सिभालीले रचिन् इतिहास

पोखरा । नेपालकी सिभाली गुरूङले आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट २ मा दोहोरो उपाधि रचेकी छन् । कास्की जिल्ला टेनिस संघ आयोजनामा गत साता सर्किट १ मा समेत उनले दोहोरो उपाधि जितेकी थिइन् ।

१४ वर्षको उमेरमा नै गल्र्स सिंगल्स र डबल्समा जे३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै ७५ अंकसमेत बटुल्न सफल भइन् ।

आगामी जनवरीमा आयोजना हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहेकी उनले शनिबार पोखरामा सम्पन्न फाइनलमा ताइपेइकी के–ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि हात पारिन् । पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उनले दोस्रो सेटमा आफ्नो दबदवा कायम गर्दै ६–१ ले जितिन् ।

उता, गल्र्स डबल्समा शिभाली गुरूङ र ताइपेईकी के–ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारे ।

ब्वाइज सिंगल्समा ताइपेईका नम्बर १ सिडिङ खेलाडी टिङ हो याङले जितेका छन् । १–१ सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए ।

खेलमा पहिलो सेट युल होले ४–६ ले जितेका थिए भने दोस्रो सेट ६–४ ले टिङ होले आफ्नो पक्षमा पारेका थिए । तेस्रो सेट चलिरहँदा युल हो रिटायर्ड हर्ट हुदै मैदान छोडेका थिए ।

यता, ब्वाइज डबल्समा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि जिते ।

२ सातासम्म सञ्चालित प्रतियोगितामा नेपालसहित विभिन्न १६ देशका ८० खेलाडीले भाग लिएका थिए ।

विजयी खेलाडीलाई नेपाल टेनिस उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिस संघ अध्यक्ष राजकुमार गुरूङ (राजु), नेपाल टेनिस संघ सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नवीन चालिसे, द्वितीय उपाध्यक्ष नवीन श्रेष्ठ, कोषाध्यक्ष विष्णुबहादुर थापा, नेपालका नं १ टेनिस प्लेयर प्रदीप खड्का, आइटिएफ रेफ्री प्रवीणकुमार नायकले मेडल वितरण गरेको जिल्ला सचिव भीष्मराज पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

epaper

ताजा समाचार

सिंहदरबार दक्षिण गेटमा दुई युवतीमाथि प्रहरीको लछार–पछार