बारा । परवानीपुर गाउँपालिकाले १७औँ हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा १७औँ हिउँदे अधिवेशन सम्पन्न भएको हो ।
चालु आवा ०८२\०८३ आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन पेस गरिएको थियो । सभाले स्वीकृत योजनाहरूमा संशोधन समेत पारित गरेको थियो ।

सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुर्मीले पालिकामा हेर्न लायक विकास गरेको दाबी गरे । भौतिक पूर्वाधारमा वडा नम्बर १ देखि ५ सम्म भौतिक संरचना निर्माणका साथै स्वास्थ्य, शिक्षा, कृषिमा क्रान्ती ल्याएको उनले बताए । सम्पूर्ण कर्मचारी, जनप्रतिनिधि लगायतको सहयोगले गाउँपालिकाले गति लिएको बताए ।
आर्थिक वर्ष ०८१/०८२ मा सबैभन्दा ठूलो करदाता रहेका ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि. वडा:- ४ चैनपुरका सञ्चालक सुरेश रुंङटाले ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको तथा जय श्री हेल्थ केयर प्रा.लि.ले ६ लाख रुपैयाँ समयमै कर बुझाएको भन्दै गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बताए ।
वडा नम्बर ५ बहुअरी वडा कार्यालय अन्तर्गत पर्ने उद्योगहरूको आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख १० हजार रुपैयाँ कर संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका वडाध्यक्ष रामेश्वर साह कलवारलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको उनले बताए ।






