काठमाडौं । सम्बन्धीत सरोकारवालाहरू एवं आदिवासी जनजाति सञ्चारकर्मीहरूले आदिवासी जनजाति र सीमान्तकृत समूहका आवाज मिडियाको मूलधारमा ल्याउन सुझाव सझाएका छन । अझै आदिवासी जनजाति आपांगता भएका व्यक्ति र सीमान्तकृत समूहका आवाजहरू मिडियाको मूलधारमा आउन नसक्नु चिन्ताको विषय भएको भन्दै उनीहरूले अब सबैको ध्यान आदिवासी जनजाति र सीमान्तकृत समूहका आवाज मिडियाको मूलधारको मिडियामा ल्याउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।
राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ–नेपाल (निडवान) र इन्डिजियस टेलिभिजन नेपाल समेतको आयोजनामा ‘अपांग भएका आदिवासी र मिडिया विषयमा तयार भएको हाते पुस्तकमाथी छलफल र स्वतन्त्र पूर्व जानकारीसहितको मनजुरी सम्बन्धी ’ ३ दिने छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरू एवं आदिवासी सञ्चारकर्मीहरूले यस्तो सुझाव दिएका हुन् ।
इन्डिजिनियस टेलिभिजनका सम्पादक तथा बरिष्ठ पत्रकार कुमार यात्रुले अझै मुलधारका मिडियाले अपेक्षाकृत रूपमा आदिवासी जनजातीको मुद्दा बाहिर ल्याउन नसकेकोमा चिन्ता व्यक्त गर्दै यस्तो सुझाव दिएका हुन् । आफू क्याम्पसमा पढ्दा पहिलोपटक कविता लेखेर कुनै पत्रिकामा प्रकाशनकालागि पठाउँदा कुनै पत्रपत्रिकामा पनि प्रकाशन नगरेको घटना सुनाउँदै कुनै पत्रिकाको सम्पादककै सल्लाहमा नामपछि यात्रु टाइटल थपेर लेख्न सुझाव दिएको र त्यसपछि मात्र आफ्नो कविता प्रकाशनमा आएको बताए । उनले क्याम्पस अध्ययन गर्दाकै क्रममा आफू जनजाती भएकै कारण त्यतिबेला कविता नछापिएको स्मरण गर्दै मिडियाको पहिचान गर्न सकेको बताए ।
राजधानी दैनिकका पूर्व सम्पादक समेत रहीसकेका यात्रुले सञ्चारमा भएको उपनिवेशीकरणलाई औपनिवेशीकरणबाट मुक्त हुन आदिवासी जनजाति पत्रकारले आफूलाई परिवर्तनकारी कार्य गर्नुपर्नेमा जोड दिए । ‘मिडिया प्रलेखन र अपांगता भएका आदिवासी महिला ः हातेमालो अन्तरक्रियात्मक कार्यक्रम’मा कार्यपत्र प्रस्तुत गर्दै बरिष्ठ पत्रकार यात्रुले आफ्नो कार्यपत्रमा उपविनिशीकरणबाट मुक्त हुनुपर्ने भन्नेमा जोड दिए ।
यात्रुले यूएनड्रीपको धारा १६ मा आदिवासी जनजातिको सञ्चारमा पहुँचको कुरा कसरी सुनिस्चित गर्ने भन्ने विषय मुख्य रहेको बताए । पूर्व जानकारी कसरी प्राप्त गर्ने, एफपीक अधिकारको प्रयोग कसरी गर्ने भन्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने बताए ।
यसैगरी, ठूला सञ्चारमाध्यममा आदिवासीका मुद्दाहरूले प्राथमिकता पाउन नसकेको भन्दै यात्रुले आदिवासी समुदायका मुद्दालाई आदिवासी जनजाति पत्रकारले नै बढी जोडदिनुपर्ने धारणा राखे । कतिपय जनजातीका प्रथाजनित परम्परागत मुद्दाहरू समाचार लेखनका रूपमा प्रयोगशाला लानुपर्ने आवाज उठाएर ओझेलमा पार्न खोजेको भन्दै उनले प्रथाजनित परम्परागत मूल्य मान्यताहरू प्रयोगशालामा प्रयोग नभई विश्वासमा टिकेकाले त्यस्ता तर्कहरूलाई आदिवासी जनजाति सञ्चारकर्मीहरूले विश्वास गर्न नहुने बताए ।
केही परम्परागत आदिवासी मूल्यमान्यताहरु परापूर्वकालदेखि नै बाजे पुर्खाले कमाई राखेको विश्वासहरु भएकाले आदिवासी जनजाति, महिला, मेधेशी, दलित, समूदायको आवाजकहरू कहिल्यै प्राथमिकतामा नपरेको उनको भनाई थियो ।
त्यसभित्र अपांगता भित्रको अपांगताको मुद्दा पनि प्राथमिकतामा आउन नसकेकोमा चिन्ता व्यक्त गर्दै उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवस्यक भएको बताए ।
राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ र इन्डिजियस टेलिभिजन, अल्पसंख्यक अधिकार समूहहरूको संस्था (माइनोरीटी राइट्स् ग्रुपको आर्थिक सहयोगमा ‘पहिचान गर्न बेवास्ता गरिएको आवाजनहरु’ विषयक आदिवासी जनजाति आपांगता भएका व्यक्ति र सीमान्तकृत समूहका आवाजहरूलाई मिडियाको मूलधारमा ल्याउन ३ दिने कार्यशाला गोष्ठीको पहिलो दिनमा सहभागी अधिकाँश सञ्चारकर्मीहरूले यस्तो सुझाव दिएका छन् ।
गोष्ठीमा आदिवासी जनजाति अपांग महिला संघ–नेपालका अध्यक्ष प्रतिमा गुरुङले आदिवासी जनजातिको सञ्चारमा पहुँचर समावेशीरणमा आदिवासी अपांगता भएका व्यक्तिहरूको आवाजलाई मिडियाको मूलधारमा ल्याउनु कार्यक्रमको मुख्य उद्देस्य रहेको बताईन् ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक समेत रहेकी गुरुङले नेपालको आदिवासी जनजाति महिलाको आवाज र सञ्चार प्रभावकारी बनाउन र संयुक्त राष्ट्र संघको युएनड्रीपलाई नेपालमा कार्यन्वयन गर्न सहयोग पु-याउने धारणा राखिन् ।
अर्का कार्यपत्र प्रस्तोता कृष्ण थापाले अपांगता भएका व्यक्तिहरूको पहिचान एक प्रकारको नभएकाले विश्लेषण गरेर मात्र लेख्नु पर्ने बताए । विश्व स्वास्थ्य संगठनको कार्यविधि,साझा अवधारणा मुल मर्मलाई टेकेर काम गर्नु पर्नेमा उनको जोड थियो । सञ्चारमाध्यम पहिचानको महत्वपूर्ण माध्यम हुने भएकाले त्यसभित्रका विविधता गहिराई खोज्नुपर्नेमा उनको जोड थियो ।
आदिवासी जनजाति पत्रकार संघका प्रथम अध्यक्ष खिम घलेले सैद्धान्तिक रूपमा समाचारलाई जतिसक्दो बुझ्ने र सरल बनाउने भन्नेमा आदिवासी जनजाति पत्रकारहरू अझै पनि पहुँच सहभागीताकै कुरामा संघर्ष गर्नु परिरहेको बताए ।
आदिवासी जनजाति पत्रकार संघका पूर्व अध्यक्ष दन्ड गुरुङले कृषि क्षेत्रको विकास, विभिन्न उद्योग व्यवसाय विकासको समाचार लेख्नुपर्ने बेलामा अझै पनि आदिवासी जनजातिहरु आफ्नो समाचार सञ्चारको मूल प्रवाहमा प्राथमिकतामा पर्न नसकेको देख्दा पहिचानकै संघर्षमा अल्झि रहनु परेको बताए ।
सो कार्यक्रममा इण्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवार, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका सचिव सुनिल महर्जन, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश सदस्य अर्जुन बहादुर तामाङ, गोरखापत्र दैनिक, नयाँ नेपाल पृष्ठका संयोजक तासी हेल्मो, इन्डिजिनियस टेलिभिजनकी संवाददाता डोल्मा शेर्पा, स्थानीय खवर मिडियाका सम्पादक रञ्जित तामाङ, कृषि टेलिभिजनकी सञ्चालक नारायणी थापा, डिपा आले, थाहा सञ्चारका सम्वाददाता, सञ्चु व्लोन, थारु भाषा कार्यक्रम सञ्चालिका सरिता थारुलगायत आदिवासी जनजाति सञ्चारकर्मीहरुले आ आफ्ना धारणा राखेका थिए ।






