अहिलेको व्यवस्था नफालेसम्म देशले निकास पाउँदैन : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान राजनीतिक व्यवस्था नफालेसम्म देशले सही निकास नपाउने बताएका छन्। संविधान र व्यवस्था नै गलत भएकै कारण देश आज गम्भीर संकटमा परेको उनको टिप्पणी छ ।

शनिबार ललितपुरस्थित युनिभर्सल इन्जिनियरिङ कलेजमा आयोजित आम विद्यार्थी मोर्चाको काठमाडौं उपत्यका विशेष भेलालाई सम्बोधन गर्दै साहले चरम दलीय सिण्डिकेटका कारण पछिल्लो एक दशकदेखि देश अस्थिर बनेको दाबी गरे । उनले जेनजी आन्दोलनको मर्ममाथि वर्तमान सरकार, ठूला दल तथा नयाँ भनिएका राजनीतिक शक्तिहरुले समेत प्रहार गरेको आरोप लगाए ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई जेनजी आन्दोलनको “अपहरणकारी” संज्ञा दिँदै साहले आन्दोलनकारीमाथि दमन भएको र दमनकारीहरू सरकारको स्वागत–सत्कारमा सहभागी भएको बताए। २१ फागुनमा तोकिएको निर्वाचनप्रति सरकार गम्भीर नदेखिएको र शान्ति–सुरक्षाको वातावरण बनाउन असफल भएको उनको भनाइ छ।

साहले निर्दलीय सरकारमा बसेर दलको प्रचार गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्न माग गरे। साथै, रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ मुलुकको नेतृत्व गर्न सक्षम नभएको दाबी गर्दै नयाँ भनिएकामध्ये कोही अनाडी, कोही भ्रष्ट र कोही ठग रहेको टिप्पणी गरे।

भेलाले शिक्षा क्षेत्रमा भइरहेको लुट र विभेद अन्त्य गर्ने संकल्पसमेत लिएको छ। कार्यक्रममा जेनजी अभियन्ता लेलिन बिष्ट, बिकेश साह, अमृत बोहरा, सुशीललगायतको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग