पुराना बोतलमा नयाँ रक्सी, राजश्व छलीको बेग्लै खेल

वीरगन्ज । गएको भदौ ६ गतेबाट वीरगन्जमा हैजाको प्रकोप बढ्यो । खाने पानीबाट हैजाका जिवाणु मानिसको शरीरसम्म पुगेको आशंका गरियो । तर त्यो कारण अझै सावित हुन सकेको छैन । हैजा फैलिने विभिन्न कारण बुझ्ने प्रयास भने प्रदेश र केन्द्र सरकार मातहतका स्वास्थ्य क्षेत्रका विज्ञहरुबाट भयो । तथापि त्यसको निस्कर्षमा कुनै विज्ञ वा निकाय पुग्न सकेको छैन ।

नेपालमा सयौं पटकसम्म निर्वाध प्रयोग भएका बियर तथा मदिराका बोतल खाद्य सुरक्षाका दृष्टिकोणले पुनः प्रयोग गर्न नहुने भनिएको छ । तर मदिरा र बियरका बोतल सयौं पटक प्रयोग हुँदा हैजा लगायत सर्ने र नसर्ने रोगका जिवाणु मानिससम्म आइपुगेको तर्फ कसैको ध्यान जान सकेको छैन । ‘कलरफुल’ बोत्तल प्रयोगका लागि कति उपयुक्त छन् ? भन्ने राज्यका कुनै निकाय भन्न चाहँदैनन् । ती बोतलमा मदिरा वा बियर प्याक गर्दा कसरी परिक्षण हुन्छ ? यो अहिलेसम्म राज्यका जिम्मेवार निकायले ध्यान दिएकै छै्रन ।

बियर र मदिराका पुनः प्रयोग गरिएका बोतलबाट उत्पादनक कम्पनीलाई २५ देखि २७ रुपैयासम्म फाइदा हुने र उपभोक्ता त्यति नै रुपैया हरेक बोत्तलमा महँगो पर्दै आएको छ । अर्को तर्फ राज्यलाई पनि पुराना बोतल प्रयोग हुँदा विभिन्न साइजका बोत्तलमा ८ रुपैया ७८ पैसादेखि १३ रुपैया ९२ पैसासम्म राजश्व गुमिरहेको तथ्य फेला परेको छ । तर विगतका सरकार संचालक र नियम कानून बनाउनेले खाली बोतलका सप्लायर्स, मदिरा उत्पादक कम्पनीहरुसँग मासिक अवैध नजराना बुझ्ने कारण यता खासै कानून प्रष्ट नआउने गरेको पाइएको छ ।

जेनजी सरकार पनि हेरेको–हेरेकै
राजश्व तथा सेवाग्राही ठग्ने चक्रव्यूहमा जेनजी आन्दोलनका बलमा बनेको भनिएको जनताको सरकार पनि पुराना बोतलमा नयाँ रक्सी प्याक गर्ने बिषयमा भने ज्यूँका–त्यूँ रहेको जानकारहरुको आरोप छ । हुन त मदिरामा मदहोस हुन पाइएकै कारण राज्य संयन्त्रका जिम्मेवार व्यक्ति पनि पुराना बोतलमा नयाँ रक्सी भरिएकै सेवन गर्न पाएपछि विभिन्न रोगको संक्रमण फैलिने कुरामा नियमन गर्ने तर्फ चुप रहेको हुन सक्ने धेरैको आशंका छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र मातहतका कार्यालयहरुले ऐन बनेर आए पनि नियमावली नआएको कारण आफूहरुले डिष्टिलरी र ब्रुअरीले गलत गरे पनि कार्वाही गर्न नसकेको दावी गरेका छन् ।

स्वास्थ्यका दृष्टिकोणले पुराना बोतल प्रयोग गलत
ठिकसँग सफा नभएका पुराना बोत्तलमा मदिरा वा बियर प्याक भई मदिरा पारखीले त्यस्तो मदिरा खाँदा त्यसबाट सर्ने र नसर्ने रोगका जिवाणु सीधा मानिसको शरीरसम्म पुगेको हुन सक्ने पर्साका स्वास्थ्यकर्मीहरुको पनि आशंका सुनाए । खाद्य सुरक्षा मञ्चमा आबद्ध अधिकारकर्मीले पनि यो कुरामा सहमत जनाएका छन् । वीरगन्जमा फैलिएको हैजाका पछाडी यो सम्भावना पनि नरहने भन्ने हुन्न उनीहरुले भने । ९० प्रतिशत जति रक्सी पुराना बोतलमा नै प्याक हुनु राम्रो संकेत नभएको’ खाद्य सुरक्षा मञ्चमा आबद्ध अधिकारकर्मीको दावी छ ।

नीति तथा प्रावधानमा उल्लेख भए पनि मदिरा र बियरका पुराना बोतल नेपालमा भने नफुटेसम्म निर्वाध प्रयोग भइरहेको तथ्य छ । स्वास्थ्यका दृष्टिकोणले यो गलत रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमबाबु महर्जनको पनि दावी छ । यदि यसको कारणबाट हैजालगायतका रोगहरु फैलिनै नसक्ने भन्ने हुँदैन उनले पनि तर्क गरे । सरकार, सप्लायर्स कम्पनी वा ब्रुअरी र डिष्टिलरी कम्पनी मध्ये कसले यस्को जिम्मा लिने ? उनले प्रश्न गरे ।

एउटै कार्यालयको अलग तथ्याँक
मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाट गएको आर्थिक वर्ष कुल ६५ लाख ८६ हजार १ सय ४० थान मदिरा तथा बियरका खाली बोतल आयात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवालीले बताए । विगत तीन वर्षको तथ्याँक नै झन चित्तबुझ्दो नभएको वीरगन्ज भन्सारको पनि तर्क छ ।

वीरगन्ज भन्सारका अघिल्ला प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले झन वीरगन्ज नाकाबाट गएको आर्थिक वर्ष मदिरा र बियरका जम्मा ३६ लाख १६ हजार २ सय ९६ थान मात्र नयाँ बोत्तल आयात गरेको तथ्याँक उपलब्ध गराएका थिए । हाकिम अनुसार कार्यालयको तथ्याँक पनि फरक भेटिनु र पुराना बोतल तर्फ मदिरा तथा बियर उत्पादक कम्पनीहरुले मरिहत्ते गर्नु रहस्य अझ गहिरिएको पाइन्छ ।

पुराना बोतल प्रयोग गर्दा तीन दशक यताको कारोबारलाई हेर्ने हो भने पनि नेपाल सरकारको करिब ८४ अर्ब जति राजश्व गुमेको हुन सक्ने पुराना बोत्तल सप्लायर्समध्ये जानकार एक सप्लायर्सले आफै बताए । तर उनले नाम उल्लेख गर्न भने मानेनन् ।

बोतलको लागत र राज्यलाई ठगी
‘नयाँ बोतल खरिद गर्दा प्रति पिस ३० देखि ३५ रुपैयासम्म पर्छ, । तर बियर र मदिरा उत्पादक कम्पनीलाई पुराना बोतल उपलब्ध गराउँदा ४ देखि ६ रुपैया मात्र पर्ने गरेको खुलेको छ । यसो गर्दा बोतलमा २७–२९ रुपैयासम्म प्रति बोतलमा उत्पादक कम्पनीलाई फाइदा हुने गरेको पनि खुलेको छ । राज्यलाई भने नयाँ बोतल खरिद गर्दा आउने राजश्वको निकै ठूलो हिस्सा गुमेको पाइएको छ ।

रि–युज बोतल मुख्य सप्लायर्स एक जना वाहेक सबै भारतीय नागरिक रहेको पनि कारोवारीहरुले नै खुलासा गरे । नेपालमा मुख्य सप्लायर्सले पुराना बोतल सप्लाई गर्ने अन्यलाई त्यहाँ प्रवेश नै गर्न नदिने चक्र चलाएको पनि अर्को रहस्य लुकेको भेटिएको छ । उत्पादक कम्पनी र पुराना बोतल सप्लायर्सको अदृष्य आम्दानीले राज्यको नियम कानून बनाउने व्यक्ति र निकाय समेत गुमनाम रहेको आरोप मदिरा सप्लायर्सहरुले पनि दावी गरे । नयाँ बोतलमा जोड गर्नु पर्ने निकाय र राजश्व विभाग समेत मुखदर्शक बस्नु दालमा काला रहेको उनीहरुको तर्क छ । हामी जाबो डिलरले कस्लाई भन्ने ? उनीहरुले भने । मदिरा र बियर पारखीको स्वास्थ्य विग्रिनुको साथै समय समयमा सर्ने र नसर्ने रोगको प्रकोप पनि मदिरा र बियरबाट नहोला भन्न नसकिने तर्क उनीहरुको पनि छ ।

अर्को कम्पनीको नाम मेटाएर पनि प्रयोग
पुराना बोतल मात्र नभई रौतहटको ओम ब्रुअरी प्रा.लि.ले जस्तो अर्को कम्पनीका बोतलको नाम मेटाएर पुरानै बोत्तल प्रयोग गर्दासम्म राजश्व विभाग, राजश्व कार्यालयहरु र राजश्व अनुसन्धानका निकाय तथा त्यसका जिम्मेवार व्यक्ति चुप बस्नु आश्चर्य भएको मदिरा व्यवसायीकै आरोप छ । कुनै पनि निकायले यता ध्यान नदिनु गम्भिर लापर्वाही भएको मदिरा तथा बियरका केही डिलर संचालकको पनि तर्क छ ।

नेपालका चर्चित मदिरा तथा बियर उत्पादक कम्पनी
गोर्खा ब्रुअरी प्रा.लि, यति ब्रुअरी प्रा.लि., याक ब्रुअरी प्रा.लि., टाईगर ब्रुअरी प्रा.लि., सि जी बु्रअरी प्रा.लि., एभरेष्ट बु्रअरी प्रा.लि. र ओम ब्रुअरी प्रा.लि.लगायत २० भन्दा बढि ब्रुअरी कम्पनी छन् । मुलुकको प्रमुख भन्सारको नयाँ बोतलको तथ्याँकलाई नियाल्ने हो भने अधिकांशले ९० प्रतिशत बोतल पुरानो नै चलाउने गरेको तथ्य देखिन्छ । तर उक्त कम्पनीहरु यस बिषयमा कुरा गर्न पनि तर्किने गरेको भेटिएको छ । मुस्किलले केही कम्पनीका जिम्मेवार व्यक्तिले मात्र यो बिषयमा अल्पअल्प बताए ।

मदिरा उत्पादन गर्ने डिष्टिलरी कम्पनीहरुमा पनि हिमालयन डिष्टिलरी प्रा.लि., अभिनास डिष्टिलरी प्रा.लि., त्रिजुगा डिष्टिलरी प्रा.लि., यति डिष्टिलरी प्रा.लि., एशियन डिष्टिलरी प्रा.लि. लगायत ५० जति डिष्टिलरी कम्पनीहरुले पनि पुरानै बोतलमा नयाँ रक्सी भर्ने गरेको नयाँ बोतल आयातको तथ्याँकले पुष्टि गरेको छ ।

पुराना बोतल मुख्य सप्लायर्स
कवाडको काम गर्ने भनी नजानिदो तरिकाले बियर र रक्सी उत्पादक कम्पनीलाई पुराना बोतल सप्लाई गर्ने नेपालमा मुख्य ६ वटा सप्लायर्स रहेको भेटिएको छ । ’em मध्ये रामकेवल गुप्ताको ओम श्री सप्लायर्स, मनोहर जयसवालको शिव ट्रेडर्स, अमित जयसवालको शिव शिवालय बोतल सप्लायर्स, संजय जयसवालको सिपी ट्रेडर्स, नवल जयसवालको पशुपति ट्रेडर्स र लक्ष्मण रामको श्रीराम ट्रेडर्स छन् । यिनीहरु मध्ये रामकेवल गुप्तावाहेक अरु सप्लायर्स साविक भारत पूर्वि चम्पारण मोतिहारी जिल्ला पर्चिल्वा गाउँबाट यता आई कवाडको काम गर्दै आएको कवाडकै काम गर्ने वीरगन्जका एक पुराना व्यवसायीको भनाइ छ ।

आन्तरिक राजश्व कार्यालय वीरगन्जबाट दुई वटा कम्पनीले बार्षिक खरिद गरेको स्टिकर ६ लाख ५९ हजार १ सय ३१ केश रहेको पाइएको छ । कुल ३ अर्ब ५४ करोड १ लाख ५२ हजार ६ सय ७४ रुपैया बराबरको स्टिकर संख्यात्मक हिसाबले लाखौं बोत्तलको लागि भएको आन्तरिक राजश्व कार्यालयले पनि स्वीकार गरेको छ । दुईटा मात्र कम्पनीले लाखौं बोतल वार्षिक उत्पादन गर्ने सरकारी तथ्याँक छ । तर खाद्य सुरक्षा तर्फ सरकारी उदासिनता प्रमुख रहेको पाइएको हो ।

आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडाले पुराना बोत्तल पुनः प्रयोगले नयाँ बोतल किन्दा मुलुकबाट बाहिरिने केही रकम रोकिएको भनी खाद्य सुरक्षाको मजाक उडाउने जवाफ दिएका छन् । पुराना बोतलको प्रयोग गर्दा प्रति बोतल २८ रुपैया कम्पनीलाई फाइदा हुँदा पनि ग्राहकले भने नयाँ बोतलकै दाम बर्षौं तिर्दै आएको र भन्सारको राजश्व चुहावटतर्फ भने कसैको ध्यान नपुगेको पनि खुलेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

कालोपट्टी बाँधेर सिंहदरवार गेटअगाडि मिरज ढुंगाना समूहको प्रदर्शन