चिल्लो सडकले चम्कियोे ठाटीकाँध

दैलेख । कुनै समय धूलो–माटोले ढाकिएको ठाटीकाँध बजार आजभोलि एकदमै चिल्लो र फराकिलो देखिन थालेको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको यस बजारले पछिल्ला केही वर्षयता संघीयता र स्थानीय विकासको नमुना अनुभूति गराउँदै परिवर्तनको अनुभूति गराएको छ । संघीय समपूरक कार्यक्रम र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा आर्थिक वर्ष २०७९÷८० देखि अघि बढाइएको सडकको स्तरोन्नति कार्यसँगै अन्ततः कालोपत्रेसहित सम्पन्न भएको हो ।

सम्झौताअनुसार २०८२ असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि वर्षाका कारण काम रोकिँदा म्याद थपेर कात्तिक मसान्तमा परियोजना सम्पन्न गरिएको ठाटीकाँध गाउँपालिकाका इन्जिनियर पवन कार्कीले जानकारी दिए । उनका अनुसार ९ सय ५० मिटर लामो र ५ सेन्टिमिटर मोटाइको सडक अस्फाल्ट कन्क्रिट प्रविधिबाट कालोपत्रे गरिएको हो । भ्याटबाहेक ३ करोड ६० लाख रुपैयाँमा ज्वाला पञ्चकोशी जेभीसँग ठेक्का सम्झौता गरी यो सडक निर्माण भएको इन्जिनियर कार्कीले बताए ।

प्रहरी चौकी ठाटीकाँधदेखि अधिकारी थान नजिकसम्मको सडक कालोपत्रे कार्य सम्पन्न भएपछि बजारको स्वरूप तथा यातायात आवागमन निकै सहज भएको प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायले बताए । उनका अनुसार बजार क्षेत्रमा रहेको सडक अतिक्रमण खाली गराई दायाँ–बायाँ नालीसहित ८ मिटर चौडाइ कायम गरिएको हो ।

गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहीका अनुसार अब ठाटीकाँध बजार व्यवस्थित, आकर्षक र सेवामैत्री बन्दै गएको छ । ‘सडक साँघुरो हुँदा पहिले सवारी र यात्रु दुवैले सास्ती बेहोर्नुपथ्र्यो, अहिले बजारको सुन्दरता बढ्नुका साथै आवतजावतमा सहजता आएको छ,’ अध्यक्ष शाहीले भने ।

तर, परियोजनाप्रति स्थानीयले केही असन्तुष्टि पनि जनाएका छन् । ठाटीकाँध–२ का अगुवा कृपाराम थापाले भने, ‘बजेट धेरै हो, तर काम मापदण्डअनुसार हुन सकेन, ९ मिटर सडक बनाउने योजना थियो, ८ मिटरअनुसार बनाइयो, तर कतिपय स्थानमा ८ मिटर पनि पुगेको छैन ।’

उनका अनुसार ठाटीकाँध हुँदै कालिकोटको भत्तासम्म जोड्ने सडक भए पनि सो योजनाअनुसार अघि बढ्न नसक्दा त्यसतर्फको विकास अवरुद्ध भएको छ । ‘रामघाट हुँदै बजार पुग्ने सडक मानाकोट–लामामेला खण्डमा अझै ग्राभेल मात्रै छ, वर्षात्मा सवारी चल्नै सक्दैनन्,’ थापाले प्रश्न उठाए, ‘के बजार क्षेत्रभित्र मात्र कालोपत्रे भए पुग्ने हो ? अन्य बीचको ग्राभेल सडक कहिले कालोपत्रे हुने हो ?’

सडक कालोपत्रे भएपछि ठाटीकाँध बजारमा व्यापार गर्ने व्यवसायीहरू पनि निकै उत्साहित छन् । बजार क्षेत्र फराकिलो र व्यवस्थित बनेपछि ओहोरदोहोर सहज हुनुका साथै दैनिक व्यवसायमा पनि सुधार आएको उनीहरूको अनुभव छ । रावत पुस्तक पसल, ठाटीकाँधका व्यवसायी दिलबहादुर रावत (दिनेश)ले बजारको कालोपत्रेले निकै सहजता ल्याएको बताए । ‘पहिले दुईवटा सवारीसाधन ओहोरदोहोर गर्नै सक्दैनथे, बाटो साँघुरो अनि धुलाम्मे हुन्थ्यो,’ दिनेशले भने, ‘अहिले सररर गाडी गुड्छ, हामीजस्ता व्यवसायीसँग धूलो–धुवाँको झन्झट नभई सफा वातावरणमा व्यापार गर्न पाउनु ठूलो राहत हो ।’

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह