भगवती कम्पोजिट इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिजले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको २० प्रतिशतले हुने ६ लाख ४४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न लागेको हो ।

यसका लागि कम्पनीले बुधबार नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेपाल लाइफ क्यापिटलको कमलपोखरीस्थित कार्यालयमा सम्पन्न कार्यक्रमबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिजका तर्फबाट अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य वस्तु उत्पादन गर्दै आएको छ । उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादन नेपाली बजारमा उपलब्ध गराउनु कम्पनीको उद्देश्य छ ।

अहिले कम्पनीले एसएमसी प्रणालीमा आधारित अत्याधुनिक कभरहरू, डब्लुपीसी उच्च घनत्वयुक्त होलो ढोका, पार्टेसन बोर्ड एवम् वाल क्याडिङ्ग, वाल प्यानल उत्पादन गर्दै आएको छ । फाइभर रिइन्फोर्सर्ड प्लाष्टिक टेक्नोलोजी अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड लगायतका फाइबर उत्पादन समेत कम्पनीले उत्पादन गर्दै आएको छ ।

त्यस्त्र, नेपाल लाइफ क्यापिटलले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमति प्राप्त गरेको छ । यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी हो ।

तपाइको प्रतिक्रिया
(Visited 29 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बरबीच सहकार्य हुने