रमा उत्पादकता बढाउन नसक्दा मल आयातमा निर्भरता यथावत् रहँदै आएको छ । यद्यपि, यस वर्षको पहिलो चार महिनामा डाई अमोनियम फस्फेट मल १९ लाख ४९ हजार मेट्रिक टनभन्दा बढी आयात गर्दै नेपालले १७ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ । कृषि क्षेत्रको उत्पादन विस्तारका लागि मल आयात महत्वपूर्ण मानिए पनि दीर्घकालीन रूपमा स्वदेशी उत्पादन बढाउने नीति अभावमा वार्षिक रूपमा ठूलो परिमाणको विदेशी मुद्रा मल आयातमै खर्चिएको देखिन्छ ।

उद्योगमा प्रयोग हुने कच्चा पदार्थ, मोटरसाइकलका पार्टपुर्जा, कोइला, कच्चा सूर्यमुखी फूलको तेल र विद्युतीय सवारीसाधनको आयात पनि यस अवधिमा उल्लेखनीय रहेको छ । ५१ किलोवाटदेखि सय किलोवाट क्षमताका इलेक्ट्रिक जिप, कार र भ्यान ४ हजार ७ सय ६९ थानभन्दा बढी आयात हुँदा ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांकले देखाउँछ । यसलाई वैकल्पिक ऊर्जामा आधारित सवारी प्रयोगको सकारात्मक संकेत मानिए पनि समग्र इन्धन आयात घटाउने दिशामा अझै प्रभावकारी असर नदेखिएको विशेषज्ञहरू बताउँछन् ।

चार महिनाको समग्र विवरणले नेपालले अधिकांश आवश्यक कच्चा पदार्थ, इन्धन, उपभोग्य वस्तु तथा औद्योगिक सामान आयातमै निर्भर रहनुपरेको स्पष्ट देखाएको छ । निर्यात वृद्धि भए पनि आयातको परिमाण अत्यधिक भएका कारणले व्यापार घाटा भने उच्च नै रहँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)