काठमाडौं । उत्पला क्याफे काठमाडौंले बिहीवार साँझ थाकखोला थाकाली शाकाहारी शीतकालीन डिनर बुफे आयोजना गर्ने भएको छ।
कार्यक्रम थाकखोला क्षेत्रको परम्परागत थाकाली खाद्य संस्कृतिमा आधारित रहेको छ, जहाँ धान, जौ, कोदो, दाल, साग, अचार र मौसमी तरकारीलाई केन्द्रमा राखेर २५ प्रकारका शाकाहारी परिकार प्रस्तुत गरिने आयोजक उत्पला क्याफेले जनाएको छ।
कार्यक्रमको विशेषता भनेको थाकाली भान्साको मौलिकता र सन्तुलन हो। बुफेमा विभिन्न प्रकारका भात र अन्न, तीन शैलीका दाल, स्थानीय साग–तरकारी, थाकाली अचार, जौ–आधारित सलाद बार, सूप बार, तथा लाइभ थाकाली टेपान्याकी काउन्टर समावेश गरिएको छ।
कार्यक्रम अपरान्ह ४ बजे सुरु हुने बताइएको छ । उत्पला क्याफेका अनुसार यो कार्यक्रम रेस्टुरेन्ट बुफेभन्दा फरक, एक क्षेत्रीय खाद्य अनुभव का रूपमा डिजाइन गरिएको हो। यसको उद्देश्य थाकाली खाद्य परम्परा, शाकाहारी जीवनशैली, र हिमाली अन्न संस्कृतिलाई काठमाडौंमा जीवन्त रूपमा प्रस्तुत गर्नु रहेको आयोजकको भनाइ छ ।






