काठमाडौं । दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिका रूपमा रहेका लोपोन्मुख आदिवासी राउटे समुदाय समयसँगै परिवर्तनको यात्रामा छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेश आसपासका जंगलमा घुमन्ते फिरन्ते जीवन बिताउँदै आएको यो समुदाय आज पनि आफ्नो परम्परागत पहिचान जोगाउँदै अघि बढिरहेको छ । तर, यस यात्रामा सबैभन्दा चाखलाग्दो परिवर्तन राउटे समुदायका युवतीहरूमा देखिन थालेको छ ।
हिजोसम्म जंगल, झुपडी र कन्दमूलमै सीमित जीवन बिताउँदै आएका राउटे युवतीहरू अहिले आफ्नै समुदायभित्र बसेर परम्परागत चुरा र पोते निर्माणमा जुटेका छन् । पोते बनाउने सीपमूलक तालिम पाएपछि उनीहरू केवल सीप सिकेर मात्रै रोकिएका छैनन्, त्यसलाई जीविकोपार्जनको नयाँ सम्भावनामा रूपान्तरण गर्न कस्सिएका छन् ।
घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका युवतीहरूले जीवनमै पहिलोपटक सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको तीनदिने सीपमूलक क्षमता अभिवृद्धि तालिममा सहभागी भएर परम्परागत चुरा–पोते निर्माणमा दक्षता हासिल गरेका हुन् । तालिमपछि उनीहरूले समुदायमै बसेर आफैं नयाँ–नयाँ डिजाइनका पोते बुन्न थालेका छन् । राउटे युवतीहरूलाई एउटा पोते तयार गर्न मात्रै दुई दिन लाग्ने गर्छ । हाल उनीहरूले नौ प्रकारका फरक–फरक डिजाइनका पोते बनाउँदै आएका छन् ।
राउटे समुदायमा पोते केवल गहना मात्र होइन, पुर्खादेखि चल्दै आएको सांस्कृतिक पहिचान हो । यही कारण पोतेप्रति उनीहरूको विशेष आकर्षण रहँदै आएको छ । राउटे समुदायका स्वर्गीय महामुखिया महिनबहादुर शाहीकी श्रीमती दुनी शाहीले आफूहरूका पुर्खाले त्यस समयमा नेपालगन्जसम्मका सहर पुगेर पोते ल्याउने गरेको अझै आफूलाई स्मरण रहेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यस समयमा अहिलेजस्तै नजिकका सहरमा पोते पाइँदैनथे, हाम्रा पुर्खाले समेत नेपालगन्जसम्म पुगेर पोते ल्याउने गर्थे ।’
कुनै समय जंगल र कन्दमूलमै सीमित जीवन बिताएका राउटे युवतीहरूले अहिले आफ्नै हातले बनाएका सामग्रीबाट जीवनमै पहिलोपटक आम्दानीको सुरुवात गरेका छन् । करिब एक महिनाअघि पाएको तालिमबाट सिकेको सीपलाई उनीहरूले अहिले आम्दानीमा रूपान्तरण गर्न थालेको राउटे समुदायमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्री बताउँछन् ।
अस्थायी रूपमा बसोबास गर्ने राउटे समुदायका सात जना युवतीले जीवनमै पहिलोपटक तालिम पाएपछि अहिले समुदायमै बसेर पोते बनाउन थालेको खत्रीको भनाइ छ । तर, सीप सिके पनि सबै कुरा सहज भने छैन । समुदायका अगुवाहरूले परम्परागत मान्यताका कारण बाहिर बिक्री गर्न रोक लगाएका छन् । पुर्खादेखि राउटे समुदायले बनाउने पोते अन्य समुदायलाई दिन नहुने विश्वास अझै बलियो छ । यद्यपि, नयाँ पुस्ता भने बजारीकरणप्रति सकारात्मक देखिन थालेको छ ।
हाल दुई महिनाअघि सुर्खेतको लेकबेंसी नगरपालिका–७ पुल्टारमा बस्ती सरेका राउटे समुदायका युवतीहरू बस्तीमै शृंगारका सामग्री बनाउन व्यस्त छन् । एईआईएन लक्जेम्बर्गको साझेदारी, गुराँस गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा आयोजना गरिएको सातदिने चुरा, पोते र झुम्का निर्माणसम्बन्धी क्षमता विकास तालिमपछि उनीहरूले सीपलाई व्यवहारमा उतारेका हुन् ।
समुदायमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार तालिममा पहिलोपटक सहभागी भएका युवतीहरूले अहिले नियमित रूपमा पोते बनाउन थालेका छन् । ‘यस तालिमले विशेषगरी एकल महिलाहरूको जीवनमा आत्मविश्वास बढाएको छ,’ उनी भन्छन् ।
राउटे समुदायकी २९ वर्षीया बिनी शाही भन्छिन्, ‘हाम्रा अगुवाहरू हामीले बनाएको पोते बाहिर दिन मान्दैनन्, बाहिर दिएको पाए रिसाउँछन्, लुकेर बेच्नुपर्छ ।’
राउटे समुदायको परम्परागत पहिचानसँग गाँसिएका चुरा, पोते र झुम्का केवल सजावटका सामग्री मात्र होइनन् । यी आभूषणहरू उनीहरूको सांस्कृतिक पहिचान, मूल्य–मान्यता र धरोहरका प्रतीक हुन् । तालिमपछि पहिले एउटै किसिमका पोते बनाउने युवतीहरू अहिले विभिन्न आकर्षक डिजाइनका चुरा सेट, पोते र झुम्का बनाउन सक्षम भएका छन् । यसले परम्परागत कलालाई आधुनिक आवश्यकतासँग जोड्ने अवसर प्रदान गरेको छ ।
राउटे युवती गाजली शाही भन्छिन्, ‘पहिले हामीलाई एकै किसिमको पोते मात्र बनाउन आउँथ्यो, तालिम पाएपछि बस्तीमै बसेर विभिन्न डिजाइनका पोते, झुम्का र चुरासेट बनाउन थालेका छौं ।’
त्यस्तै, कलिलो उमेरमै एकल जीवन बिताउन बाध्य किताब शाहीका लागि यो तालिम जीवनको नयाँ अध्याय बनेको छ । सानै उमेरमा श्रीमान गुमाएपछि निराशामा डुबेकी किताब भन्छिन्, ‘तालिमले मलाई नयाँ ऊर्जा दिएको छ, अब आफ्नै लागि केही गर्न सक्छु भन्ने विश्वास आएको छ ।’
तालिममा सात जना महिला सहभागी थिए, जसमध्ये चार जना एकल महिला र तीन जना अविवाहित युवती थिए । आयस्रोत नहुँदा दैनिकी चलाउन कठिनाइ भोग्दै आएका उनीहरूका लागि यो सीप आशाको आधार बनेको छ ।
तालिमपश्चात् युवतीहरूलाई आवश्यक उत्पादन सामग्री उपलब्ध गराइने र उनीहरूले निर्माण गरेका सामग्रीलाई बजारसम्म पु¥याउन घुम्ती सामग्री व्यवस्थापन प्रणालीमार्फत बजारीकरण गर्ने योजना रहेको जोडी शिक्षक खत्री बताउँछन् ।
राउटे समुदायले उत्पादन गरेका काठका कोसी, मदुसजस्ता सामग्री राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुगेका छन् । यदि, चुरा र पोतेजस्ता सामग्री पनि बजारसँग जोडिनसके, राउटे समुदायको आत्मनिर्भरता र जीविकोपार्जनमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको खत्रीको भनाइ छ ।
राउटे समुदायलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउने कार्यमा कर्णाली प्रदेश सरकार निरन्तर साथमा रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । उनका अनुसार राउटे समुदायको परम्परा, जीवनशैली र सांस्कृतिक पहिचानलाई सम्मान गर्दै सीप विकास र जीविकोपार्जनमा जोड दिनु प्रदेश सरकारको प्राथमिकता हो ।
‘राउटे समुदायलाई मुख्यधारामा ल्याउने नाममा उनीहरूको मौलिकता मेटिने काम हुनु हुँदैन,’ मन्त्री भण्डारी भन्छन्, ‘उनीहरूको परम्परागत सीप, सीमान्त जीवनशैली र सांस्कृतिक मूल्यलाई जोगाउँदै आत्मनिर्भर बनाउने बाटो नै दिगो समाधान हो ।’






