कीर्तिपुर । बसिर अहमदको बिस्फोटक ब्याटिङको मद्दतमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले कर्णाली याक्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी छँदा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।

विराटनगरका लागि बसिर अहमदले ४३ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६२ रन बनाए । १९ दशमलव ४ ओभरसम्म १ सय ५७ रन भएको विराटनगरको जितका लागि ४ रन आवश्यक पर्दा १९ दशमलव ५ ओभरमा बसिरले छक्का प्रहार गर्दै जित आफ्नो पक्षमा पारे ।
विराटनगरका ओपनर जर्ज मुन्से शून्यमा आउट हुँदा लोकेश बम ६ रनमा पेभेलियन फर्किए । यसैगरी साम हेजलेट १६ रनमा सोमपाल कामीको बलमा आउट हुँदा सहिल पटेल २४ बलको सामना गर्दै १९ रन बनाएर आउट भए । सहिल गुल्सन झाको बलमा आउट भए । मार्चेन्ट दे लांगे २ रनमा आउट हुनपुगे भने २५ रन बनाएका नारायण जोशी नन्दन यादवको बलमा आउट भए । प्रतिश जिसी ६ रन बनाएर आउट भए । सन्दीप लामिछाने ६ रनमा नटआउट रहे ।
बलिङतर्फ कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले समान २–२ विकेट लिँदा पवन सर्राफ, विलियम बसिस्टो र नन्दन यादवले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ३ विकेट गुमाएर १ सय ६० रन बनाएको हो । कर्णालीका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३ रन बनाए । उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे । विलियम बसिस्टो अर्धशतकबाट २ रनले चुके । २० रन बनाएका गुलशन झा सन्दीप लामिछानेबाट क्याच आउट भए । यसैगरी, मार्क वाटले ६ रन बनाए भने विलियम बसिस्टोले ४८ रनको योगदान दिए । यस्तै, नजिबुल्लाह जर्दन १२ रनमा नटआउट रहे ।
बलिङतर्फ विराटनगरका लागि मार्चेन्ट दे लांगे र कप्तान सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।
काठमान्डु गोर्खाजको तेस्रो जित
जोन सिम्पसनको अर्धशतकको मद्दतमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले तेस्रो जित दर्ता गरेको छ ।
राजधानीमा जारी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा चितवन राइनोजलाई ५३ रनले हराउँदै काठमान्डुले तेस्रो जितका साथ प्लेअफमा स्थान बनाउने सभावना बढाउँदै लगेको छ ।
१ सय ४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको चितवन १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र ८९ रनमा समेटियो । चितवनका लागि रवि बोपरा र देव खनालले समान २१–२१ रन बनाउँदा सोहेल तन्विरले १८ रनको योगदान दिए । २३ बलको सामना गर्दै १ चौका र १ छक्का प्रहार गरेका बोपरा रसिद खानको बलमा इरामुसबाट क्याच आउट भए । १८ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका देव खनाल साहाब आलमको बलमा इरामुसबाटै क्याच आउट भए । अन्य ब्याटर सस्तैमा समेटिए । उनीहरूले दोहोरो अंकको स्कोर पनि गर्न सकेनन् ।
कमलसिंह ऐरी ९ रनमा, कुशल मल्ल ६ रनमा, डेविड मलान ७ रनमा, अर्जुन साउद २ रनमा तथा सैफ जैव १ रनमा आउट भए । यस्तै, ५ बलको सामना गरेका दीपक बोहरा करण केसीको बलमा साहब आलमबाट क्याच आउट भए । अर्का खेलाडी रञ्जीतकुमार शून्य रनमा पेभेलियन फर्किए ।
काठमाण्डुका लागि रसिद खानले ३ विकेट लिँदा करण केसी, मिलिन्द कुमार र साहव आलमले समान २–२ विकेट लिए । सन्तोष यादवको नाममा १ विकेट रह्यो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
काठमाण्डुका लागि जोन सिम्प्सनले सर्वाधिक ६० रन बनाए । २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका सिम्प्सन कमल ऐरीको बलमा सेफ जैबबाट क्याच भए । मिलिन्द कुमारले ४३ बलमा ५ चौकाको मद्दतले ३८ रन बनाए । उनी रवि बोपराको बलमा सिकार भए । यस्तै, बेन चार्लेसवोर्थ १३ बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
आदिल आलम ८ रनमा, रसिद खान र दीपेश कँडेल समान ६–६ रन, आकाश त्रिपाठी ४ रन तथा कप्तान करण केसी १ रनमा आउट भए । यस्तै, जेरार्ड एरासमस र सन्तोष यादव शून्यमा पेभेलियन फर्किए । दुवै सोहेल तन्विरको बलमा आउट भए ।
बलिङतर्फ चितवनका लागि सोहेल तन्विरले ४ विकेट लिँदा रञ्जीतकुमार र कमलसिंह ऐरीले समान २–२ विकेट लिए । यस्तै, रवि बोपराले एक विकेट लिए ।
सुदूरपश्चिम शीर्ष स्थानमा
एनपीएलको लिग तालिकामा सुदूरपश्चिम रोयल्स ४ खेलमा ८ अंक जोड्दै शीर्ष स्थानमा छ । समान ८ अंक जोडे पनि १ खेल बढी खेलेको विराटनगर किंग्स रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । काठमान्डु गोर्खाज ५ खेलमा ६ अंकसहित तेस्रो स्थानमा रहँदा चितवन राइनोज ४ खेलमा ४ अंकसहित चौथो स्थानमा । यसैगरी, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सले समान २–२ अंक जोडेका छन् । कर्णाली र लुम्बिनीले ४–४ खेल खेल्दा पोखराले एक खेल कम खेलेको छ । गत संस्करणको विजेता जनकपुर बोल्ट ३ खेलमा ३ वटै खेल हार्दै शून्य अंकसहित पुछारमा छ ।
आज दुई खेल
एनपीएलमा शनिबार (आज) पहिलो खेल साढे ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स तथा दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टबीच हुनेछ ।









