सिटी नेपालको राष्ट्रिय भेला वीरगन्जमा, विभिन्न नयाँ निर्णय

वीरगन्ज । जलवायु परिवर्तन, विपत् व्यवस्थापन र दीगो विकासका लागि उपलब्धीमूलक कार्यसम्पादन गर्न बनेको सिटी नेपाल राष्ट्रिय अध्याय (सिएनएनसी) को राष्ट्रिय भेला वीरगन्जमा भएको छ । नेपालमा २०८० भदौमा पहिलो पटक यसको राष्ट्रिय भेला भएको थियो । बिहिबार वीरगन्ज भएको भेला तेस्रो हो ।

स्थानीय सरकारहरुको यो संगठन एशिया प्यासिफिक रिजनको विभिन्न शहरहरुको एउठा संगठन पनि हो । नेपालका काठमाण्डौ, ललितपुर, वीरगन्ज, विराटनगर, तानसेन, भरतपुर लगायत विभिन्न १६ स्थानीय सरकार र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत अन्य ८ वटा सहायोगी संस्थाहरु यो संरचना आबद्ध रहेका छन् ।

स्थानीय सरकारले सम्पादन गर्ने कार्य अन्तर्गत जलवायु परिवर्तनले पार्ने असर, विपत् व्यवस्थापनमा सतर्कता र दीगो विकासका लागि यो संस्थाले स्तरीय कार्य सम्पादन गर्ने लक्ष्य सहित सिटीनेटको राष्ट्रिय अवधारणा नेपालमा पनि विकास भएको कार्यक्रममा सहभागीहरुले बताए । भुकम्पीय जोखिम, हिमपहिरो, बाडी, कटान लगायत विभिन्न विपत् जोखिमको चंगुलमा रहेकोले यस्ता विपतका घटनामा हुने धनजनको क्षतिलाई कम गर्न यसले सहकार्यात्मक गतिविधि गर्ने गरी एकाकार भएको बुझिएको छ । स्थानीय सरकारले सम्पादन गर्ने कार्यमा यो कुरालाई पालिका तथा नगरसभामा समेट्दै क्षति न्यूनिकरणमा भूमिका खेल्न र विपत् आउनु पूर्व त्यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ ? आइहाले त्यसपछि पनि कम क्षतिमा उपलब्धिमूलक कार्य कसरी बढि गर्न सकिन्छ ? भनी यो संरचनाले छिटो कार्य सम्पादन गर्न रणनीति पनि बनाइएको खुलेको हो । सहभागीहरुले पनि यो कुरामा जोड दिएका छन् ।

भेलाले गरेका निर्णयहरु :
भेलाले एक हप्ताभित्र नगरपालिका समूह दर्ता गर्ने, पालिका प्रमुख तथा उपप्रमुखहरुले नभ्याए पालिकाहरुले विपत् सम्बन्धी शाखा, महाशाखाका फोकल पर्सनबाट हरेक दुई महिना भित्र अनिवार्य मिटिङ्ग गर्ने, २०८३ जेठ महिनामा काठमाण्डौको गोदावरीमा पुनः राष्ट्रिय भेला गर्ने लगायतका निर्णय गरेको छ । त्यसैगरी आबद्ध पालिकाहरुले विपत् कोष खडा गर्ने, कार्यायोजना तयार गर्ने, पालिकास्तरकै बैठक पनि ६–६ महिनामा गर्ने, कार्यसम्पादनमा थप सहजताका लागि सानो–सानो ईकाइहरु पनि बनाउने लगायतका निर्णय गरेको छ ।

सिटीनेट नेपाल राष्ट्रिय अध्याय (सिएनएनसी) कार्य समितिको तेस्रो बैठक बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा वीरगन्ज महानगरमा सम्पन्न भएको छ । सो भेलामा वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, तानसेन नगरपालिकाका सन्तोषलाल श्रेष्ठ, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल लगायत ती पालिकाका प्रशासकीय प्रमुख तथा अधिकृतहरुको प्रत्यक्ष सहभागीता रहेको थियो ।

कार्यक्रममा काठमाण्डौ महानगरका मेयर बालेन साह, बुटवलका खेलराज पाण्डेय, पोखराका धनराज आचार्य लगायत एकदर्जन पालिकाका प्रमुख तथा उपप्रमुखले अनलाईन (जुम) बाट सहभागिता जनाए ।

विज्ञका सुझाव
सो भेलामा इन्सेक बागमती प्रदेशका संयोजक शिव खकुरेल, विपत् जोखिम न्यूनिकरण अनुसन्धन तथा शिक्षण केन्द्र (डीआरआर रिसर्च तथा लर्निङ्ग सेन्टर) का प्रा.डा.आमोदमणी दिक्षित लगायत विज्ञहरुले पालिका तहमा हुने विपत् न्यूनिकरणमा स्थानीय सरकारका तयारी नपुगेको बताए ।

कमजोर पूर्व तयारीलाई स्तरीय बनाउन गठित सहकार्यात्मक संरचनालाई अझ चुस्त ढंगले कार्यसम्पादन गर्ने गरी अर्को पालिकाले सिक्दै तदारुकता साथ अगाडी बढ्न हितकर हुने उनीहरुका सुझाव छन् । डिआरआर लनिङ्ग सेन्टर बनाएर स्थानीय सरकारहरु जलवायु परिवर्तन, विपत् व्यवस्थापन र दीगो विकासका क्षेत्रमा खरो उत्रन ढिलो भइसकेको विज्ञहरुको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीको बजेटमा पूर्वाधार र रोजगारी प्राथमिकतामा