३० वटा चलचित्र घरमा ‘परान’ले मनायो ५१ औँ दिन

काठमाडौं । नेपाली चलचित्रको व्यापारमा खडेरी लागेको बेला चलचित्र ‘परान’ले सफल प्रदर्शनीको ५१ दिन मनाएको छ । यो चलचित्रले मुलुकका ३० चलचित्र घरमा शनिवार ५१ दिन मनाएको हो ।

यो चलचित्रका निर्माता रञ्जित आचार्यका अनुसार ‘परान’ले ५१ दिन पुरा गर्दा शनिवार बेलुकासम्म १८ करोड रुपैंयाको ग्रस व्यापार नेपालबाट गरिसकेको छ । चलचित्र विकास बोर्डको व्यापारिक तथ्यांक हेर्दा नेपाली चलचित्रको व्यावसायिक इतिहासमा सर्वाधिक व्यापार गर्ने चलचित्रको चौथो सूचीमा चलचित्र ‘परान’ परेको छ । यस अघि चलचित्र ‘पूर्णबहादुरको सारंगी’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ले १८ करोड भन्दा माथिको व्यापार गरिसकेका थिए ।

चलचित्र ‘परान’ अझैपनि देशभरका ३० वटा चलचित्र घरमा प्रदर्शन भइरहेको छ । यो चलचित्र आइतबार पनि ललितपुरको लबिम मलसहित विभिन्न चलचित्र घरमा हाउस फूल भएको निर्देशक दीपक प्रसाद आचार्यले राजधानीलाई जानकारी गराए । यो चलचित्रको काठमाडौँ सहित पश्चिमका केही हलमा पनि दर्शकको राम्रो उपस्थिति भएको उनले जनाए ।

यो चलचित्रले क्युएफएक्स भक्तपुर, क्युएफएक्स सिटी क्वाएर, क्युएफएक्स लविम मल सहित एफक्युव चाबहिल, आईएनआई सिनेमा नयाँ बसपार्क, वन सिनेमा नयाँ बानेश्वर, आइएनआई सिनेमा नयाँ वानेश्वर, आइएनआइ सिनेमा कालीमाटी, बिश्वज्योति सिनेमा जमल, रञ्जना सिनेप्लेक्स न्यू रोड, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण बालाजुसहित नेपालगन्ज, दाङ, बुटवल, चितवन, इटहरी जस्ता विभिन्न शहरका चलचित्र घरमा ५१ दिन मनाएको हो ।

यो चलचित्रको व्यावसायिक सफलताको ५१ दिन पुगेको अवसरमा ‘परान’ टिमले बुढानीलकण्ठ स्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर त्यहाँ आश्रितलाई न्यानो कपडा वितरण गरेको छ । निर्माण पक्षले आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा प्रदान गरेको हो ।

चलचित्रको सफलताको अवसर पारेर सामाजिक कार्य गरौँ भन्दै उनीहरूलाई न्यानो कपडा वितरण गरिएको निर्माता रञ्जित आचार्यले बताए । उनले सो कार्यक्रममा भने,‘सफलता साट्ने यो एउटा सानो प्रयास हो । आगामी साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने छ र हामी अर्को साता विशेष घोषण पनि गर्ने छौँ ।’

कार्यक्रममा पवित्र समाजसेवा नेपाल आश्रमकी सञ्चालिका दीक्षा चापागाईँले यस्ता सफलताहरू अनाथ बालबालिका तथा जेठ नागरिकसँग साट्न अरूलाई पनि अनुरोध गरिन् । केहि साता अघि आफ्ना आश्रममा आश्रित बालबालिकाहरूलाई परान चलचित्र देखाएको जनाउँदै चापागाईँले छोराछोरी र आमाबुबा प्रतिको प्रेमलाई चलचित्रले निकै मिठो ढंगबाट प्रस्तुत गरेको छ भनिन् ।

यो चलचित्रका निर्देशक दीपक प्रसाद आचार्यले दर्शकहरूको मायाले आफूहरूलाई अर्को चलचित्र निर्माण गर्न प्रेरणा मिलेको सो कार्यक्रममा बताए । चलचित्रको ५१ दिनको व्यावसायिक सफलताले आफूलाई थप जिम्मेवारी बनाएको पनि उनले बताए । चलचित्र ‘परान’मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग