एमालेको ११औं महाधिवेशनः तानातानमा प्रतिनिधि, नेताका प्रचारमा देउडादेखि परेडसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन माहोलका कारण एमाले नेता कार्यकर्ताको चहलपहलले काठमाडौं उपत्यकामा राजनीतिक सरगर्मी बढेको छ । भक्तपुरमा उद्घाटन भई काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुने एमाले महाधिवेशनको औपचारिक कार्यक्रमभन्दा निर्वाचनलक्षित गतिविधिले नेता कार्यकर्तामा नयाँ तरंग सिर्जना गरेको छ ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा आकांक्षा राखेका नेताहरूले पार्टी कार्यालयदेखि सामाजिक सञ्जालमार्फत आफ्ना आकांक्षाको प्रचार थालेका छन् भने आफूनिकटका कार्यकर्तालाई मैदानमा उतारेर प्रतिनिधि फकाउनेदेखि प्रचार प्रतिस्पर्धामै उतारिसकेका छन् । कार्यकर्ताहरूले पार्टी कार्यालयमा देउडा खेल्नेदेखि परेड प्रदर्शन गर्दै महाधिवेशन पक्षधरताको सन्देश दिएका छन् ।

महाधिवेशनका लागि देशैभरका प्रतिनिधि, नेता कार्यकर्ता काठमाडौंमा आइपुगेका छन् । एमाले अध्यक्षदेखि पदाधिकारीमा आकांक्षा राख्ने नेताहरूले महाधिवेशन प्रतिनिधिलाई ठाउँठाउँमा समूहगत र व्यक्तिगत भेटघाट गरिरहेका छन् ।

गत भदौमा सम्पन्न एमालेको दोस्रो विधान सम्मेलनअनुसार १५ पदाधिकारीसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्दै महाधिवेशन सम्पन्न हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनमा जिल्लाबाट आएका प्रतिनिधिले खाने, बस्ने व्यवस्था आफैंले गर्नुपर्ने हुन्छ । महाधिवेशनमा २ हजार ५ सय ७१ सहभागी हुने संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जनाएका छन् ।

तानातानमा प्रतिनिधि
महाधिवेशनका लागि काठमाडौं आइपुगेका प्रतिनिधिहरू दुवै समूहको तानातानमा परेका छन् । अघिपछि नेताका घरमा पुगेर घण्टौं लाइन लाग्नुपर्ने तथा कुर्दाकुर्दै भेट्ने समय नपाउने हैरानी व्यहोरेकालाई पनि अहिले नेताहरू आफैंले फोन गर्ने तथा भेट्ने सामूहिक फोटोसेसन गर्नेदेखि सञ्चो विसञ्चोका सोधखोजले माहोल रोचक बनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका नेताहरू प्रतिनिधिहरूलाई फकाउँदै मत मागिरहेका छन् । तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका ओली र दुई कार्यकाल महासचिव, वरिष्ठ उपाध्यक्ष हुँदै नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने एजेन्डासहित पोखरेल समूह प्रतिस्पर्धामा उत्रेका छन् ।

प्रचारमा संस्कृति र सन्देश
नेकपा एमालेले महाधिवेशनको उद्घाटन, महाधिवेशन शैली, ब्यानर तथा लोगोमार्फत हुने प्रचार लगायतमार्फत संस्कृति र सन्देशलाई प्राथमिकता दिएको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताए । महाधिवेशनको प्रतीक चिह्न (लोगो)मा काठमाडौं उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवाः संस्कृति र ऐतिहासिकतालाई महत्व दिन खोजिएको उनले बताए । प्रविधिको प्रयोग र स्मार्ट जेनेरेसनलाई प्रचार रणनीतिमार्फत छुन खोजिएको गौतमले बताए ।

‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा रहेको महाधिवेशनको उद्घाटन शनिबार (आज) अध्यक्ष ओलीले गर्ने कार्यक्रम रहेको गौतमले जनाएका छन् ।

सक्रिय राजनीतिबाट अवकाशको घोषणा
एमाले केन्द्रीय सदस्य भुपेन्द्र थापाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । अब निर्वाचन नलड्ने र सक्रिय राजनीतिबाट बिदा लिएका थापाले नवौं र १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए ।

म्याग्दी जिल्लाको इन्चार्जसमेत रहिसकेका थापाले पारिवारिक समस्याका कारण सक्रिय राजनीतिबाट बिदा लिएको जनाएका छन् । यद्यपि, पार्टीप्रतिको निष्ठा र समर्थन सदैव कायम रहने उनले जनाएका छन् ।

‘यो पार्टीबाट मलाई जिल्ला विकास समितिको उपसभापति, प्रतिनिधिसभा सदस्यजस्ता जिम्मेवारी दिएर समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो, यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरू, कार्यकर्ता कमरेडहरू म्याग्दीका आमजनसमुदायलाई हार्दिक धन्यबाद दिन चाहन्छु, मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु, साथै सदैव आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमी रहनेछैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

थापा २०७४ सालमा म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । अनेरास्ववियुबाट राजनीति थालेका थापाले गाउँ कमिटीदेखि जिल्ला र केन्द्रसम्मको कमिटीमा निरन्तर प्रतिनिधित्व गरेका थिए । थापाका साथै शुक्रबारै एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले पनि सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।

तयारी पूरा, यस्तो छ मञ्च
एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीप ज्ञवालीले ११औं महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएका छन् । भक्तपुरको सल्लाघारीको खुला मैदानमा उद्घाटन सत्र सम्पन्न गर्नका लागि मञ्चसहित आवश्यक तयारी पूरा भएको उनले जनाएका छन् । भक्तपुरमा उद्घाटन सत्र र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुने कार्यक्रम रहेको ज्ञवालीले जनाएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा विशेषगरी बागमती, मधेश र गण्डकी प्रदेशबाट उल्लेख्य रूपमा जनसहभागिता रहने उनले जनाएका छन् । देशैभरिबाट प्रतिनिधिहरू काठमाडौं आइसकेको बताउँदै जनपरिचालन समितिका संयोजक ज्ञवालीले उद्घाटन सत्रमा नेपालका १६ प्रमुख राजनीतिक दललाई शुभकामनाका लागि निमन्त्रणा दिइएको बताए ।

एमाले बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले जेनजी आन्दोलनपछिको विशेष अवस्था भएकाले विदेशका नेता तथा पाहुनालाई यस महाधिवेशनमा निम्तो नदिइएको जनाएका छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरको झल्को दिनेगरी मञ्च निर्माण गरिएको छ । उद्घाटन सत्र हुने सल्लाघारीमा अगाडिपट्टि धरहराको ‘प्रतिकृति’ ठडिएको छ भने त्यसको वरिपरि काठमाडौं उपत्यकाका प्राचीन सम्पदा झल्किने विभिन्न आकृति सजाइएको छ ।

सल्लाघारीमा १ सय ८ रोपनी जग्गामा फैलिएको चौरमा एमालेको उद्घाटन सत्र हुँदै छ । आधुनिक वस्तुको प्रयोगसहित साजसज्जाले मञ्चलाई आकर्षक बनाइएको छ ।

च्यासलमा देउडा नाच
काठमाडौंमा एमाले प्रतिनिधिहरू आइपुगेसँगै पार्टी केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको चहलपहल बढेको छ । देशैभरिबाट आएका प्रतिनिधिहरू पार्टी कार्यालयमा पुगेर महाधिवेशनसम्बन्धी आवश्यक काम गर्दैगर्दा बाहिर चौरमा भने देउडा नाचले झन रोचक बनायो ।

विशेषगरी सुदूरपश्चिम प्रदेशबाट आइपुगेका प्रतिनिधिले देउडा गीतमा नाच्दै महाधिवेशनको माहोललाई रोचक बनाए । पार्टी कार्यालयभित्र आवश्यक काम चल्दैगर्दा बाहिर प्रतिनिधिका साथै नेताहरू नाचिरहेका थिए । प्रतिनिधिसँगै नेताहरू पनि त्यसमा मिसिँदै नाचे । कोही देउडामा नाच्दैगर्दा कोही नेताहरूले प्रतिनिधिलाई फकाउँदै मतसमेत भागिरहेका थिए ।

ईश्वर समूहको छुट्टै परेड
पार्टी कार्यालयमा देउडा नाच चल्दैगर्दा उता अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका ईश्वर पोखरेल समूहको छुट्टै परेड चलेको छ । थापागाउँस्थित मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालयमा पोखरेल समूहका नेताकार्यकर्ताको शुक्रबार विशेष भेला भयो ।

भक्तपुरमा ओली समूहको भेला हुँदैगर्दा यता ईश्वर समूहले थापागाउँमा भने युवाहरूको विशेष भेला ग¥यो । रातो टोपी लगाएका ईश्वर समूहका युवा नेताहरू थापागाउँबाट पार्टी केन्द्रीय कार्यालय च्यासल ललिपुरसम्म परेड गर्दै पुगेका थिए । भेलामा ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताको विशेष सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

स्वतन्त्रसहित उदयपुरमा ३१ जनाको उम्मेदवारी दर्ता