मध्यरातको जन्मोत्सव पार्टीमा सलमान खानका प्रेमिकाहरू

मुम्बई । सन १९६५ मा मुम्बईमा जन्मेका बलिउड अभिनेता सलमान खान ६० वर्ष लागेका छन् । उनी शनिवारबाट ६० वर्ष लागेका हुन् । ६ दशकको उमेरमा पनि त्यत्तिकै सक्रिय अभिनेता सलमान अझै अविवाहित छन् । उनी अझै आफ्नो विवाह हुने बताउँछन् ।

सलमान खानको यो वर्ष नयाँ चलचित्र ‘ब्याटल अफ गलवान’ रिलिज हुँदै छ । उनी अहिले यो चलचित्रको छायांकनमा व्यस्त छन् । चलचित्रको कामबाट केही समय निकालेर उनले शुक्रवार मध्य राती केक काटेर आफ्नो ६० औँ जन्मोत्सव मनाए । सलमानले यस पटकको जन्म दिन पनवेल फार्म हाउसमा एउटा विशेष कार्यक्रम राखेर परिवार तथा साथीहरूसँग मनाएका हुन् ।

सलमानले पहिलो केक अभिनेत्री हुमा कुरेशीसँग काटे । यो जन्म दिन कार्यक्रमको व्यवस्था पनि उनको परिवारले गरेका थिए । बुबा सलीम खानले पाहुनाहरूको विशेष रेखदेख गरिरहेका थिए ।

पनवेल फार्म हाउसमा सलमानको जन्म दिनको पार्टीको तयारी हुँदै थियो । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा थियो । कडा सुरक्षा बिच पनि फार्म हाउस बाहिर युट्युबरहरु केक लिएर सलमानको जन्म दिन मनाउन मध्यरातसम्म पर्खाइमा थिए । साथीहरूलाई पार्टीमा रमाउँदै गर्नु भनेर सलमान फर्म हाउस बाहिर आए । सलमानले युट्युबरसँग जन्मदिनको केक काटेर खुसी साट्दै शुभकामना ग्रहण गरे ।

सो क्रममा केक काटेपछि फेरी पनि युट्युबरहरुले उनलाई जोडी भएर जन्म दिन मनाउने समय कहिले आउँछ भनेर जिज्ञासा राखे । सलमानले पनि ‘यसपालि आएन, अर्को वर्ष आउला नि त’ भनेर जवाफ दिए । सलमानको जवाफले सबै जना मज्जाले हाँसे । शुक्रवार राती युट्युबरसँग छोटो बसाइमा केक काटेर जन्म दिन मनाएका सलमानको सो भिडियो शनिवार भाइरल भएको छ । देश विदेशबाट प्रशंसकहरूले उनले जन्म दिनको शुभकामना दिएका छन् ।

फार्म हाउस बाहिर केक काट्ने काम सकेपछि उनी फार्म हाउसमा राखिएको पार्टीमा सहभागी भए । शनिवार राती २ बजेसम्म चलेको सो पार्टीमा क्रिकेटर महेन्द्र सिंह ध्वनी सहित बलिउडकर्मीहरू करिश्मा कपूर, तब्बु, हुमा कुरेसी, रणदीप हुड्डा, संगीता बिजलानी, जेनेलिया देशमुख, महेश मांजरेकर, रमेश तौरानीसहित धेरैको उपस्थिति थियो । यसै क्रममा यहाँ सलमान खानका प्रेमिकाहरूको चर्चा गरिएको छ ।

सलमान खानका प्रेमिकाहरू
अभिनेता सलमान खानको जन्म उत्सव समारोहमा पुरानो अभिनेत्री संगीता बिजलानी शुक्रबार राती भव्य फुलगुच्छा लिएर पुगेकी थिइन् । अभिनेत्री संगीता एक समयकी सलमानको प्रेमिका हुन् । सलमानले चलचित्र ‘मैने प्यार किया’बाट बलिउडमा मुख्य नायकको रूपमा डेब्यु गरेपछि पहिलो चलचित्रबाटै सर्वाधिक सफल भए । सोही क्रममा उनको अभिनेत्री संगीता बिजलानीसँग चिनजानसँगै प्रेम सम्बन्ध बढेको थियो । सन १९९४ मा सलमान नयाँ चलचित्र ‘अन्दाज अप्ना अप्ना’मा जोडिँदा उनी संगीतासँग गहिरो प्रेममा थिए । सो क्रममा सलमानले संगीतासँग विवाहको लागि प्रस्तावसमेत राखेका थिए । सलमान भन्दा संगीता उमेरले ५ वर्ष जेठी भएकाले उनले सलमानलाई चलचित्र करिअर अघि बढाएर केही वर्षपछि विवाह गर्नु पर्छ भन्दै अभिनयमा निरन्तर लाग्न प्रेरित गरिन् । तर पछि उनीहरूको ब्रेक अप भयो । सोही कारण आज पनि संगीतालाई सलमान प्रेम भन्दा बढी साथीको रूपमा सम्मान गर्छन् ।

संगीता भन्दा अघि सलमानको कलेज अध्ययनका क्रममा शाहीन जाफरीसँग प्रेम सम्बन्ध थियो । यो कुरा उनले पनि धेरै पटक भनेका छन् । उनी चलचित्रमा जोडिएपछि शाहीन टाढा भइन र उनले विवाह गरिन् ।

सन १९९५ ताका सलमान खान बलिउड अभिनेत्री सोमी अलीसँग नजिक भएका थिए । सोमीसँग सलमान नजिक भएपछि संगीतासँग ब्रेक अप भएको थियो । पाकिस्तान, कराँचीकी सोमी त्यति बेला सलमानसँग नजिक भएपछि ढुक्कै मुम्बई बस्न थालिन् । केही वर्षसम्म सोमी र सलमानको प्रेम सम्बन्ध रहे पनि सोमीले फिल्म पाउन छाडेपछि उनी कराँची फर्किइन र सलमानसँग सम्बन्ध पनि टुट्यो ।

सोमीपछि अभिनेता सलमान खानको प्रेम सम्बन्ध बेलायती युवती फारिया आलमसँग जोडिएको चर्चा चल्यो । उनीहरू केही कार्यक्रममा सँगै पनि देखिए । तर यो सम्बन्धको हल्लालाई सलमानले पुष्टि गरेनन् ।

सलमानको सबै भन्दा गहिरो प्रेम सम्बन्ध बलिउड अभिनेत्री ऐश्वर्या रायसँग रह्यो । आधा दशक भन्दा लामो समय यी जोडी प्रेम सम्बन्धमा रहे । बेला बेलामा उनीहरूको झगडाले मिडियामा राम्रो चर्चा समेत पायो । उनीहरूलाई त्यति बेला उत्कृष्ट जोडी समेत मानिन्थ्यो । तर पछि उनीहरू विवादास्पद रूपमा अलग भए । लामो समयसम्म उनीहरूको बोलचाल समेत भएन ।

ऐश्वर्यासँगको ब्रेक अप पछि केही समय खाली रहेका अभिनेता सलमानको प्रेम सम्बन्ध अर्की अभिनेत्री कैटरिना कैफसँग सुरु भयो । सन २०००पछि सलमानले कैटरिनासँग करिब ७ वर्ष डेट गरे । तर पछि उनीहरूको पनि प्रेम सम्बन्ध टुट्यो । तथापि सलमान र कैटरिनाले साथीको रूपमा चलचित्रमा सँगै काम गर्दै आएका छन् ।

सन २००९÷१०मा अभिनेता सलमानको प्रेम सम्बन्ध क्लाउडिया सिस्लासँग रहेको चर्चा चले पनि यो चर्चा लामो समयसम्म रहन सकेन ।

सलमान खान टेलिभिजन कार्यक्रम ‘बिग बोस’मा आबद्ध भएपछि उनको नाम कलाकार महेक चहलसँग जोडियो । तर सलमान र उनको प्रेम सम्बन्धको चर्चा तुरुन्तै सेलायो । महेकले सलमानलाई प्रेमी भने पनि सलमानले अस्वीकार गरे ।

त्यसो त सामन्था लकवुडसँग पनि सलमान खान पारिवारिक समारोहहरू तथा विभिन्न पार्टीमा सँगै देखिए । सोही कारण पनि उनीहरू प्रेम सम्बन्धमा रहेको बताइए पनि त्यो कुरा दुवैले अस्वीकार गरे ।

सलमान खानको नजिककी साथ युलिया भन्तुरसँग पनि प्रेम सम्बन्ध रहेको चर्चा छ । पछिल्लो समय युलिया र सलमान निकट छन् । उनीहरू आत्मीय साथी हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन