सिन्धुली । सिन्धुलीमाढीमा मंगलबारदेखि तीन दिने रैथाने कृषि उपज तथा मौलिक परिकार प्रदर्शनी सुरु भएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८२ को अवसरमा कृषि विकास कार्यालय सिन्धुलीले आयोजना गरेको यस प्रदर्शनीले स्थानीय बिउबिजन, रैथाने बाली र मौलिक परिकारको संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ ।
कृषि विकास कार्यालय सिन्धुलीकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठका अनुसार प्रदर्शनीको उद्देश्य जैविक विविधताको संरक्षण, परम्परागत ज्ञानको प्रवर्द्धन र स्वदेशी प्रविधिको महत्व दर्शाउनु रहेको छ ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा मौलिक खाद्य परिकारको स्वाद, रैथाने बालीको प्रदर्शनी र बिक्री स्टल, साथै कृषक र उद्यमीलाई सम्मान गर्ने कार्यक्रम समावेश गरिएको छ ।

उद्घाटन समारोह जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले गरेका छन्। उनले रैथाने बाली गाउँ, स्थान र संस्कारसँग जोडिएको भन्दै यसको संरक्षण आवश्यक रहेको बताएका छन् । उप-प्रमुख शान्ता कार्कीले रैथाने बालीलाई आयस्रोतको माध्यम बनाउनुपर्नेमा जोड दिएकी छन् ।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले व्यवसायीकरण, आधुनिकिकरण र हाइब्रिड बिउबिजनका कारण रैथाने बाली लोप भइरहेको उल्लेख गर्दै यसको संरक्षण आवश्यक रहेको बताए । वागवानी विकास केन्द्रका अध्यक्ष आशिष श्रेष्ठले आधुनिक जीवनशैली र जलवायु परिवर्तनका कारण रैथाने बाली उत्पादन घटेको जानकारी दिए ।
कार्यक्रमको सहजीकरण उमादेवी श्रेष्ठले गरेकी थिइन् भने स्वागत बिमला थापाले गरेकी थिइन्। सौगाात लघु उद्यम सहकारी संस्था, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वागवानी विकास केन्द्र र प्रदेश सरकारको सहकार्यमा आयोजित यो प्रदर्शनीले जैविक विविधता र परम्परागत कृषि प्रविधिको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







