४७ दिनका १८ प्रयास
पहिलो बैठकः २८ असोज
दोस्रो बैठकः ३० असोज
तेस्रो बैठकः ३१ असोज
चौथो बैठकः १ कात्तिक (स्थगित)
पाँचांै बैठकः १० कात्तिक
छैटौं बैठकः १३ कात्तिक
सातौं बैठकः १६ कात्तिक
आठौं बैठकः १८ कात्तिक
नवौं बैठकः १९ कात्तिक
१०औं बैठकः २० कात्तिक
११औं बैठकः २१ कात्तिक
१२औं बैठकः २२ कात्तिक
१३औं बैठकः २६ कात्तिक
१४औं बैठकः २७ कात्तिक
१५औं बैठकः ६ मंसिर
१६औं बैठकः ११ मंसिर (स्थगित)
१७औं बैठकः १४ मंसिर (स्थगित)
१८औं बैठकः १५ मंसिर
काठमाडौं । जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल महाधिवेशनको तयारीमा छ । तेस्रो ठूलो दल विभिन्न दल र समूह मिलाएर पार्टी एकता अभियानमा छ । तर, लामो लोकतान्त्रिक इतिहास बोकेको नेपाली कांग्रेस भने महाविधेशन कहिले गर्ने ? भन्ने विषयमै ४७ दिनदेखि आन्तरिक विवादमा छ ।
४७ दिनमा १७ बैठक, १८औं बैठकले तोक्ला त महाधिवेशन ?
पार्टीको विशेष महाधिवेशन गर्ने कि नियमित ? २१ फागुनको निर्वाचनअघि कि पछि महाधिवेशन गर्ने भन्ने विवादमा फसेको कांग्रेस ४७ दिनसम्म निकास निकाल्न असफल छ । सोमबार (आज)का लागि सारिएको बैठकबाट भने मध्यमार्गी बाटो अपनाएर आगामी २६ देखि २९ पुसमा महाधिवेशन गर्ने ‘लगभग सहमति’ जुटेको दाबी गरिएको छ ।
यद्यपि, यसका लागि संस्थापन पक्षले विशेष महाधिवेशन माग्दै हस्ताक्षर गरेका महामन्त्रीद्वयले सो हस्ताक्षर फिर्ता लिएको घोषणा गर्नुपर्ने सर्त राखेको छ ।
यस सर्तमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुख खोलिनसकेका कारण संस्थापन पक्षको मध्यमार्गी प्रस्तावले मूर्त रूप लिनेमा भने अझै शंका छ । सोमबार बस्ने भनिएको बैठकबाट प्रस्तावित मिति पारित गरेर लामो समयदेखि जारी महाधिवेशन मिति विवाद टार्ने कोसिस भए पनि यो नै विवाद अन्त्यको अन्तिम शस्त्र बन्नेमा भने कांग्रेसकै नेताहरूमा शंका छ ।
कांग्रेसको भावी नेतृत्वमा वर्तमान महामन्त्री थापादेखि अधिकांश पूर्वमहामन्त्री तथा उपसभापतिहरूको दाबी छ । विधानका कारण सभापति शेरबहादुर देउवा अर्को कार्यकालका लागि दोहोरिन नपाउने भएपछि कांग्रेसमा स्वतः नेतृत्व हस्तान्तरण हुँदै छ ।
तर, नेताहरू र युवापुस्ताको मागअनुसार नेतृत्व पुस्तान्तरण भने असम्भवजस्तै देखिन थालेको र यसकै कारण पुसमा प्रस्तावित महाधिवेशन पनि नहुने नेताहरूको शंका छ ।
‘सभापति शेरबहादुर देउवाले चाहेका व्यक्ति सभापति हुने अवस्था नबनेसम्म प्रस्तावित मितिमा महाधिवेशन नहुन सक्छ, महाधिवेशन गर्ने कि नगर्ने भन्ने सबै हात अझै पनि देउवाकै कोर्टमा छ,’ कांग्रेसका एक जना पदाधिकारीले राजधानीसँग भने ।
जेनजी आन्दोलनपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि एउटा केन्द्रीय समिति बैठक पनि फेस गर्न नसकेको भनेर देउवा खड्कासँग पछिल्लो दिन असन्तुष्ट छन् ।
खड्काले गत ११ असोजमा २६ असोजका लागि केन्द्रीय समिति बैठक डाकेका थिए । तर, बैठकको मिति नआउँदै विज्ञप्तिमार्फत दुई दिन स्थगन गरेर २८ असोजमा पहिलो बैठक बस्यो । त्यो बैठक बसेयता कांग्रेसको १७औंपटक बैठक बसिसकेको छ । यसअघि बसेको बैठक (६ मंसिर)ले निर्वाचनमा सहभागी हुने निर्णय गरे पनि महाधिवेशन कहिले र कसरी गर्ने भन्ने निर्णय लिन सकेको छैन ।
४७ दिनसम्म बैठक चल्दा पनि महाधिवेशन मितिमा सबैलाई एकठाउँ ल्याउन नसकेकामा देउवा खड्काप्रति असन्तुष्ट छन् । खड्काबाट निकास निस्कन नसक्न देखेपछि आफैं सक्रिय भएर पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेका देउवाले मध्यमार्गी प्रस्तावसहित महाधिवेशनको मिति सोमबार (आज)को बैठकमा प्रस्ताव गर्न लागेका हुन् ।









