काठमाडौं । विगतको सरकारले चरम भ्रष्टाचार ग¥यो भन्दै गत भदौमा जेनजी पुस्ताले मुलुकमा आन्दोलन ग¥यो । २३ र २४ भदौमा भएको आन्दोलनले सरकार नै परिवर्तन भयो । तर पनि बेथिति नरोकिएको प्रसंगलाई अब चलचित्रमा पनि हेर्न पाइने भएको छ । आगामी ४ पुसमा रिलिज हुने नेपाली चलचित्र ‘झरी पछिको इन्द्रेणी’मा यस्तै कथालाई समेटिएको छ ।
काठमाडौँमा एक समारोहबिच आइतबार सार्वजनिक गरिएको यो चलचित्रको ट्रेलरमा मुलुकमा भएका भ्रष्टाचार तथा बेथितिले निम्त्याएको समस्यालाई समेटिएको छ ।
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेव्यु निर्देशनमा निर्माण भएको यो चलचित्रको ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी युवाले काठमाडौँको माइतीघर मण्डलाबाट थालेको आन्दोलनलाई कथाको रूपमा अघि बढाइएको छ । जसमा नयाँ पुस्ताको आन्दोलनलाई पनि समेटिएको छ । ट्रेलर हेर्दा जेनजी आन्दोलन हेरेको समेत भान हुन्छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको ‘झरी पछिको इन्द्रेणी’मा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण सिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जनलगायतको अभिनय छ । गणेश उप्रेती डेढ दशकपछि र रमेश उप्रेती सात वर्षपछि यो चलचित्रमा शीर्ष भूमिकामा प्रस्तुत भएका छन् ।
निर्देशक ‘पाँडे’को कथा रहेको यो चलचित्रमा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले तयार गरेका छन् । जसमा बुद्ध थापाको छायांकन रहेको छ । अनिशा सेन्दाङ लिम्बु निर्माता रहेको यो चलचित्रमा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता छन् ।






