काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या उनकै घरका कामदारको क्षणिक आवेशबाट भएको खुलेको छ । सानेपास्थित आफ्नै घरमा काम गर्ने दाङका विजय चौधरीले प्लास्टिकको पिर्काले हानेर मुनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाटै खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले हत्यालाई चौधरीको क्षणिक आवेशको परिणामका रूपमा विश्लेषण गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार हालसम्मको अनुसन्धानबाट हत्यामा तेस्रो व्यक्तिको संलग्नता देखिएको छैन । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी श्यामलाल ज्ञवालीले हालसम्मको अनुसन्धान र प्राप्त प्रमाणका आधारमा तेस्रो व्यक्तिको संलग्नता पुष्टि हुने आधार नभेटिएको बताए । ‘चौधरीले नै हत्या गरेर आफूले समेत आत्महत्या गरेको देखिएको छ, घटना भएको समयमा तेस्रो व्यक्तिको उपस्थिति रहेको अवस्था देखिँदैन,’ प्रवक्ता ज्ञवालीले भने ।
प्रहरीले घटनाको भरपर्दो प्रमाणका रूपमा कार्कीको घरमा राखिएको सीसीटीभी फुटेजलाई आधार मानेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ । सीसीटीभी फुटेजमा कामदार चौधरीले आत्महत्या गरेको भनिएको स्थान कैद नभए पनि अन्य कुनै व्यक्तिको उपस्थिति नरहेको अनुसन्धानले देखाएको छ ।
कार्कीलाई सोमबार बिहान निवासभित्र चोटपटक लागेको र रक्ताम्मे अवस्थामा फेला पारिएको थियो । पूर्वसचिव कार्की बाहिर गएको र घरमा कोही नभएको अवस्थामा हत्या भएको थियो ।