दोहोरो कर प्रक्रियाले भोजपुरका कृषि फर्म खारेजीको क्रम बढ्दो

भोजपुर । फर्म दर्ता गरी व्यावसायिक रूपमा कृषि व्यवसायमा संलग्न भोजपुरका कृषक दोहोरो तथा बहु–कर प्रक्रियाका कारण समस्यामा परेका छन् । एउटै प्रकृतिको कृषि फर्म सञ्चालनका लागि राज्यका विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तथा कर तिर्नु पर्दा आर्थिक भार बढेको उनीहरूको गुनासो छ ।

गाउँघरमै कृषि उद्यममा जोडिएका कृषकका अनुसार फर्म दर्ता तथा नवीकरणका लागि वडा कार्यालय, गाउँपालिका वा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय तथा करदाता सेवा कार्यालयमा अलग–अलग शुल्क बुझाउनुपर्ने अवस्था छ । एउटै फर्मका लागि पटक–पटक कर तिर्नुपर्ने बाध्यताले कृषकहरू हतोत्साहित हुँदै व्यवसाय नै खारेज गर्ने अवस्थामा पुगेका छन् ।

स्थानीय तहहरूले व्यवसायको प्रकृतिका आधारमा आफ्नो कार्यपालिकाको निर्णय अनुसार उद्योग तथा फर्म सञ्चालनबापत कर लिँदै आएका छन् । त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालयले लगानी पुँजीका आधारमा न्यूनतम दुई हजार १०० रुपैयाँदेखि माथि कर असुल्ने गरेको छ । करदाता सेवा कार्यालयमा पनि गाउँपालिकामा दर्ता भएका फर्मले वार्षिक दुई हजार पाँच सय र नगरपालिकामा दर्ता भएका फर्मले चार हजार रुपैयाँ कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको भोजपुर नगरपालिका–७ का दुग्ध व्यवसायी रमेश कार्कीले बताए ।

‘एउटै प्रकृतिको कृषि फर्म तथा उद्योगमा राज्यका विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नु पर्दा किसान मारमा परेका छन्,’ उनले भने ‘एउटै निकायबाट शुल्क लिएपछि अन्य निकायले कर नलिने व्यवस्था गरिनुपर्छ ।’

किसानलाई करको दायरामा ल्याउने नाममा अपनाइएको झन्झटिलो प्रक्रिया दुरदराजका नागरिकका लागि थप समस्या बनेको उनको भनाइ छ । स्थानीय तहमै एकद्वार प्रणालीबाट कर बुझाउने व्यवस्था भए धेरै कृषक तथा व्यवसायीलाई राहत पुग्ने उनले बताए ।

दोहोरो कर प्रणालीका कारण स्थानीय कृषक तथा उद्यमी मारमा परेको भोजपुर नगरपालिका–५ बोखिमका वडाध्यक्ष फविन्द्र प्रधानले बताए । ‘एउटै प्रकृतिको फर्म सञ्चालनबापत जनताले धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘पालिकाहरूले आ–आफ्नो निर्णय अनुसार कर लिँदै आएका छन् । त्यसबाहेक कर कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा पनि बुझाउनु पर्ने भएकाले किसान दोहोरो मारमा परेका छन् ।’

दोहोरो कर प्रक्रिया तथा राज्यका विभिन्न तहबाट उपलब्ध हुने अनुदान कार्यक्रम बर्षेनी कटौती हुँदै जाँदा पछिल्लो समय दर्ता गरिएका फर्म तथा उद्योग खारेजी गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख रमेश ढकालका अनुसार गत आर्थिक वर्षमा मात्रै ८९ वटा उद्योग र २३ वटा वाणिज्य फर्म गरी कुल ११२ वटा खारेज भएका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ मा ५९१ वटा उद्योग दर्ता भएकामा पछिल्ला वर्षहरूमा दर्ता हुने उद्योगको सङ्ख्या निरन्तर घट्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०७८–७९ मा ४०४, २०७९–८० मा २६४, २०८०–८१ मा १३३ र २०८१–८२ को असार मसान्तसम्म ११० वटा मात्र उद्योग दर्ता भएका छन् ।

उद्योग दर्ता घट्दै जानु र खारेजीको सङ्ख्या बढ्दै जानुले दोहोरो कर तथा जटिल प्रशासनिक प्रक्रिया कृषक तथा उद्यमीका लागि प्रमुख समस्या बनेको देखिन्छ । कृषक तथा व्यवसायीहरूले कृषि उद्यम प्रवद्र्धनका लागि कर प्रणाली सरल, पारदर्शी र एकद्वार बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

epaper

ताजा समाचार

एचआईभी नियन्त्रणमा सञ्चारकर्मीको भूमिका खोजिँदै