बझाङ । बबझाङको थलारा गाउँपालिका–२ वडा विकासका हिसाबले र अन्य कुराको तुलनामा विकट मानिन्छ । यस वडाका विभिन्न टोल अहिले पनि राम्रोसँग विकास हुन सकेका छैनन् । स्थानीय सरकार सञ्चालन भएदेखि भने यहाँका नागरिकले विकासको अनुभूति गर्न पाएका छन् । उब्जनीका हिसाबले पाखो जमिन मात्रै रहेको यस वडामा विभिन्न प्रजातिका फलफूल प्रशस्त मात्रामा उत्पादन गर्न सकिने प्रचुर सम्भावना छ ।
छिमेकी जिल्ला डोटीसँग सिमाना जोडिएको यस वडाको सिरानीमा खप्तड राष्ट्रिय निकुञ्जले छोएको छ । यस क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी प्रशस्त मात्रामा पाइन्छन् । भौगोलिक हिसाबले बढीजस्तो पाखो जमिन भएका कारण यस वडाका अधिकांश नागरिक रोजगारीको खोजीमा भारतका विभिन्न सहर र तेस्रो मुलुक जाने प्रचलन छ । १२ महिना काम गरेर खेतीयोग्य जमिनबाट करिब तीन महिनालाई मात्रै खान पुग्ने भएपछि यहाँका स्थानीय बासिन्दा भारतमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।
स्थानीय सरकार सञ्चालनपश्चात् यहाँका नागरिकलाई गाउँघरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले थलारा गाउँपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । सीप सिकेर धेरैजस्तो नागरिक अहिले आत्मनिर्भर बनेका छन् । केही नागरिक सो सीपको सदुपयोग गर्न नसकेर भारतमा नै रोजगारी गर्न पुगेका छन् ।
यसै सीपअन्तर्गत थलारा गाउँपालिका–२ थापागाउँका महिलालाई साबुन उद्योग सञ्चालन गर्नका लागि गाउँपालिकाले सीप प्रदान गर्दै आवश्यक सहयोगसमेत गरेको छ ।
थलारा गाउँपालिका र प्रगतिशील युवा समाजको सक्रियतामा सो साबुन उद्योग सञ्चालनमा ल्याइएको स्थानीय पुतलीदेवी थापाले बताइन् । अहिले यस साबुन उद्योगबाट विभिन्न प्रकारका साबुन उत्पादन गरेर बजारमा ल्याइएका छन् । यहाँका महिलाले स्थानीय स्तरमै पाइने विभिन्न जडीबुटीबाट थरिथरिका साबुन उत्पादन गर्ने गरेका हुन् ।
साबुन उद्योग सञ्चालक पुतलीदेवी थापाले गाउँका सबै महिला मिलेर आफ्नै ’round गाउँघरमा पाइने तीतेपाती, घिउकुमारी, चिउरी, अल्लोको पात, सिस्नो, चुथ्रो, कागती, टिमुर, धुपी जरा, लालीगुराँस, धाया आदिबाट साबुन उत्पादन गर्ने गरेको बताइन् । चार–पाँच जना महिला मिलेर साबुन उद्योग सञ्चालनमा ल्याएको उनले बताइन् ।
सो साबुन उद्योगबाटै आफूहरू र आफ्नो परिवारको घरायसी खर्चको समेत जोहो यसै उद्योगबाट हुने गरेको उनीहरूको भनाइ छ । लामो समयसम्म साबुन कसरी उत्पादन गर्ने ? साबुन उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ कसरी संकलन गर्ने भन्ने विषयमा आफूहरूले सीप (तालिम) पाएको र त्यसपछि मात्रै सो साबुन उद्योग आफूहरू मिलेर सञ्चालनमा ल्याएको साबुन उद्योग सञ्चालक थापागाउँकी सदस्य पुनीदेवी थापाले बताइन् ।

केही कच्चा पदार्थ आफूहरूको ठाउँमा नपाइने र बाहिरबाट खरिद गर्नुपर्ने भएका कारण समयमै भनेजति कच्चा पदार्थ नपाइँदा समस्या आउने गरेको उनीहरूको भनाइ छ । बाहिरका साबुनभन्दा आफूहरूले स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेको साबुन स्वास्थ्यका लागिसमेत निकै राम्रो र प्रभावकारी रहेको आफूहरूले पाएको बिर्मादेवी थापाले बताइन् । आफूहरूको उद्योगबाट उत्पादन भएको नुहाउने साबुनले चाया, पोतो, डन्डीफोरलाई राम्रो बनाउनुका साथै छालालाई समेत चम्किलो र नरम बनाउने गरेको उनले बताइन् ।
सिस्नोको साबुनले विभिन्न प्रकारको एलर्जी, शरीर चिलाउने रोगको निदान गर्ने गर्छ । चिउरीको साबुनले हाडजोर्नी दुखाइ कम गर्ने, चुथ्रोको साबुनले जन्डिस हुनबाट जोगाउने, तीतेपातीको साबुनले शरीरमा आउने विभिन्न फोका खटिरा हटाउने, खरिढुंगाको साबुनले शरीरमा भएका दागहरू र चाया हटाउन मद्दत गर्ने गरेको थापाले बताइन् । आफूहरूको उद्योगबाट उत्पादन हुने साबुन स्वास्थ्यका लागि निकै राम्रो र प्रभावकारीसमेत भएको उनीहरूको दाबी छ ।
एकपटक सो साबुन प्रयोग गर्ने सेवाग्राही तथा प्रयोगकर्ताले यहाँबाट उत्पादन भएको साबुन मात्रै माग गर्ने गरेको पाइएको छ । कपडा धुने साबुन र नुहाउने साबुन मात्रै उत्पादन गर्दै आएको यहाँका महिलाको भनाइ छ ।
सो साबुन प्रतिगोटा मूल्य २० रुपैयाँदेखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । सो साबुन उद्योग सञ्चालन गर्नका लागि थलारा गाउँपालिकाले बाहिरबाट ल्याउने विभिन्न कच्चा पदार्थ खरिद गर्नका लागि आर्थिक सहयोग गर्नुका साथै उद्योग सञ्चालनका लागि प्रगतिशील युवा समाज र घरेलु तथा साना उद्योगले समेत विभिन्न औजार अनुदान तथा सहयोग गरेको साबुन उद्योगका सञ्चालकहरूको भनाइ छ ।
आफूहरूको उद्योगबाट उत्पादन हुने साबुनका विषयमा प्रचार–प्रसार र साबुनका विषयमा नागरिकलाई बुझाउन नसकेको उनीहरूको भनाइ छ । आफूहरूको उद्योगबाट एक दिनमा सयभन्दा बढी साबुन उत्पादन हुने गरेको र सो साबुन जिल्ला र जिल्लाबाहिर हुने विभिन्न सभा सम्मेलन, मेला, महोत्सव, चाडपर्वमा प्रदर्शन गर्नुका साथै बिक्री हुँदै आएको उनीहरूको भनाइ छ । यस साबुन उद्योगबाट मासिक न्यूनतम १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । अहिले आफूहरूले उद्योगमा पूरा समय पनि दिन नसकेको र समय मिलेको समयमा मात्रै साबुन उत्पादन गर्ने गरेको पनि उनीहरूको भनाइ छ ।
बिर्मादेवी थापाले भनिन्, ‘पुरै समय दिएर लाग्ने हो भने आम्दानी राम्रो हुन्थ्यो, आफूहरूको उद्योगबाट उत्पादन हुने साबुनको प्याकेजिङ पनि राम्रो नभएका कारण पनि बजारमा बिक्री कम हुने गरेको छ ।’
यस साबुनको विषयमा आफूहरूले प्रचार–प्रसारसमेत गर्न नसकेको उनले बताइन् । आफूहरूले सिकेको सीप व्यवहारमा लागू गर्दा घरायसी खर्चदेखि जीविका चलाउनलाई निकै सहज भएको उनीहरूको भनाइ छ । आफूहरूले केही कच्चा पदार्थ बाहिरबाट खरिद गर्दा निकै महँगो पर्ने र भनेको समयमा कच्चा पदार्थसमेत नपाइने, बजारमा साबुनको विषयमा बुझाउन नसकेको जस्ता समस्याले गर्दा साबुन उद्योग सञ्चालनमै समस्या सिर्जना हुने गरेको थापाले बताइन् ।
बाहिरबाट विभिन्न कम्पनीबाट उत्पादन गरेर ल्याइएका साबुनको तुलनामा सयौंगुणा राम्रो र प्रभावकारी यस उद्योगबाट उत्पादन हुने साबुनमा पाएको थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्यायले बताए । उनले यसको प्रवर्धन र प्रचार–प्रसारका लागि गाउँपालिकाले पनि पहल गर्ने र यहाँका महिलालाई थप तालिम तथा सीप प्रदान गर्नका लागि पालिका तत्पर रहेको बताए । यो उद्योग सञ्चालन गर्नका लागि प्रगतिशील युवा समाजले निकै राम्रो भूमिका निर्वाह गर्नुका साथै घरेलु तथा साना उद्योग बझाङले पनि विभिन्न मेसिन तथा औजार सहयोग गरेको उनले बताए ।






