सहज बन्दै ग्रामीण जनजीवन
भोजपुर । पछिल्लो समयमा भोजपुरका गाउँगाउँमा विद्युत् विस्तारसँगै ग्रामीण जनजीवन सहज भएको छ । ग्रामीण भेकमा रहेका कृषि र पशुपालनमा आश्रित समुदायमा विद्युत् विस्तारसँगै जीवनशैली सहज भएको हो । विद्युत् विस्तारले गाउँघरमा उज्यालोपन मात्र ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ ।
ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्र–उपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले टोल–टोलमा कुटानी–पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ ।
विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय एकराज विष्टले बताए । विगतमा कुटानी–पिसानीका लागि घण्टौं लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न हिँड्नुपर्ने अवस्थामा अहिले टोलटोलमा विद्युतीय मिल जडान भएको उनको भनाइ छ ।
‘विद्युत्ले गाउँघरको मुहार फेरेको छ,’ उनले भने, ‘विद्युत् विस्तारले गाउँघर उज्यालो भएको छ, टोल–टोलमा विद्युतीय मिल जडान भएका छन्, विद्युत्ले गाउँले जीवनमा ऊर्जा थपेको छ ।’
विद्युत् विस्तारपछि आफ्नो गाउँमा मात्रै ६ वटा बढी विद्युतीय मिल रहेको उनले बताए । विद्युत् विस्तारसँगै स–साना घरेलु उद्योगसँगै मिलहरू सञ्चालनमा आएपछि दैनिकी सहज बनेको उनको भनाइ छ । ‘विद्युत् विस्तारले हाम्रो गाउँमा सहजता थपेको छ,’ उनले भने, ‘विगतमा धान, मकै, कोदोलगायतका अन्नबाली पिस्न ५–६ घण्टासम्म बोकेर लैजानुपर्ने अवस्था थियो, कहिले त दिन नै बित्थ्यो, विद्युत् विस्तारपछि टोलटोलमा मिल सञ्चालन भइरहेका छन् ।’
गाउँघरमा राज्यका तहबाट विद्युत् विस्तार गरिएपछि फर्निचरलगायत घरेलु उद्योग सञ्चालन गरेर आयआर्जनमा जोडिएको र दैनिकी सहज भएको टेम्केमैयुङ–१ का स्थानीय जगतबहादुर राईले बताए ।
‘विद्युत्ले दैनिक जीवनयापनमा फेरबदल आएको छ,’ राईले भने, ‘विद्युत्का माध्यमबाट फर्निचर उद्योगहरू चलाएका छौं, उज्यालोमा बस्न पाएका छौं, विद्युत्ले गाउँले जीवनमा सहजता र खुसी ल्याएको छ ।’ पछिल्लो एक दशकको अवधिमा भोजपुरका धेरै दूर दराजका गाउँमा उज्यालो छाएको उनको भनाइ छ ।






